समाज

नेपाली हस्तकलाका वस्तु ८० देशमा निकासी

Banner
पाटन, असोज ३-
वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले हस्तकला निर्यात व्यापारको नेतृत्वदायी क्षेत्र हुन सक्ने बताउनुभएको छ । नेपाल हस्तकला महासङ्घद्वारा मङ्गलबार ललितपुरमा आयोजित ‘हस्तकला वस्तुको निकासी व्यापारमा विद्यमान समस्या र  समाधान’ छलफल  कार्यक्रमलाई सम्बोधन गर्दै  उहाँले विदेशमा नेपाली हस्तकलाको माग र पहिचान राम्रो छ भन्नुभयो ।
“हस्तकलामा नेपालको पहिचान, परम्परा र संस्कृति छ । हामीले हाम्रो पहिचान, परम्परा र संस्कृतिको निर्यात गरिरहेका छौँ । नेपाललाई अन्तराष्ट्रिय रुपमा चिनाउने माध्यम हो । हस्तकला निर्यात व्यापारको नेतृत्वदायी क्षेत्र हुन सक्छ ।  यसमा परिवार, कृषक र महिलासँग जोडिएको छ । गाउँ, समुदायमा नै गर्न सम्भव भएकाले यो क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण अङ्गका रुपमा रहेको छ”, सचिव मरासिनीले भन्नुभयो ।
उहाँले हस्तकला क्षेत्रमा नेपाली कालिगढको अभाव हुनुको कारण खोज्नु आवश्यक रहेको जनाउँदै   यसलाई महासङ्घले ध्यान दिएर प्रवद्र्धन गर्नुपर्ने धारणा राख्नुभयो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले साना उद्यमी र लघु उद्यमीहरुलाई निर्यात गर्न सक्ने गरी उत्पादन गर्न र रोजगारी सृजना गर्नका लागि माथि उकास्न आवश्यक पर्ने सहुलियत र सुविधा दिनुपर्ने बताउनुभयो ।
“हस्तकला क्षेत्रमा विकासका लागि कसले के गर्ने हो भन्ने खालका नीति तथा रणनीतिहरु तय गरिनुपर्छ । समस्याहरु धेरै छन्, विद्यमान समस्या र समाधानका उपायहरुका विषयमा हस्तकला महासङ्घले सुरु गरेको काम महत्वपूर्ण छ, आन्तरिक र बाह्य समस्याहरु के के हुन् भनेर पहिचान गर्नुपर्ने र उद्यमी र व्यापारीहरु छुट्याएर समस्या समाधान गर्न लाग्नुपर्ने अवस्था छ,” निर्देशक राणाले भन्नुभयो । उहाँले हस्तकला वस्तुको निकासीका लागि पारवहन र ढुवानीका समस्या समाधान गर्नाका साथै बजारहरुको खोजी गर्नुपर्ने धारणा राख्नुभयो ।
नेपाल बैंक लिमिटेड कर्जा विभागका वरिष्ठ प्रबन्धक कृष्णबहादुर कार्कीले निकासीसँग सम्बन्धित व्यवसायलाई नेपाल बैंकले प्राथमिकताका साथ लगानी गर्दै आइरहेको बताउनुभयो । उहाँले व्यवसायीहरुको व्यापारिक सोचलाई उद्योगमा लैजानका लागि स्टार्ट अप बिजनेसदेखि नै सहयोग गर्ने बताउनुभयो । ‘हस्तकला वस्तुको निकासी व्यापारमा विद्यमान समस्या र समाधानका उपायहरु’ विषयक कार्यपत्र प्रस्तुति गर्नुहुँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वउपसचिव हिमाल थापाले हस्तकला क्षेत्रमा पिछडिएका वर्ग र महिलाहरुको सहभागिता धेरै रहेको बताउनुभयो ।
उहाँले निकासी व्यापारमा हस्तकला क्षेत्रको २० प्रतिशत योगदान रहेको तथ्य प्रस्तुत गर्नुहुँदै ८० मुलुकमा नेपालको हस्तकलाका वस्तुहरु निकासी हुने गरेको बताउनुभयो । हस्तकला उद्योगको विकास, संरक्षण र प्रवद्र्धन गर्ने छुट्टै निकायको अभाव रहेको पूर्वउपसचिव थापाले प्रस्ट्याउनु भयो ।
नेपाल हस्तकला महासङ्घका कार्यवाहक अध्यक्ष सनम शाक्यले मूल्यमा प्रतिस्पर्धाले सुनका गरगहना निर्यात हुन नसकेको धारणा राख्नुहुँदै यसमा व्यावहारिक कठिनाइ र नीतिगत समस्या रहेको तर्क गर्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>