Breaking News

भरतपुर सिटी हल निर्माणको काम सक्न अझै एक वर्ष लाग्ने, २७ महिनाको काम ३३ महिनामा ५५ प्रतिशत

Banner

चितवन, भदौं २५-

भरतपुर महानगरपालिकाको रणनीतिक योजनामा समावेश बहुप्रतीक्षित आयोजना सिटी हल म्याद थपिएको समयमा पनि सम्पन्न नहुने संकेत देखिएको छ ।

२७ महिनामा सक्ने गरी २०७७ साल मंसिरमा काम सुरू भएको सिटी हल ३३ महिनामा भौतिक निर्माणको प्रगति ५५ प्रतिशत छ । गत जेठमा आगामी फागुनसम्म म्याद थपिए पनि कामको गति हेर्दा अबको ६ महिनामा काम सकिने छाँटकाँट छैन । अझै काम सक्न एक वर्ष लाग्ने सघन शहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय चितवनले जनाएको छ ।

कार्यप्रगति हेर्दा अझै एक वर्ष लाग्ने जस्तो देखिएको सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख झपटबहादुर थापाले नारायणी अनलाइनलाई बताए । फागुनसम्ममा निर्माण कार्य नसकिए फेरि दोस्रो पटक म्याद थप्नुपर्ने हुन्छ । प्रमुख थापाले भवन निर्माणमा आर्थिक अभाव भने नभएको नारायणी अनलाइनलाई स्पष्ट पारे । उनले भने, ‘ भवन निर्माणमा आर्थिक अभाव छैन । विदेशबाट निर्माण सामग्रीहरु ल्याउनुपर्ने भएकोले समय लाग्छ । अझै एक वर्ष लाग्ने देखिन्छ । ’ निर्माणको काम हेरिरहेका इञ्जिनियर सुदन खतिवडाले सिटी हलको भित्र फिनिसिङको काम भइरहेको बताए ।

भरतपुर–१० स्थित जिल्ला समन्वय समितिको कार्यालयपछाडिको चार बिघा चार कट्ठा जग्गामा सिटी हल निर्माण हुँदैछ । दुई हजार मानिस अट्न सक्ने क्षमताको सिटी हलको निर्माण लागत ८७ करोड ८८ लाख ८८ हजार ८८८ रूपैयाँ रहेको छ । सिटी हल बनाउन कम्पनी इन्डो–सगुन–रौताहा जेभी र सघन सहरी तथा भवन निर्माण आयोजना चितवनबीच २०७७ मंसिर १८ गते सम्झौता भएको थियो । २७ महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो ।

सिटी हलमा एउटा ठूलो हल र अर्काे तीन सय क्षमताको सानो हल बन्नेछ । सिटी हलमा पर्याप्त पार्किङको व्यवस्था गरिनेछ। सिटी हल बनेपछि भरतपुरमा ठूला सभा, सम्मेलन तथा कार्यक्रम आयोजना गर्न सहज हुनेछ । सिटी हलको पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । समय भन्दा अगाडि नै काम सकिने दाबी गरिएको सिटी हलको काम पछिल्लो समयमा सुस्त बन्दै गएको छ ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>