कर्णाली

१६ दिनदेखि हराइरहेका नेपाली सेनाका मेजर पण्डितको शव भेरी नदीमा फेला

Banner

वीरेन्द्रनगर, भदौं २६-

१६ दिनदेखि बेपत्ता रहेका डोल्पाको दुनैस्थित नन्दबक्स ब्यारेकमा कार्यरत नेपाली सेनाका सेनानी विमल पण्डितको मंगलबार भेरी नदीमा शव फेला परेको छ ।

त्रिपुरासुन्दरी नगरपालिका–५ अन्तर्गत पर्ने करबगाडको चिन्ढेबगर नजिक भेरीको किनारमा मेजर पण्डितको शव फेला परेको हो ।
भेरीमा माछा मार्न जाल खेल्दै जानेक्रममा बिहान ६ बजेतिर त्रिपुरासुन्दरी–५ का परिमल भनिने शिवमल सार्कीले चिन्ढेबगर नदी किनारमा लास देखेपछि खदांगस्थित प्रहरी चौकीमा खबर गरेका थिए । दुईवटा ढुंगाको खोल्सामा शव देखेपछि आफूले बेपत्ता मेजर हुन् कि भनेर जाल खेल्न छाडेर चौकीमा खबर गरेको उनले बताए ।

सार्कीले खबर गर्नेबित्तिकै खदांग प्रहरीले जिल्ला प्रहरी कार्यालयमा थाहा दिएको थियो । प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीको कमान्डमा उद्धार सामग्रीसहित नेपाली सेनाका मेजर रवि शाहको टोली शव फेला परेको चिन्ढेबगरमा पुगेको थियो । प्रनाउ बुढाथोकीको टोली पुगेको केही समयपछि रामबाण गुल्मका गुल्मपती ध्रुव कार्कीको टोलीसमेत शव भेटिएको ठाउँमा पुगेपछि भेरीको किनारमा ढुंगाको खोचमा रहेको शव बाहिर निकालेर हेर्दा र मेजर पण्डितले लगाएका घडी, औंठीबाट शव बेपत्ता मेजरको भएको पुष्टि भएको घटनास्थलमा पुगेका प्रहरी नायव उपरिक्षक शिव बुढाथोकीले बताए । शव फेला परेको ठाउँबाटै प्रत्यक्षदर्शी लगायतका स्थानीयहरु समेतको उपस्थितिमा शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल दुनैमा लगिने तयारी भइरहेको उनले बताए ।

शव पहिचानका लागि मेजर पण्डितका दाई कुमार पण्डितसमेत घटनास्थलमा पुगेका थिए । काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिका डाँछी घरभई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते अपराह्न ४ बजेबाट बेपत्ता भएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>