Breaking News

एमाले बागमतीको अध्यक्षका लागि चितवनबाट सुवेदी र पोखरेल आकांक्षी

Banner

चितवन, भदौं ३१-

नेकपा (एमाले) बागमती प्रदेश अध्यक्षमा चितवनबाट दुई जनाले आकांक्षा देखाएका छन् ।

एमालेले बागमतीमा असोज ८ र ९ गते पहिलो अधिवेशन गर्दै छ । पदेन पोलिट्ब्युरो सदस्य र कार्यकारी भूमिका हुने भएपछि केन्द्रीय सदस्यहरू नै प्रदेश अध्यक्षको दौडमा छन् । अहिलेसम्म प्रदेश अध्यक्षको दौडमा चितवनबाट विजय सुवेदी र कृष्णभक्त पोखरेल प्रदेश अध्यक्षको दौडमा छन् ।

पार्टी पंक्तिले विश्वास गरे नेतृत्वका लागि तयार रहेको सुवेदी र पोखरेल दुवैले नारायणी अनलाइनलाई बताएका छन् । बागमती प्रदेश कमिटीका सचिव विजय सुवेदीले आफू पार्टीभित्र छलफलमा नै रहेको बताएका छन् । उनले साथीहरुको सल्लाहमा नेतृत्व दिन तयार भए आफू तयार रहेको बताएका छन् । उनले भने, ‘ छलफल हुँदै छ । के कसो हुन्छ । नेतृत्व लिन तयार छु ।’

त्यसैगरी बागमती प्रदेश कमिटीका सदस्य कृष्णभक्त पोखरेलले स्वभाविकरुपमा आफू बागमती प्रदेश कमिटीको नेतृत्व गर्न तयार रहेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ चितवनको जिल्ला अध्यक्ष भइसकेको छु । संसदीय समितिहरुमा नेतृत्वदायी भूमिका खेल्नुका साथै संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेकोले पनि मैले प्रदेशको नेतृत्व लिनु स्वभाविक छ ।’ उनले आफू चितवनको अध्यक्ष हुँदा सातवटा स्थानीय तहमध्ये ६ वटा तह स्थानीय निर्वाचनमा जिताउन सफल भएको बताए । उनले भने, ‘ एमालेले आगामी निर्वाचनमा प्रदेशमा बहुमत ल्याउन सक्ने बनाउनको लागि पनि मैले नेतृत्व गर्न चाहेको छु ।’ बागमती प्रदेशमा एमाले अत्यन्तै कमजोर बनेकाले उठाउनकै निम्ति अध्यक्षको आकांक्षा राखेको उनले बताए । गत निर्वाचनमा बागमती प्रदेशभरि एमालेले प्रतिनिधि सभामा ४ स्थानमात्र जितेको थियो। बागमती प्रदेशका ३३ वटा निर्वाचन क्षेत्रमध्ये काठमाडौं–९, ललितपुर–२, काभ्रेपलाञ्चोक–२, मकवानपुर–२ जितेको थियो ।

नेतृत्वको रस्साकस्सीमा चितवनका सुवेदी र पोखरेलसहित बागमती प्रदेश सभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ, अहिलेका प्रदेश संगठन कमिटीका अध्यक्ष केशव पाण्डे पनि रहेका छन् । नेता सुवेदी र पोखरेल दुवै चितवनमा एमालेका प्रभावशाली नेता हुन् ।

बागमतीमा एमालेका एक लाख ९ हजार २३८ जना संगठित सदस्य रहेका छन् । जसमध्येबाट एक हजार १५० हाराहारी प्रतिनिधि चुनिँदै छन् । बागमती प्रदेशले १०० संगठित सदस्यमध्येबाट १ जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था गरेको थियो । कुल संगिठत सदस्य मध्येबाट सय भाग लगाउँदा शेष ५० रहेमा त्यसबाट थप एक जना निर्वाचित गराउने व्यवस्था छ ।

त्यस्तै ३३ प्रतिशत महिला, दुई जना प्रतिनिधि चुनिने अवस्था आएमा एकजना महिला अनिवार्य निर्वाचित गर्नुपर्ने व्यवस्था छ । एक निर्वाचन क्षेत्रमा एक जना प्रतिनिधि दलित समुदायबाट निर्वाचित हुने व्यवस्था रहेको छ । एमाले बागमती प्रदेशको अधिवेशन असोज ८ गते भृकुटीमण्डमा उद्घाटन हुने छ । बन्द सत्र प्रज्ञा प्रतिष्ठानको हलमा हुने छ । एमाले बागमती प्रदेशमा ४७९ सदस्यीय प्रदेश संगठन कमिटी रहेको छ । १३ वटा जिल्लाका जिल्ला अध्यक्षहरू पदेन सदस्य रहेका छन् । अधिवेशनले ५३ प्रतिशतभन्दा बढी आकार घटाउने छ । अबको अधिवेशनले २५५ सदस्यीय कमिटी निर्वाचित गर्ने जनाइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>