चितवन विशेष

चितवनका कांग्रेस नेता कोइराला उपन्यासकारको रुपमा उदाए, ‘राज्व्यूह’ सार्वजनिक

Banner

चितवन, असार २३-

चितवन कांग्रेसका  नेता कैलाश कोइराला उपन्यासकारको रुपमा उदाएका छन् ।

कोइरालाको उपन्यास ‘राजव्यूह’ को आज भरतपुरमा सार्वजनिक भएपछि उनले उपन्यासकारको रुपमा बेग्लै पहिचान बनाएका हुन् । आमा पार्वती कोइरालासहित कांग्रेस नेता ईन्द्र बानियाँ, मदन पुरस्कार विजेता साहित्यकार नवराज लम्साल, प्रदेश सांसद उत्तम जोशी, डाक्टर भोजराज अधिकारी, अग्रज कांग्रेस नेताहरु कृष्णलाल सापकोटा, टेकबहादुर गुरुङ, विकास कोइराला र समालोचक उदय अधिकारीले संयुक्तरुपमा पुस्तक विमोचन गरेका हुन् ।

विद्यार्थी जीवनदेखि कांग्रेस राजनीतिमा उदाएका कोइराला लेखकका रूपमा प्रस्तुत भएका छन् । राजव्यूहमा नेपाली राजनीतिमा हुने चलखेल, लेनदेन र प्रेमलाई कोइरालाले आख्यानीकरण गरेका छन् । कविता लेखनमा पनि विशेष रुचि राख्ने कोइराला एकैपटक उपन्यास लिएर बजारमा आएका छन् । आफ्नी श्रीमती आरती कोइराला प्रकाशक रहेको यो उपन्यास कोइरालाको पहिलो कृति हो जसमा १६८ पृष्ठ रहेको छ ।

चितवन राजनीतिकरुपले चर्चामा रहने जिल्ला हो । सबैभन्दा बढी बलिदानी दिने जिल्लामा पनि चितवन पर्दछ । तर, यसको इतिहास महसुस हुने गरेर कतै लेखिएको पाइँदैन । कोइराला भन्छन्, ‘त्यही कारणले पनि चितवन जिल्लाको राजनीतिक विषयवस्तुलाई समेटेर उपन्यास लेख्ने जाँगर ममा पलाएको हो । यो एउटा समाजको कथा हो भने कथा मेरो पनि हो ।’

कोइरालाका अनुसार उनले देखेको, भोगेको कथालाई किताबमा लेखेका छन् । ‘मलाई जे लाग्यो त्यही नै सही भन्ने हुँदैन । मैले भोगेको र सोचेको विषयवस्तुसँग तपाईंले भोगेको र सोचेको नमिल्न सक्छ । विविधता छ र त संसार रमाइलो छ । राजनीतिसहितको विविधतायुक्त समाजमा देखिने भावना र विचारलाई मैले किताबमा उतारेको छु’, कोइरालाले भने ।

मनहरि कोइरालाका छोरा र विकास कोइरालाको दाइ कैलाश कोइरालाको परिवारनै कांग्रेस राजनीतिमा समर्पित रहेको छ । २०५० सालमा वीरेन्द्र क्याम्पस पढ्दा विद्यार्थी राजनीति सुरु गरेका कोइरालाले त्यसपछि नेपाली कांग्रेसमा आवद्ध रहेर काम गरेका छन् । कांग्रेसको जिल्ला पूर्वउपसभापति समेत रहेका कोइराला युवापुस्तामाझ लोकप्रिय नेताका रूपमा ख्याति बनाएका छन् । उनी १४ औं महाधिवेशनमा कांग्रेस चितवनका सभापति पदका दाबेदार समेत रहेका थिए । सम्पूर्ण किताब नारायणगढले बितरणको जिम्मा पाएको यस उपन्यास आकर्षक गातासहितको विशेष मूल्य १००० छ भने नियमित संस्करणको मूल्य ५०० रुपैयाँ रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>