देश/प्रदेश

काज फिर्ता हुन अटेर गर्नेको हाजिरी कटौती

Banner

काठमाडौँ, साउन ८–

ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको अभाव भएपछि दरबन्दीभन्दा फरक ठाउँमा कामकाज गर्दै आएका स्वास्थ्यकर्मीलाई धमाधम फिर्ता पठाउन थालिएको छ । स्वास्थ्यमा नेतृत्व सम्हालेर बसेका तथा पहुँचका आधारमा केन्द्रमा बसिरहेका स्वास्थ्यकर्मीलाई यस पटक स्वास्थ्य मन्त्रालयले कुनै पनि बहानामा छुट दिन नसकिने भन्दै दरबन्दी भएकै स्वास्थ्य संस्थामा काज फिर्ता गरेको हो ।

आइतबार मात्र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा काजमा रहेका सात जना कर्मचारीको मन्त्रालय प्रशासनले हाजिर काटिदिएको छ । उनीहरूले सोमबारदेखि मन्त्रालयमा हाजिर गर्न पाउने छैनन् । ती कर्मचारी पनि आफ्नो दरबन्दी भएकै स्थानमा जानुपर्ने छ ।

अन्यत्र दरबन्दी भई वीर अस्पतालमा ९१ जना स्वास्थ्यकर्मी कार्यरत छन् । अस्पताल प्रशासनले उनीहरूको हाजिरी काटिदिएको छ । साउन १ गते उनीहरूको हाजिर काटिदिएकोमा कार्यसम्पादन मूल्याङ्कन फाराम भर्नका लागि भन्दै साउन २ गतेबाट हाजिर गर्न दिइएको थियो । उनीहरूमध्ये ७१ जनाको हाजिरी आइतबारबाट पुनः काटिएको छ । कार्यसम्पादन मूल्याङ्कन फाराम भर्नुपर्ने भएकाले उनीहरूलाई एक साता हाजिर गर्न दिइएको हो भन्दै डा बस्नेतले भने, “आइतबारदेखि अन्यत्र दरबन्दी भएका कर्मचारीलाई रमाना दिइसकिएको छ ।”

मन्त्रालयका सचिव डा रोशन पोखरेलले पहुँचको भरमा दरबन्दीभन्दा फरक स्थानमा कामकाज गरिरहेका कर्मचारीलाई दरबन्दी भएको स्थानमा रमाना दिएर पठाउन थालिएको जानकारी दिए । दरबन्दी अन्यत्र भएका कुनै पनि कर्मचारीले कुनै पनि बहानामा काजमा बस्न नपाउने भन्दै उनले हाजिर नै गर्न नपाएपछि ती कर्मचारीले दरबन्दी भएको स्थानमा जानैपर्ने बाध्यता रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>