Breaking News

लगानीको वातावरण नबन्दा चितवनका उद्योगहरु समस्यामा, उद्योगीहरु पलायन हुँदै

Banner

मधुसूदन दवाडी

चितवन, असार १६-

व्यवसायिक लगानीको बातावरण बन्न नसक्दा चितवनका उद्योगहरु समस्यामा परेका छन् ।

बढ्दो बैँकको ब्याजदर नघट्दा र बजार चलायमान हुन नसक्दा उद्योगहरु समस्यामा परेका हुन् ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले संघसँग एकीन तथ्यांक नभए पनि ठूला र घरेलु उद्योग गरेर धेरैवटा उद्योगहरु बन्द भएको सूचना आइरहेको बताए । उनले भने, ‘ चितवनका उद्योगहरु ३५ प्रतिशतको अनुपातमा सञ्चालित छन् । बजारमा बस्तुको खपत कम छ । चहलपहल र नागरिकको क्रयशक्ति कम भएकोले उत्पादन घटेको छ ।’ उनले बढ्दो महंगी र कच्चा पदार्थको कारणले पोल्ट्रीसँग सम्बन्धित चितवनका उद्योगहरु संकटमा परेको बताए । उनले भने, ‘ मौद्रिक नीति केही राम्रो आउने आशाबादी बन्न सकिन्छ । केही आशावादी बन्ने ठाउँ भए पनि चितवनको होटल, प्लास्टिक, पर्यटन सबैतिर निराशा नै छ ।’ उनले निर्माण सामग्रीको उत्पादन गर्ने उद्योगहरु ब्लक, रिङका उद्योगहरु पनि समस्यामा परेको बताए ।

सरकारले बनाएको नीतिहरुको सही ढंगबाट कार्यान्वयन नहुदा पनि उद्योगीहरु समस्यामा पर्दे गएका छन् । चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले सरकारले नीतिगत सुधार गरेको बताए पनि त्यसको कार्यान्वयन नहुदा उद्योगीहरु समस्यामा परेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ सरकारको विकास बजेट खर्च हुन सकेको छैन । बजार चलायमान छैन । मानिसको क्रय शक्ति बढ्न सकेको छैन । जसबाट औद्योगिक उत्पादनको खपत पनि घट्न गएको छ ।’ कँडेलले मौद्रिक नीतिका कारण बैँकको ब्याजदर घट्न नसक्दा पनि उद्योगीहरु समस्यामा परेका छन् । उनले भने, ‘ बैँकहरुले उद्योगीहरुबाट पाकेको ब्याज खाए । अब लगानी गर्ने पैसा छैन । ’ कँडेलले पोल्ट्री क्षेत्रको ५० प्रतिशत उद्योगीहरु पलायन हुँदै गएको बताए । स्वरोजगारको लागि कुखुरा पाल्नेहरु सबैभन्दा धेरै बिस्थापित भएको उनले जानकारी दिए ।

चितवनमा पोल्ट्री मात्र नभएर अन्य उत्पादन क्षेत्रका र सेवा क्षेत्रका उद्योगहरुको अवस्था पनि त्यस्तै छ । पर्यटन, मेडिकल र अन्य उद्योगहरुमा कतै पनि उत्साह रहेको छैन । चितवन उद्योग संघका अध्यक्ष कँडेलले भने, ‘विभिन्न दाना र खाद्य उत्पादनका उद्योगहरुको पनि ५० प्रतिशत मात्र सञ्चालनमा आएका छन् । १८ घण्टा चल्ने उद्योगको उत्पादन ६ घण्टामा झरेको छ । ’

उद्योगीहरुको पलायनकै कारणले अहिले चितवनमा कुखुराको मासुको उत्पादन घट्दै गएको छ । पोल्ट्री व्यवसायी मञ्चका अनुसार चितवनमा रहेका झण्डै ४०० वटा ह्याचरी अहिले १०० वटामा झरेका छन् । रोजगारीको लागि साना तिना व्यवसायको रुपमा कुखुरा पालन गर्नेहरुको संख्या त झनै गिरावट आएको मञ्चले जनाएको छ । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले कुखुरा पाल्ने किसान सकिँदै गएको भनेर चिन्ता व्यक्त गरे । उनले भने, ‘ बजारमा बढेको दानाको मूल्य, लगानी गर्ने पैसाको अभाव र बैँकको बढ्दो ब्याजदरले व्यवसायीहरु पलायन हुँदै गइरहेका छन् ।’ उनले आफूहरुले प्रधानमन्त्री ,अर्थमन्त्री सबैलाई भेटेर समस्याको बारेमा अवगत गराउँदा पनि समस्याको समाधान हुन नसकेको बताए ।

रत्ननगरमा एक अर्ब लगानी गरेर हावर्ड औषधि कम्पनी खोल्ने तयारी गरेका डा पोष्टराज पाखरेलले कोरोना सुरु भएसँगै सो प्रक्रिया तत्कालै स्थगित गरे । उनले अझै त्यो काम तत्काल सुरु गर्न सकेका छैनन् । उनी देशमा अझै लगानीको बताबरण बन्न नसकेको बताउँछन् । उनले भने, ‘ देशको आधा जनसंख्या बाहिर गएकोले हरेक वस्तुको माग घट्दै गयो । सरकारले पनि उद्योगहरुलाई प्राथमिकतामा राख्न सकेन । अनुत्पादक क्षेत्रको लगानी रोकेर आयात प्रतिस्थापन गर्ने उद्योगहरुलाई प्राथमिकता राखेर अनुदान तथा सफ्ट लोनको व्यवस्था गर्नुपर्छ । स्थानीय सरकारले पनि उत्पादनमूलक क्षेत्रको प्रवद्र्धनमा ध्यान दिनुपर्छ ।’उद्योगहरु समस्यामा परेर बन्द हुँदै गएमा रोजगारीको अवसरहरु झनै गुम्दै जाने सम्भावना रहन्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>