राजनीति
एमाले कर्णाली प्रदेश अधिवेशन असोज १० र ११ गते वीरेन्द्रनगरमा हुने, ६५० प्रतिनिधिको सहभागिता

सुर्खेत,भदौ २१-
नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशन असोज १० र ११ गते राजधानी वीरेन्द्रनगरमा हुने भएको छ । अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् । अधिवेशन नजिकिएसँगै नेताहरू आन्तरिक तयारीमा जुटेका छन् ।
बुधवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए । कर्णाली प्रदेश कमिटीको बैठक इन्चार्ज लेखराज भट्टसहित बसेको बैठकले भदौ ३० गतेसम्म प्रतिनिधि छनोटको काम सम्पन्न गरिसक्ने निर्णय गरेको छ । यस्तै, बाकी रहेको ५० प्रतिशत अङ्क बराबर एक जना प्रतिनिधि थप हुने व्यवस्था गरिएको जनाइएको छ ।
अधिवेशनमा सहभागिताका लागि खुल्लातर्फ १ सय जना पार्टी सदस्य बराबर १ जना, दलिततर्फ ७५ जना बराबर १ जना र छनौट भएका प्रतिनिधिमध्ये १ तिहाइ महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ ।
प्रतिनिधि छनौट र व्यवस्थापनको आधार भूगोलको लागि पालिका र समावेशीका लागि प्रदेश निर्वाचन क्षेत्र रहनुका साथै समावेशी सदस्यले क्षेत्र रोज्न पाउने अधिकार सुनिश्चित गरिएको छ ।
कणाली प्रदेशको प्रथम अधिवेशनमा करिब ६५० प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।


























