चितवन विशेष
चितवनका साहित्यकार एलबी क्षेत्री मानिसको पहिचान गराउन ‘को हो त्यो मान्छे ?’ पुस्तक लिएर आउँदै

चितवन, साउन ११-
चितवनका अग्रज साहित्यकार एलबी क्षेत्रीले मानिसको पहिचान गराउनको लागि ‘को हो त्यो मान्छे ?’ नयाँ पुस्तक सार्वजनिक गर्दै छन् ।
अहिले अष्ट्रेलियामा रहेका क्षेत्रीले झण्डै एक दशकपछि छैठौं कृतिको रुपमा यो कविता संग्रह सार्वजनिक गर्न लागेका हुन् ।
पेज कर्नरले प्रकाशित गरेको यो पुस्तकलाई भदौं ९ गते काठमाडौँमा र त्यसपछि चितवनमा सार्वजनिक गर्ने तयारी रहेको साहित्यकार क्षेत्रीले नारायणी अनलाइनलाई बताए । उनले मानिसको पहिचान गराउन र मानिसको पहिचान खोज्न ‘ को हो त्यो मान्छे ?’ कृतिको नाम राखेको बताए । उनी कुनै राजनीतिक बाद र दर्शनमा आधारित नभई सत्यको आधारमा मन र ह्दयको भावलाई कवितामा उतार्ने गर्छन् । १०० पृष्ठको यो नयाँ कविता सङ्ग्रहमा तीन दर्जन बढी कविता सङ्ग्रहित छन् ।
अंग्रेजी र नेपाली भाषामा बराबर कमल चलाउने क्षेत्रीको विसं २०६४ सालमा पहिलो कृति ‘त्रिशंकुको देशमा’ सार्वजनिक भएको थियो । त्यसपछि उनको विसं २०७१ सालमा नै ‘भीडमा हराएको मान्छे’ कविता सङ्ग्रह, २०७१ सालमा ‘ईन्द्रमायाको देशमा’ कथा सङ्ग्रह, २०७५ सालमा ‘व्रत भङ्ग’ कथा सङ्ग्रह, २०७८ मा कविता र कथाको संयुक्त सङ्ग्रह ‘द करिडोर अफ सेन्सेस’ प्रकाशित भइसकेका छन् ।
चितवन वरपर एलबी सरका रूपमा परिचित साहित्यकार एलबी कवि डाँडा साहित्य समाजका अध्यक्ष र भिउ चितवनका संस्थापक हुन् । उनी हरेक वर्ष चितवनमा फरक शैलीको साहित्यिक कार्यक्रम गरेर देश विदेशका साहित्यकारहरूका कुरा सुन्छन् भने वर्षभरि नै युवासँग जोडिएर साहित्यमा नयाँ पुस्तालाई प्रेरणा दिइरहन्छन् ।
२०४४ सालदेखि बीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरबाट शिक्षण सेवा सुरु गरेका क्षेत्री त्यही कलेजका प्रमुखसम्म बने । शिक्षणसँगै साहित्यमा रुचि बढाएका एलबी शिक्षण पेसाबाट निवृत्तपछि नै पूर्ण रूपमा साहित्यसेवी बनेका हुन् । उनले एक लाख २५ हजार रुपैयाँ राशीको नेपालकै ठूलो आख्यान पुरस्कारको स्थापना गरेर निकै ठूलो चर्चा बटुलेका छन् ।






















