खेलकुद

‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ सुरु, १६ टिम दोस्रो चरणमा प्रवेश

Banner

चितवन, साउन २०–

युवा विद्यार्थीहरुलाई लक्षित गर्दै चितवनको भरतपुरमा अन्तरमाध्यमिक विद्यालय (९–१२) स्तरीय ‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ प्रतियोगिता सुरु भएको छ ।

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि.चितवनको सहकार्यमा चितवन जिल्ला फुटबल संघको आयोजनामा आज (शनिबार)देखि भरतपुरस्थित शरदपुर फुटसल मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको एन्फा चितवनका अध्यक्ष श्रीकृष्ण कार्कीले रेफ्रीलाई बल हस्तान्तरण गरेर समुद्घाटन गरे । सो क्रममा बोल्दै अध्यक्ष कार्कीले स्कूलबाटै उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले सुरु भएको यस प्रतियोगिता फलदायी बन्ने बताए । उनले एक्सपर्टसंग मिलेर एन्फा चितवनले धेरै फुटबलका कार्यक्रमहरु गर्दै आइरहेकोमा आगामि दिनमा थप सहकार्य गरेर अघि बढ्ने बताए ।

एक्सपर्टसंग मिलेर राष्ट्रियस्तरको फुटबल प्रतियोगिता गर्न सफल भएकोले नै खेलाडीको विकासमा सहयोग पुगेको उनको भनाई थियो । ‘हामीले चितवनमा ठूला प्रतियोगिता गर्नुअघि पहिले जिल्लबाट २/३ जना मात्रै ‘ए’ डिभिजिन खेल्थे, अहिले १५ जना भन्दा बढी खेलाडी ‘ए’ डिभिजिन खेल्छन् यो उपलब्धी नै हो ।’–अध्यक्ष कार्कीले भने । उनले आगामि दिनमा एक्सपर्टसंग सहकार्य गरेर विभिन्न प्रतियोगिताहरु गर्ने बताए ।

यस्तै एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले विद्यार्थीको कलाप्रस्तुत गर्न प्रतियोगिता आयोजना गरेकोमा एन्फा चितवनलाई धन्यवाद दिए । उनले विद्यार्थीको क्षमता देखाउने थलो बनेको भन्दै आगामि दिनमा यस्तो कार्यक्रम गर्न सहयोग जारी राख्ने प्रतिवद्धता जनाए । एक्सपर्ट चितवनका अध्यक्ष घननाथ अर्यालले प्रतियोगितामा सहभागि सबै विद्यार्थीहरुलाई सफलताको शुभकामना दिए ।

प्रतियोगिताको समुद्घाटन खेलमा भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कूल र गैंडाकोटको अक्सफोर्ड विद्यालयबीच प्रतिस्पर्धा भएको थियो । सो खेलमा ग्रीनल्याण्ड २–० ले विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ । शनिबार पहिलो दिन पहिलो चरणका १६ खेल सम्पन्न भएका छन् । जसमध्ये १६ टिम आइतबार दोस्रो चरणमा प्रवेश गर्नेछन् । आइतबार नै फाइनल प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक मिराज पौडेलले जानकारी दिए । प्रतियोगितामा कुल ३२ वटा माध्यमिक विद्यालय तथा कलेजको सहभागिता जनाएको पौडेलले जानकारी दिए ।

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि.को २०औं वार्षिकोत्सवको अवसर पारेर कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुले सहभागिता जनाउन पाउने गरि प्रतियोगिता आयोजना गरिएको हो । एक्सपर्टले साउन २३ अर्थात् अगष्ट ८ मा २०औं वार्षिकोत्सव समारोह मनाउँदै छ । त्यसैको छेकोमा प्रतियोगिता गरिएको हो ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई पुरस्कार प्रदान गरिनेछ । प्रथम पुरस्कार रु.२० हजार, ट्रफी, मेडल र प्रमाणपत्र, द्धितीय पुरस्कार रु.१५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार रु.१० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई प्रमाणपत्र र विभिन्न उपहारहरु र प्लेयर अफ दि म्याचलाई प्रमाणपत्र र विभिन्न उपहारहरु प्रदान गरिने संघका महासचिव रामहरि ढकालले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>