Breaking News
एमाले संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले भनेः पार्टी सदस्य घटेको छैन, १० लाख पुर्याउँछौं

काठमाडौं, साउन ४-
नेकपा (एमालेले) महाधिवेशनदेखि महाधिवेशनमा मात्रै सदस्यहरूको सदस्यता नविकरण गर्दा बढेको देखिने भन्दै सदस्यता नघटेको बताएको छ ।
पार्टी संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले आज जारी गरेको विज्ञप्तिमा महाधिवेशनमा निस्क्रिय सदस्यहरूले पनि नविकरण गर्न पाउने हुँदा सदस्यता बढ्ने गरेको जनाइएको हो ।
‘नेतृत्वका आकांक्षीहरूबाट कतिपय अवस्थामा अन्य भोटर सदस्यहरूको शुल्क तिरिने, दबाब दिएर कमिटीमा निर्णय गराइने जस्ता अनियमित कामहरूका कारण अनुचित ढंगले पनि संख्या बढ्न पुग्थ्यो,’ विभाग प्रमुख काशीनाथ अधिकारीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेकपा (एमाले) को इतिहासमा यसपटक त्यसमा क्रमभङ्ग गरिएको छ । महाधिवेशनको आयोजना नभएको समयमा सक्रिय सदस्यहरूको यथार्थ संख्या लिन खोजिएको छ । योग्यतम् सदस्यहरूको मात्र नविकरण गर्ने काम भएको छ ।’
दसौं महाधिवेशनका बेला रहेको त्रुटिलाई पनि सच्याउन खोज्दा सदस्य संख्या घटेको देखिएको एमालेको दाबी छ । ‘त्यतिबेला कायम भएका सदस्यहरूमा एकातिर एकीकृत समाजवादीतर्फ गएका सबै सदस्यहरूको नाम यथावत् कायम थियो भने अर्कोतिर नेकपा कालमा अनुचित ढंगले दिइएका सदस्यहरूको ठूलो संख्या पनि त्यसमा पर्न गएको थियो । तसर्थ, त्यो नेकपा (एमाले)को वास्तविक सदस्य संख्या थिएन । यो कुरा नवौं महाधिवेशनको आँकडा हेर्दा पनि स्पष्ट हुन्छ,’ एमालेले भनेको छ ।
२०७१ जेठमा सम्पन्न भएको नवौं महाधिवेशनमा २ लाख ५६ हजार ७७२ जना मात्रै पार्टी सदस्य रहेको एमालेले बताएको छ । यसकारण नेकपा (एमाले)का सदस्य घटे भन्ने बजार हल्लामा कुनै सत्यता नरहेको एमालेले बताएको छ।
‘सच्चा पार्टी सदस्यहरूको अभिलेख अद्यावधिक गर्नेक्रममा यसपटक नविकरण मात्रै भएको छैन, उल्लेख्य संख्यामा नयाँ कमरेडहरू सदस्यताको प्रक्रियामा आएका पनि छन् । पार्टीको मिसन ५१ प्रतिशतका सन्दर्भमा प्रत्येक वडामा मतदाता संख्याको कम्तिमा तीन प्रतिशत सदस्य पुर्याउँने र पार्टीको एघारौं महाधिवेशनसम्ममा दस लाख गुणस्तरीय सदस्य पुर्याउँने लक्ष्यका प्रति पार्टी संकल्पका साथ लागिरहने छ,’ विज्ञप्तिमा भनिएको छ ।


फाइल फोटो






















