देश/प्रदेश
जग्गाधनीलाई लछारपछार गर्दै निजी जग्गामा मेयर हर्क साम्पाङले गरे वृक्षरोपण

धरान, साउन ७-
धरानका मेयर हर्क साम्पाङले सर्दु जलाधार क्षेत्रको जग्गा भन्दै व्यक्तिले भोगचलन गरिरहेको जग्गामा वृक्षरोपण गराएका छन् ।
शनिबार अचानक साम्पाङ नगर प्रहरीसहित हजारौँको जनसमूह लिएर त्यहाँ वृक्षरोपणका लागि पुगेपछि अवरोध गर्ने जग्गाधनीलाई लछारपछार गरेर वृक्षरोपण गराएका हुन् । उनले जग्गाधनीलाई प्रहरीले लछारपछार गर्दै वृक्षरोपण गराएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
मेयर साम्पाङले वृक्षारोपण गराएको जग्गा धरान ४ छोटी मोरङ भन्ने स्थानमा पर्छ । जग्गाको भोगचलन भने स्थानीय रोशन अधिकारीले गरिरहेका छन् । उनको नाममा जग्गाधनी पुर्जासमेत छ । अधिकारी पर्यटन व्यवसायी हुन् । उनले सो जग्गाबाट प्याराग्लाइडिङ उडान गराउने गरेका छन् । अधिकारीले त्यहाँ पक्की घरसमेत बनाएका छन् ।
निजी जग्गामा जबरस्ती वृक्षारोपण गरेपछि मेयर साम्पाङले सामाजिक सञ्जालमा आफ्नै शैलीमा ध्वाँस दिँदै लेखेका छन्, ‘बिरुवा रोपेको उखेलिए डोजर चल्ने छ । अनेक पारीको मुद्दा लाग्नेछ र पुरै पब्लिक उठाएर माफिया विरुद्ध जाइलाग्ने छौ । चुप लागेर बस है ।’
त्यसपछि पनि उनले अर्को स्ट्याटस लेखेका छन्, ‘चुपो लागेर बस अन्यथा अझ निर्मम कदम चाल्नेछु । देश र जनता ! सत्य, न्याय र समानताभन्दा अरू मैले केही सोचेको छैन ! जय देश ।’
धरान नगरपालिकाका पूर्व वडाअध्यक्षसमेत रहेका अधिकारीको नाममा रहेको र भोगचलन गरिरहेको जग्गाका विषयमा परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । धरान ४ छोटी मोरङमा रहेको ४२ बिघा जग्गा सर्दु जलधारा क्षेत्रको जग्गा भएको भन्दै २०७१ साल चैत्र १७ गते सर्वोच्चमा मुद्दा दायर भएको थियो ।
जनसरोकार मञ्च धरानको नेतृत्वमा ईन्द्रबहादुर राई, ज्ञानबहादुर राई, गङ्गालक्ष्मी राई, शुभ राई, श्यामकुमार राईले धरान नगरपालिका कार्यालय, जिल्ला विकास समिति, जिल्लमा मालपोत कार्यालय सुनसरी विष्णु पादुका गाविस लगायतलाई विपक्षी बनाउँदै रिट दायर भएको थियो ।
छोटी मोरङको ४२ बिगाहा जग्गाको पनि सट्टाभर्ना वितरण गरेको प्रमाणसहित जनसरोकार मञ्च लगायत वादीहरूले नेपालको मुलुकी ऐन अदालती बन्दोबस्ती १० नम्बर बमोजिम सार्वजनिक सरोकारको विषय भन्दै तत्कालीन पुनरावेदन अदालत विराटनगर हुँदै रिट निवेदन सर्वोच्च अदालत पुगेको थियो । सोही मुद्दाको २०७९ साल २४ गते सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलासले सो मुद्दा पूर्ण इजलासमा पेस गर्न आदेश दिएको थियो ।
सर्दु जलधारा क्षेत्रको १३२ विघा जग्गाका स्थानीय बासिन्दाहरूलाई सट्टा भर्ना दिइएको थियो । सट्टा भर्ना पाएको प्रमाणसहित अदालत गएपछि धरान सरोकार मञ्चको पक्षमा सर्वोच्चले फैसला गरेको थियो । तर विगतमा हाल धरान ४ छोटी मोरङ डाँडा र आसपासमा पर्ने ४२ बिगाहा जग्गाको मुआब्जा दिएको प्रमाण पेस नभएको भन्दै व्यक्तिको हकभोग लाग्ने गरी सर्वोच्च अदालतले २ वटा मुद्दाको फैसला गरेको थियो । साथै, फैसलाको बारेमा पुनरावलोकन गर्न दिइएको निवेदनमा सर्वोच्चले नै निस्सा पनि दिएको थिएन ।
सर्वोच्चले पुनरावलोकन गर्न दिएको निवेदनमा समेत सर्वोच्चले निस्सा नदिएपछि जग्गाधनीहरूले सो जग्गाको बेचविखन समेत गर्दै आएका थिए । अधिकारीले २०७२ सालमा श्रीमती रोजिना अधिकारीको नाममा ३ कट्ठा ५ धुर जग्गा जग्गा किनेको बताए । उनका दाजु मथुरा अधिकारीको नाममा २ कट्ठा जग्गा रहेको छ । उनले हेम चन्दा घिमिरेसँग सो जग्गा किनेका हुन् ।






















