राजनीति
पार्टीका नेतामाथि हातपात भएको भन्दै प्रभु साहविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता

काठमाडौं, भदौ २७-
आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा सांसद प्रभु साहविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता भएको छ ।
साहविरुद्ध जिल्ला अदालत रौतहटमा सन्जिवकुमार यादवले भदौ २५ गते मुद्दा दर्ता गराएका हुन् ।
यादव जनता समाजवादी पार्टी नेपालका जिल्ला नेता हुन् । उनी जसपा रौतहट जिल्ला कार्यकारिणी समितिको सदस्य हुन् ।
साउन ६ गते पार्टीको जिल्ला स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रममा भाग लिई फर्किने क्रममा आफूमाथि गरुडास्थित चिनी मिलको पश्चिमतर्फको बाटोमा हातपात गरेको उनले फिराद पत्रमा उल्लेख गरेका छन् । आफूलाई नियन्त्रणमा लिएर हातपात गर्दै लगाएको लुगासमेत च्याती गाली बेइज्जती गरेको उनको दाबी छ ।
उनले साहको निर्देशनमा उनका कार्यकर्ताले आफूमाथि हातपातगरी राजनीतिक चरित्र हत्या गरेको दाबी गरेका छन् । उनले साहसहितका प्रतिवादीलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम सजाय एवं जरिवानासमेत गराउन माग गरेका छन् । उनले साहसहित अन्य केहीलाई समेत प्रतिवादी बनाएका छन् ।
मुलुकी अपराध संहिता २०७४ को दफा ३०५ को उपदफा (१) मा कसैले कसैलाई गाली गर्न नहुने उल्लेख छ । उपदफा (१) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्ष सम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
पछिल्लो समय जसपा अध्यक्ष उपेन्द्र यादव र आजपा अध्यक्ष साहबीच तिक्कता बढेको छ । दुवैका गतिविधि एक–अर्काविरुद्ध लक्षित हुने गरेका छन् ।
























