Breaking News

चितवनमा फैलियो आँखा पाक्ने रोग, भरतपुर आँखा अस्पताल आउँछन् दैनिक पाँचसय विरामी

Banner

निरुता बि.क,

चितवन, साउन १९-

चितवनमा आँखा पाक्ने रोग फैलदै गएको छ । रोगको संक्रमण फैलिएसंगै उपचारका लागि अस्पताल आउने विरामीको संख्या पनि बढ्दै गएको छ । भरतपुर आँखा अस्पतालमा दैनिक पाँच सय जना आँखा पाक्ने समस्या लिएर बिरामी उपचारका लागि आउने गरेका छन् ।

अस्पतालकी नेत्र विशेषज्ञ डा. कुमुदिनी सुवेदीका अनुसार अस्पतालमा दैनिक आठ सयदेखि नौं सयजना विरामी आँखा उपचार गर्न आउने गरेका छन् । जसमध्ये पाँच सय जनामा आँखा पाक्ने रोगको समस्या देखिने गरेको छ । यो हप्ताको सुरुवातमा आँखा पाक्ने समस्या लिएर आउने जति थिए त्यो भन्दा छ गुणा बढि बिहिबार वृद्धि भएको डा.सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो रोग एडिनो भाइरस प्रजातीबाट सर्छ । आँखा पाक्ने समस्या जोसुकैलाई देखिन सक्छ । किनकी, एडिनो भाइरस बढी संक्रामक हुन्छ र एक व्यक्तिबाट अर्कोमा सजिलैसँग सर्न सक्छ । विद्यालय, कलेज लगायत धेरै भिडभाड हुने ठाउँहरुमा यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्छ ।’ सजिलै सर्ने भएकाले यसले घरका सबै सदस्यलाई संक्रमित पनि गराउन सक्ने उहाँको भनाई छ ।

उहाँले मुख्यतया बालबालिकामा यो समस्या धेरै देखिएको बताउनुभयो । ‘आँखा पाक्ने रोग बालबालिकामा बढी देख्ने गर्दछ । किनभने बालबालिका विद्यालय जान्छन् । विद्यालयमा भिडभाड हुन्छ । एक बच्चाले अर्को बच्चालाई छुँदा यो रोग सजिलै सर्छ ।’ बालबालिकामा आँखाको परेलाको डिल सुनिनु, रातो हुनु, आँखा बारम्बार मिच्नु, आँसु बढि झार्नु जस्ता समस्य देखा परेमा शिक्षकले बालबालिकालाई विद्यालयको उपाचार कक्षमा राखेर घर पठाउन उहाँले सुझाब दिनुभयो । विशेषगरी गर्मी महिनामा यो समस्याबाट पीडित हुनेको संख्या तुलनात्मक रुपमा बढी हुन्छ ।

विगत केही महिनाअघि भारतमा यो रोगको संङक्रमण बढ्दै गएको थियो भने विस्तारै नेपालका विभिन्न जिल्लामा फैलदै छ । उहाँले आँखा पाक्ने समस्या देखिएका व्यक्तिले तुरुन्तै उपचार गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘कोही व्यक्तिमा यो रोगको लक्षण देखा परेको छ भने तुरुन्तै उपचार गर्नुपर्दछ । उपचार गर्दा नेत्र विशेषज्ञसँग परामर्श गरेर मात्र उपाचार गर्नुपर्दछ ।’

उहाँले धेरै जसोलाई यस रोगको जटिलता थाहा नभएको बताउनुभयो । त्यसैले नेत्र रोग विशेषज्ञसंग परामर्श गरेर मात्र उपाचार गर्न उहाँले आग्रह गर्नुभयो । यो रोग निको हुन दुईदेखि तीन हप्ता लाग्ने सुवेदीको भनाई छ । अनावश्यकरुपमा भिडभाडमा नजाने तथा जानै परे चस्माको प्रयोग गर्न र लक्षण देखिएमा अस्पतालमा जाँच गराउन उहाँले सुझाब दिनुभयो ।

रोगको पहिचान कसरी गर्न सकिन्छ ?

बिहान उठ्दा आँखा टालिने, आँखा खोल्न गाह्रो हुने, चिप्रा लाग्ने, आँसु आउने, बिजाउने, रातो हुने, कोस सुनिने जस्ता समस्या देखा परे आँखा पक्ने रोग लागेको हो भनि थाहा पाउन सकिने डा. सुवेदीको भनाई रहेको छ ।

यस रोगको लक्षणहरु

डा. सुवेदीका अनुसार यो रोगको मुख्य लक्षण आँखामा चिप्रा लाग्ने, आँखा सुन्निने, चिलाउने, पोल्ने र रातो हुने हुन् । यो रोग एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्छ । यसले जटिलता पैदा गर्न सक्छ । जटिलता पैदा भएमा नानीमा फुलो पर्ने, रोगसंग लड्न सक्ने क्षमता कम गर्ने र आँखा फुट्ने जस्ता समस्यापनि देखा पर्छ ।

आँखा पाक्ने रोगबाट बच्नको लागि व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन जरुरी छ । साबुन पानीले बारम्बार हात धुनु पर्दछ । सङ्क्रमित व्यक्तिको नजिक नबस्ने, भिडभाडमा नजाने, बिरामीले प्रयोग गरेका औषधि, रुमाल, फोन, सिरानी तथा ओछ्यान प्रयोग नगर्ने आँखा नछुने तथा चस्माको प्रयोग गर्नुपर्छ । त्यस्तै, रातो भएको आँखालाई बरफ वा आइसले सेकाउन पनि सकिन्छ । साथै समयमै उपचार गरे यो रोग सजिलै निको हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>