चितवन विशेष
भूतप्रेत भगाउन नारायणगढमा मनाइयो गठेमंगल जात्रा

चितवन, असार ३१-
दुष्ट आत्मा र भूतप्रेत भगाउन भन्दै नारायणगढमा गठेमंगल जात्रा मनाइएको छ ।
नारायणगढका नेवार समुदायको संस्था नेवाः पुचले शनिबार साँझ सो जात्रा गरेको हो ।
वर्षभरिका चर्तुदशीहरूमध्ये गठेमंगल चतुर्दशीको महत्व निकै फरक अनि व्यवहारिक भएको र कला, संस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्य अनुरुप गठेमंगल जात्रालाई निरन्तरता दिइएको कुरा जात्रा संयोजक दीपक श्रेष्ठले जानकारी दिए ।
दुष्ट आत्मा र भूतप्रेत भगाउन भन्दै घर सरसफाइ गरी राक्षसी स्वरूपको घण्टाकर्ण दहन गर्ने चलन छ । ठड्याइएको नर्कटबाट बनाइएको गठेमंगल घाम अस्ताएपछि छ्वाली बालेर परिक्रमा गरेर ढालेपछि नदीमा लगेर बिसर्जन गर्ने परम्परा छ । धान रोपी सकिएपछि घरभित्रका दूषित किटाणु भगाउन धुप बालेर धुँवा पठाउने गरिन्छ । जसबाट किटाणु भाग्ने जनविश्वास छ ।
यस्तै घरको ढोकामा भूतप्रेत र अरु डरत्रासबाट जोगिन भन्दै फलामको तीनखुट्टे ओदान पनि गाड्ने गरिन्छ, । विभिन्न ग्रह तथा भूतप्रेतबाट बच्न भन्दै फलामको औंठी लाउने चलन पनि रहेको छ ।























