चितवन विशेष
राष्ट्रिय शिक्षा दिवसमा सरकारद्वारा चितवनका तीन शिक्षक पुरस्कृत

चितवन, असोज २-
‘समावेशी र सीपमूलक शिक्षाः स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ मंगलबार राष्ट्रिय शिक्षा दिवस, २०८० मनाइँदै छ ।
शिक्षा दिवसका अवसरमा सरकारले उत्कृष्ट शिक्षण संस्थाहरूलाई पुरस्कृत गरेको छ । यसै अवसरमा चितवनबाट विभिन्न शिक्षण संस्थामा पढाउने तीन शिक्षक पुरस्कृत भएका छन् ।
चितवनबाट पुरस्कृत हुनेमा प्राविधिकतर्फ नारायणी बहुप्राविधिक शिक्षालयकी प्रमुख सरिता रेग्मी, प्रभात मावि शुक्रनगरका शिक्षक होमनाथ भण्डारी र एकता शिशु निकेतन रत्ननगरका शिक्षक बालहरि देवकोटा रहेका छन् ।
देशभरबाट कुन कुन शिक्षण संस्थाले पाए पुरस्कार ?
सामुदायिक विद्यालयतर्फत सिन्धुली, दुधौली नगरपालिका–११ को कमला माध्यामिक विद्यालय प्रथम भएको छ।
देशभरका सामुदायिक विद्यालयमध्येबाट २०७९ सालको माध्यामिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा नगद तीन लाख नगदसहित, शिल्ड, ध्वजाबाट पुरस्कृत गर्न लागेको शिक्षा मन्त्रालयले जानकारी दिएको छ।
दोस्रो पनि सिन्धुलीकै सार्वजनिक विद्यालय भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–४ को कमला माध्यामिक विद्यालय भएको छ। कमला माध्यामिक विद्यालयलाई नगद दुई लाख रुपैयाँ, शिल्ड र ध्वजा प्रदान गरिने शिक्षा मन्त्रालयले बताएको छ।
सल्यान, कुमाख गाउँपालिका–२ को नारायण माध्यामिक विद्यालय तेस्रो भएको छ। तेस्रो स्थानमा आउने विद्यालयलाई एक लाख रुपैयाँ, शिल्ड र ध्वजा प्राप्त गर्ने छन्।
माध्यामिक शिक्षातर्फ उत्कृष्ट नतिजा निकालेका आधारमा ललितपुर–५ को प्रसादी एकेडेमी प्रथम भएको शिक्षा मन्त्रालयले जानकारी दिएको छ। प्रसादीले नगद तीन लाख रुपैयाँसहित शिल्ड र ध्वजा प्राप्त गर्ने छ।
द्वितीय स्थानम काठमाडौं–४ को सेन्ट जेभियर्स कलेज रहेको छ। सेन्ट जेभियर्सले नगद दुई लाख रुपैयाँ प्राप्त गर्ने छ । तेस्रो स्थानमा बूढानीलकण्ठ स्कुल रहेको छ। बूढानीलकण्ठ–५ मा रहेको बूढानीलकण्ठ स्कुलले एक लाख रूपैयाँ नगदसहित पुरस्कृत गर्ने शिक्षा मन्त्रालयले जानकारी दियो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षामन्त्री अशोकुमार राईको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ। दिवसका अवसरमा मन्त्रालयले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका नेपाल विद्याभूषण तथा उत्कृष्ट शिक्षालय, प्रशिक्षण, कर्मचारीलगायतलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने कार्यक्रम तय गरेको छ।
यसबीचमा स्वदेश र विदेशका विश्वविद्यालयबाट विभिन्न विषयमा विद्यावारिधि उपाधिप्राप्त सात सय ९० जनालाई ‘क’, स्नातकोत्तर तहमा आफ्नो विधामा सर्वाेत्कृष्ट हुने ७१ लाई ‘ख’ र स्नातक तहमा सर्वोत्कृष्ट हुने ४४ जनालाई ‘ग’ श्रेणीको पदक दिइनेछ। यस्तै छात्रा विद्यापदक पनि प्रदान गरिनेछ।
समयमा बजेट निकासा नहुँदा पदक निर्माण हुन नभ्याइएकाले आज पुरस्कारमात्रै वितरण हुने र पदक वितरणको सूचना पछि आउने मन्त्रालयले जनाएको छ । विभूषित हुनेहरूको नामावली मन्त्रालयले आज प्रकाशन गरेको छ । दिवसका अवसरमा पहिलोपटक नेपाल प्रविधि विद्याभूषण र समाज कल्याण शिक्षा पुरस्कार थप गरिएको छ ।