समाचार

२ सय ३ रुपैयाँले दिनभर चार छाक खानुपर्छः सशस्त्र प्रहरी महानिरीक्षक अर्याल

Banner

काठमाडौँ, असोज ०४-

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीलाई दैनिक रासनका लागि छुट्याइने रकम साह्रै न्यून भएको बताएका छन् । मुलुकको आर्थिक अवस्था कमजोर रहे पनि दैनिक प्रहरीलाई छुट्याइएको २ सय ३ रुपैयाँले नपुग्ने गरेको बताए ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा महानिरीक्षक अर्यालले रासनका लागि छुट्याइएको रकमबारे सांसदहरूलाई जानकारी गराएका हुन् । सांसदहरूले पनि उक्त कुरालाई चासोका साथ लिएका थिए ।

‘रासनसम्बन्धि समस्या छ । हुन त देशको आर्थिक अवस्था नै त्यस्तै छ तर सुरक्षामा अलिकति ध्यान दिनुपर्ने हुन्छ । उदाहरणका लागि काठमाडौंमा हेर्दा २ सय ३ रुपैयाँले बिहान चिया अण्डा त्यसपछि खाना (लन्च) त्यसपछि खाजा र बेलुका खाना, चार छाक खानुपर्छ । रासनको अवस्था यस्तो छ’, उनले भने । सांसदहरूले एक छाकको २ सय ३ रुपैयाँ कि दिनभरका लागि ? भनेर चासो राखेका थिए ।

कांग्रेस सांसद दिलेद्रप्रसाद बडू, सरिता प्रसाईं, एमालेका रघुजी पन्त, राप्रपाका बुद्धिमान तामाङ, जसपाका प्रकाश अधिकारीले सुरक्षाकर्मीका लागि दैनिक रासनको रकमबारे चासो देखाएका थिए । सो रकम अत्यन्तै न्यून रहेको उनीहरूको भनाइ थियो ।

त्यसपछि महानिरीक्षक अर्यालले थपे, तर, ठाउँठाउँमा रासनको यस्तो भयो, दुरुपयोग भयो भन्ने कुरा पनि आउँछ । हामी कहीँ गएर एउटा साधारण रेष्टुरेन्टमा खाँदा कति खर्च हुन्छ? यसलाई कसरी सुधार गर्न सकिन्छ भन्ने अवस्था आएको छ । रासनका लागि आउने रकममा दुरुपयोग नभएको उनको भनाइ थियो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>