चितवन विशेष
मैयादेवी कलेजद्वारा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान तथा बिदाई

चितवन, भदौं ३-
मैयादेवी कन्या कलेजले कक्षा १२ को परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई बिदाई तथा सम्मान गरेको छ ।
कलेजले आज एक कार्यक्रम गरी बिदाई तथा सम्मान गरेको हो ।
सोही अवसरमा पब्लिक क्याम्पसतर्फ उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थी शिरिषा थापालाई सम्मान गरिएको थियो । यस कलेजमा अध्ययनरत छात्रा मध्ये कक्षा १२ को नतिजामा ७५ प्रतिशत भन्दा बढी विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन् । विद्यार्थीको लगाब र प्रध्यापकहरुको मेहनतका कारण कलेजले उत्कृष्ट नतिजा ल्याउन सफल भएको कलेजका अध्यक्ष टंकनाथ पौडेलले कलेजमा अध्ययन गर्ने छात्राहरुको मनोबल बढाउनका लागि पुरस्कारको घोषणा समेत गरे । हरेक वर्ष देशमानै सर्वोत्कृष्ट अंक ल्याउन, जिल्लामा सर्वोत्कृष्ठ अंक ल्याउने र पब्लिक क्याम्पसहरुमा सर्वोत्कृष्ट अंक ल्याएर उत्तीर्ण विद्यार्थीहरुलाई पुरस्कारको व्यवस्था गरिने बताए । कलेजमा आएर अध्ययन गर्ने विद्यार्थीहरुको शैक्षिक गुणस्तर बृद्धि हुनपर्ने भन्दै उनले सबैलाई लगनशिल भएर अध्ययन गर्न अनुरोध गरे ।
कलेजका प्रिन्सिपल भोजराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रध्यापक संघका सभापति कृष्णप्रसाद न्यौपाने, उत्कृष्ट अंक ल्याउन सफल शिरिषा थापामगरलगायतले बोलेका थिए । कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउन सफल प्रध्यापकहरुलाई समेत सम्मान गरिएको थियो ।






















