कृषि

भरतपुरका ६ सफल युवा व्यवसायी सम्मानित, के व्यवसायमा कसरी भए सफल ?

Banner

निरुता विक\पूजा ढकाल

चितवन, साउन २६-

भरतपुर महानगरपालिकाले चितवनका ६ सफल युवा व्यवसायीलाई सम्मान गरेको छ ।

विश्व युवा दिवसको अवसर पारेर शुक्रबार महानगरले विभिन्न व्यवसायमा सफल भएका युवालाई सम्मान गरेको हो ।

‘दिगो विकास लक्ष्य प्राप्तीमा युवाको साथ, नवप्रवर्तन उद्यमशिलतामा हरित विकास’ भन्ने नाराका साथ मनाइएको अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा संस्था तथा सामाजिक संघसंस्थाको सहकार्यमा महानगरले युवाहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेमा भरतपुर–१९ की किसान चम्पा तामाङ, भरतपुर–२५ का तरकारी व्यवसायी लेखनाथ भुसाल, भरतपुर–२ का सैलुन व्यवसायी रमेश लामा, पुष्प खेती किसान तथा व्यवसायी भरतपुर–७ का सुलभ श्रेष्ठ, डेलिश डेरिज प्रा.लिका सञ्चालक सन्दिप पौडेल र प्रविधिक क्षेत्रको नवप्रवद्र्धनमा सक्रिय इन्जिनियर सुनिल यादव रहेका छन् ।

त्यस्तै, भरतपुर महानगरकी मेयर रेनु दाहालले सम्मानित भएका ६ व्यक्तिलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै महानगरले सम्मानमात्रै नभएर उच्च प्रोत्साहन पनि गर्ने जानकारी दिइन् । उनले सफल उद्यमीसँगको अन्तरक्रिया कार्यक्रम देशमै केही नयाँ काम र व्यवसाय गर्न चाहने युवालाई प्रेरणा मिलेको बताइन् । आगामी दिनमा पनि यस्ता युवालक्षित, कृषक, पशु, व्यवसायी क्षेत्रमा यस्तै कार्यक्रम गर्ने प्रतिबद्धता जनाउँदै दाहालले भनिन्, ‘ महानगरले भ्रमण वर्ष–२०२४ मनाउँदै गर्दा यहाँ आएका पर्यटकलाई तपाइँहरुको सफल व्यावसाय देखाउन पाइयोस् र युवा लक्षित र विकासको क्षेत्रमा जोड दिँदैँ आएको हाम्रो यस महानगरले यस्ता कार्यक्रमलाई ख्याल गरेर निरन्तरता दिने छ ।’

कार्यक्रममा महनगरका उपमेयर चित्रसेन अधिकारीले युवा सफल व्यवसायीलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए । उनले युवायुवाको साथमा महानगर भन्ने सोचका साथ १३ औँ नगरसभाबाट अघि बढेको विचार राखे ।

विज्ञान पढेको भए पनि तरकारी खेती गरेको सुनाउँदै सम्मानित व्यवसायी लेखनाथ भुसाल भन्छन्, ‘सुरुमा हामीले काठमाडौँबाट चितवन आएर १८ जना साथी मिलेर ५० बिगा जग्गामा तरकारी खेती गरेका थियौँ । अहिले हामीले तरकारी खेती गर्ने जमिन बढाएर १५० बिघा पु¥याएका छौँ ।’ उनको अनुसार साथीभाई मिलेर सुरु गरेको तरकारी खेतीलाई पछि राज्यले सहयोग गरेको थियो । चितवनको तरकारी फलफूल उत्पादनका लागि निकै राम्रो क्षेत्र भए पनि गत वर्ष तरकारीले बजार मूल्य नपाउँदा पुलचोकको सडकमा आफूले पनि टमाटर फालेको हुँदा आगामी बजार व्यवस्था गर्न उनले महानगरको ध्यानाकर्षण गराएका छन् । त्यस्तै सैलुन व्यवसायी रमेश लामाले भने, ‘ २०६५ सालमा पहिलो पटक चितवन आएर सैलुन सुरु गर्दा सबैले यति धेरै पढेर पनि किन कपाल, दारी काटेर बसेको भन्ने गर्थे । तर, आज व्यवसाय राम्रो भएको देख्दा सबैले राम्रो गर्दै जाउँ भन्छन्, राम्रौ कुरा गर्छन्’ । सुरुमा २५ हजार रुपैयाँबाट सुरु गरेको यस सैलुन व्यवसायबाट धेरैलाई तालिम दिएको र तालिम प्राप्त सबैले विभिन्न क्षेत्रमा सैलुन नै राखेको उनले बताए ।

महिला कृषक चम्पा तामाङ्ले आफूले शिक्षण पेसा छाडेर भैंसी पालन गरेको बताइन् । दुई ओटा भैँसीबाट पशुपालन सुरु गरेकी उनले अहिले ६० ओटा भैँसी पालेकी छन् । उनले विगतको दिनहरुमा गाई नपालेर किन भैँसी पालेको भनेर अरुले प्रश्न गर्ने गरेको सुनाइन् । उनले भनिन्, ‘पहिला सबैले गाई नपालेर किन भैँसी पालेको भनेर प्रश्न गर्ने गर्दथे । गाई त सबैले पालेको छ । सबैले गरेको काम त पक्कै सजिलो होला भनेर सबैले गर्न नसकेको काम गरौंन त भनेर म र मेरो श्रीमान् मिलेर भैँसी पालन गर्न थाल्यौं ।’ उनले भैँसी पालन व्यवसाय गर्दा कुन जातको भैँसी पाल्ने हो, के खुवाउँदा ठिक हुन्छ भनी अध्ययन गरी विभिन्न स्थानीय निकाय,विज्ञसँग सल्लाह लिएर भैँसी पाल्न कृषकलाई आग्रह गरिन् । यसरी विभिन्न स्थानीय निकाय, विज्ञसँग सरसल्लाह लिएर पशुपालन गर्दा सफल व्यवसायी बन्न सकिने उनको भनाइ छ ।

अर्का पुष्प व्यवसायी सुलभ श्रेष्ठले नेपालमा दैनिक १५ देखि २० हजार फूलको माला आवश्यक रहेको बताए । धेरैजसो काठमाडौँमा ६० प्रतिशत फूलको माला आवश्यक पर्ने उनको भनाइ छ । बाँकी ४० प्रतिशत चितवन, पोखरालगायत ठाँउमा आवश्यक पर्ने उनको भनाइ छ । उनले चितवन तरकारी खेतीमा प्रख्यात भनेजस्तै फूलखेतीमा पनि उत्तिकै प्रख्यात हुन सक्ने ठाउँ रहेको बताए । उनले भने, ‘भारतबाट आयात हुने फूलमा सरकारले भ्याट लगाएको छ । हामी उत्पादनकर्ताको लागि यो निकै नै ठूलो कुरा हो । तर, नेपालीले यहाँ उत्पादन गरेको फूलमा भ्याट लगायो भने उत्पादनमा समस्या हुन्छ । यस विषयमा म महानगरको ध्यानाकर्षण गराउन चाहन्छु ।’ चितवनमा उत्पादिन फूलमा सरकारले भ्याट लगायो भने फूल उत्पादनमा समस्या हुने भन्दै उनले महानगरको ध्यानाकर्षण पनि गराएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>