Breaking News
भरतपुर र गैँडाकोटमा तोकिएको समयमा काम नगर्ने तीन निर्माण कम्पनी परे कालोसूचीमा

चितवन, भदौं १९-
भरतपुर महानगरपालिका र गैँडाकोट नगरपालिकामा तोकिएको समयमा जिम्मेवारी लिएको निर्माण वा खरिदको काम पूरा नगर्ने तीन ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ती तीन कम्पनीलाई १ देखि ३ वर्षसम्म कालोसूचीमा राखेको हो ।
कार्यालयको भदौ १८ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जानकारी दिएको छ । सूचना प्रकाशित भएको मिति (भदौ १९) देखि लागू हुने गरी कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले बताएको छ ।
डिभिजन सडक कार्यालय भरतपुरको सिफारिसमा भरतपुर–११ को हेमराज बस्यालको कम्पनी अरबिन्द्र कन्सट्रक्सनलाई एक वर्ष कालो सूचीमा राखेको छ । यो कम्पनीले महेन्द्र राजमार्गको मर्मत र चौबिसकोठीबाट रामपुर हुँदै मेघौली जाने सडक मर्मतको काम नगरेपछि विभागले कालो सूचीको लागि सिफारिस गरेको हो । सडक डिभिजन कार्यालयका सूचना अधिकारी चण्डेश्वर साहले सडक मर्मतको कामको ठेक्क पाए पनि काम नै नगरेपछि कालो सूचीमा राखिएको नारायणी अनलाइनलाई जानकारी दिए ।
त्यसैगरी गैँडाकोट नगरपालिका–१८ भेडाबारी भन्दा माथिको सडक नबनाएपछि नगरपालिकाको सिफारिसमा सुदिप आचार्यको नवनिर्माण कन्स्ट्रक्सन एण्ड बिल्डर्स अर्खु पोखरालाई सार्वजनिक खरिद कार्यालयले एक वर्ष कालो सूचीमा राखेको छ । गैँडाकोट नगरपालिकाकै सिफारिसमा उपेन्द्र ढकालको निर्माण कम्पनी यूडी एलिस एण्ड कन्स्ट्रक्सन टेकु काठमाडौँ कालो सूचीमा परेको छ ।

























