चितवन विशेष

कलेज पढ्दै गरेका अभिषेकले भरतपुरमा खोले ‘फुड स्टेशन’, विदेश नजाने निर्णय

Banner

चितवन, भदौं १६-

बोस्टन इन्टरनेशनल कलेजमा बीबीए आठौं सेमेस्टरको परीक्षा सकेका अभिषेक विश्वकर्माले अध्ययन सकेपछि विदेश नजाने निर्णय गरी भरतपुरको हाकिमचोकमा ‘फुड स्टेशन’ खोलेका छन् ।

भरतपुर–८ गौरीगञ्जका २३ वर्षीय अभिषेकले कोरोनाको लकडाउन ताकादेखि नै बिहान कलेज पढेर दिउँसो रेष्टुरेन्ट चलाउने सोच राखेका थिए तर कोरोनाले भएको लकडाउनका कारणले रेष्टुरेन्ट खोल्न आँट गर्न सकेनन् । जब उनले बीबीए अन्तिम सेमेस्टरको परीक्षा सुरु हुँदै थियो तब आफ्नो बिगत लामोसमयदेखि रेष्टुरेन्ट खोल्ने सपना पूरा गरे । अहिले दैनिक अधिकांश समय उनले रेष्टुरेन्टमा नै मेहनत गरिरहेका छन् । पाँच लाख लगानी गरेर हाकिमचोकमा ‘फुड स्टेशन’ चलाउन थालेको झण्डै एक महिना भयो । रेष्टुरेन्टमा मम, चाउमिन, दहीपुरी, पानी पुरी जस्ता खाजाका परिकारहरु बेचिरहेका उनले अब छिट्टै रेष्टुरेन्टमा बर्गर, स्याण्डविच र पिज्जा बेच्ने तयारीमा छन् ।

अभिषेकसँगै कलेज पढिरहेका साथीहरु कोही अष्ट्रेलिया त कोही अमेरिका र क्यानडा जाने सोच बनाइरहँदा उनी भने नेपालमा ‘फुट स्टेशन’ लाई एउटा ब्रान्डको रुपमा स्थापित गर्ने सोचमा छन् । विदेश नजाने निश्चय गर्दे उनले नारायणी अनलाइनलाई भने, ‘ विदेश जाने सोच छैन । विदेशमा गए पनि दुःख नगरी पैसा त कमाइँदैन । आफ्नै घरपरिवार, साथीसर्कलकै बीचमा रहेर व्यवसाय अगाडि बढाउने सोचमा छु ।’ उनले रेष्टुरेन्ट खोल्नुपूर्व राम्रो अध्ययन गरी विभिन्न कलेजहरुको केन्द्रमा पर्ने गरी ठाउँको चयन गरेका छन् । कर्मचारी थप्दै अनलाइन डेलीभरीमा पनि फुड स्टेशन सञ्चालन गर्ने सोचमा उनी छन् ।

अभिषेकको कामको चर्चा कलेजमा सुनेपछि बोस्टन इन्टरनेशनल कलेजका कार्यकारी निर्देशक राजु लामा, कलेजका सहनिर्देशक पुष्प अधिकारी र उद्यमशिलता कार्यक्रम प्रमुख प्रेम गैरे अभिषेकको फुड स्टेशनमा पुगेर र उद्यमशिल विद्यार्थीको रुपमा सम्मानित गरे । सरहरु फुड स्टेशन खोज्दै प्रमाणपत्र बोकेर रेष्टुरेन्टमा आएपछि उनी झनै हर्षित र आभारी भए । कलेजमा पढेको ज्ञान र सरहरुको मार्गनिर्देशनलाई उद्यमशिलताको क्षेत्रमा देशभित्र नै खर्च गर्ने उनको सोचमा सम्मानले अझ धेरै केही गर्न उत्प्रेरित ग¥यो ।

‘फुड स्टेशन’ को लागि अभिषेकले मासिक १३ हजार रुपैयाँ भाडा बुझाउँदै आएका छन् । सरसफाइ र कुक गरेर रेष्टुरेन्टमा उनले तीन जनालाई रोजगारी दिएका छन् । दिनमा उनले चार हजारदेखि नौ हजार रुपैयाँसम्म आम्दानी गर्छन् । उनको घरपरिवारले उनले सुरु गरेको काम र मेहनतको प्रशंसा गर्दै आएका छन् । ‘फुड स्टेशन’ औपचारिक उद्घाटन नगरेका उनले दसैँको समयमा एउटा विशेष कार्यक्रम नै गरेर रेष्टुरेन्टको उद्घाटन गर्ने सोच बनाएका छन् । उनले भने, ‘ व्यापार सुरु भएको छ । दसैँ वरिपरी विशेष कार्यक्रम गरेर उद्घाटन गर्ने सोचमा छु । अहिले पढाइ पनि सकियो मेरो पूरै ध्यान फुड स्टेशनलाई कसरी राम्रो बनाउने भन्नेमा नै गएको छ ।’ भर्खर कलेज पढ्दै गरेको अवस्थामा सानो लगानी गरेर केही नयाँ काम गरी राम्रो आम्दानी गर्न सकिन्छ भन्ने शिक्षा अभिषेकले सबै युवालाई दिएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>