चितवन विशेष

प्राविधिक विषय पढ्न विद्यार्थीको रोजाइमा भरतपुर मावि

Banner

चितवन, भदौं ६–

प्राविधिक विषय पढ्न भरतपुरको श्री भरतपुर मावि विद्यार्थीको रोजाइमा पर्ने गरेको छ ।

हरेक वर्ष राम्रो नतिजा ल्याउनुको साथै सर्वसुलभ रहेकोले पनि विद्यार्थीको रोजाइमा पर्ने गरेको हो ।

भरतपुर माविमा सिभिल इन्जिनियरिङ अध्ययनरत आशिष सापकोटाले विद्यालयमा सबै वातावरण विद्यार्थीमैत्री र सबैलाई प्रभावित पार्ने खालको भएकोले सबैको रोजाइमा पर्ने गरेको बताए । उनले विद्यार्थीलाई शैक्षिक भ्रमण गराउनुको साथै खेलकुद, कार्यशाला, प्रयोगशाला र सांस्कृति क्रियाकलापमा पनि विद्यालय उत्कृष्ट रहेको बताए ।

विद्यालयका प्राचार्य खेमनारायण पौडेलले विद्यालयभित्र नै गाई, बाख्रा र कुखुरा पालन गर्नुको साथै माछा पालनको लागि पोखरी खन्ने काम सुरु हुन लागेकोले प्रयोगात्मक सिकाइका लागि विद्यालय उत्कृष्ट रहेको बताए । उनले भने, ‘ नवलपरासी, रुपन्देहीलगायत देशका विभिन्न विद्यालयका प्रतिनिधिहरु प्रयोगशाला निरीक्षण गर्न आएका छन् । हामीले प्राविधिक शिक्षालाई आवश्यक प्रयोगशालाको लागि ठूलो लगानी गरेका छौं ।’ उनले प्राविधिकमा पढाइ सकेका विद्यार्थीहरुले एक लाख रुपैयाँ बढी चितवनमा नै बसेर मासिक कमाउने गरेको जानकारी दिए ।

हरेक वर्ष विद्यालयले परीक्षामा उत्कृष्ट नतिजा ल्याउने गरेको छ । सिभिल इन्जिनियरिङमा ६० प्रतिशत माथि नतिजा छ भने एनिमल साइन्समा १०० प्रतिशत नतिजा छ । विद्यालयका सहायक प्राचार्य दलबहादुर क्षेत्रीले राम्रो नतिजा र सर्वसुलभ शिक्षाका कारण सबैको रोजाइमा भरतपुर मावि पर्ने गरेको बताए । उनले भने, ‘ राजमार्गको नजिकै भएकोले देशको जुनकुनै जिल्लाबाट सजिलै विद्यालयमा विद्यार्थी आइपुग्छन् । शिक्षकहरु भरतपुरकै भएकोले सजिलै उपलब्ध हुन्छन् । हाम्रो प्रयोगशालाहरु पनि उच्चस्तरीय छन् ।’

विद्यालयले एएसईई उतीर्ण विद्यार्थीहरुको लागि सिभिल इन्जिनियरिङतर्फ ४८ सिट र भेटेरीनरीमा ४० वटा सिट पढाउँदै आइरहेको छ । सीटीईभीटीबाट सम्बन्धन लिएको यस विद्यालयमा तीन वर्षे डिप्लोमा पढ्नको लागि देशभरका विद्यार्थीहरुले अनलाइनमा आवेदन दिन सक्छन् । प्रवेश परीक्षा सकिएर विद्यालयमा विद्यार्थी भर्ना सुरु भइसकेको छ । प्रवेश परीक्षा दिएका मध्येबाट जो अगाडि आउँछ उसले विद्यालयमा भर्ना पाउने सम्भावना रहन्छ । धेरै विद्यालयहरुले अहिले प्राविधिक शिक्षा पढाउन सुरु गरेकोले सीटीभीटीले पुनः प्रवेश परीक्षा तोक्ने तयारी गरेको छ । भरतपुर माविमा आगामी असोजसम्म विद्यार्थीको भर्ना हुने विद्यालयले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>