Breaking News
ग्रीनक्रस अस्पतालबाट बेपत्ता पारिएको बच्चा फेला, डाक्टरले बेचेको पुष्टि

विराटनगर–९
स्थित ग्रीनक्रस अस्पतालबाट असार १४ गतेदेखि बेपत्ता पारिएकी शिशु फेला परेको छ। बेपत्ता पारिएकी एक दिनको नवजात शिशु (छोरी) लाई बेचेको मंगलबार पुष्टि भएको हो।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ तथा कोशी अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट (मेसु) समेत रहेका डाक्टर तपेश्वरलाल कर्णले निःसन्तान दम्पतीलाई शिशु बचेको पुष्टि भएको हो।
डाक्टर कर्णले मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलकी दिलमाया राजवंशीलाई बचेको पुष्टि भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन दाहालले जानकारी दिए। उनले प्रारम्भिक अनुसन्धानबाट पैसाका लागि कारोबार भएको देखिएपछि थप अनुसन्धान अघि बढाइएको बताए।
डाक्टर कर्णलाई अस्पतालले मंगलबार दिउँसो डिस्चार्ज दिएपछि हिरासतमा राखेर सोधपुछ गर्दा पैसाका लागि कारोबार भएको खुलेको डिएसपी दाहालले बताए । ‘१० वर्षअघि विवाह भई सन्तान नभएका दम्पतीलाई डाक्टरले शिशु दिएको उनले बताए । भर्खर जन्मिएको शिशु लिन दिलमाया राजवंशी अस्पताल आएकी थिइन्।
५० हजार रुपैयाँ दिएर अस्पतालबाट शिशु लगेको दिलमायाले भनेको बताउँदै, डिएसपी दाहालले भने, ‘दिलमायाले भने जति पैसामा नभई अझ बढी रकमको कारोबार भएको हुनुपर्छ। थप कुरा अनुसन्धानबाट खुल्ने छ। यस घटनामा बच्चाका बुवा गोविन्दको कस्तो भूमिका थियो खुल्न बाँकी नै छ।’
ग्रीनक्रस अस्पतालबाट नाटकीय ढंगबाट बच्चा बेपत्ता बनाएको आरोपमा अस्पतालका डाक्टर कर्ण र बच्चाका बुवालाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ। सिनेमा मात्रै देख्न पाइने यस्तो घटना वास्तविकतामा ढल्किएको छ।
बच्चाकी आमालाई थाहा नै नदिई अस्पतालका डाक्टर र बच्चाका बुवाले नाटकीय ढंगबाट बच्चा बेपत्ता बनाएका थिए। असार १४ गते अविवाहित युवतीबाट ग्रीनक्रस अस्पतालमा जन्मिएको बच्चा अस्पतालबाटै बेपत्ता भएपछि घटना बाहिरिएको हो।
बच्चा बेपत्ता बनाएको आरोपमा डाक्टर कर्णसहित भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई प्रहरीले पक्राउ गरेको थियो। दुवै जनालाई अस्पतालमा जन्मिएको बच्चा अस्पतालबाटै बेपत्ता पारेको आरोपमा पक्राउ गरिएको डिएसपी दाहालले बताए।
गोविन्द राई नवजात शिशु (छोरी) का बुवा हुन्। युवती र गोविन्दबीच विवाह भएको छैन। उनीहरु प्रेमी प्रेमिका हुन्। गोविन्द र युवतीबिच २ वर्षदेखि प्रेम सम्बन्धमा रहँदै आएका थिए। प्रेम सम्बन्धकै कारण उनीहरुबीच शारीरिक सम्पर्कबाट युवती गर्भवती भएकी बताइएको छ।
२६ वर्षीया युवतीले अस्पतालमा नवजात शिशु (छोरी) लाई जन्मदिएकी थिइन्। असार १३ गते दिउँसो अस्पतालमा भर्ना भएकी युवतीले भोलिपल्टै (असार १४ गते) ‘नर्मल डेलिभरी’ मार्फत छोरीलाई जन्म दिएको प्रहरीले जनाएको छ।


























