चितवन विशेष
आज राष्ट्रिय धान दिवस मनाइदै, चितवन आए शिर्ष नेता

चितवन, असार १५–
आज असार १५ गते अर्थात् राष्ट्रिय धान दिवस । आज दहि चिउरा खाने दिन पनि हो । राष्ट्रिय धान दिवस मनाउन शिर्ष नेताहरु चितवन आएका छन् । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हुँदै छ ।
धान दिवस मनाउन नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व उपप्रधानमन्त्री रवि लामिछाने चितवन आएका छन् । उनीहरु आज भरतपुरका विभिन्न स्थानमा आयोजित रोपाई कार्यक्रममा सहभागी हुँदै छन् । वैशाख १७ गते माडीमा आयोजित रोपाई कार्यक्रममा सहभागी हुन नेकपा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ पनि आउने कार्यक्रम रहेको छ ।
भरतपुर महानगरपालिकाको आयोजना र कृषि ज्ञान केन्द्र र त्रिपुरेश्वर कृषि सहकारीको समन्वयमा धान दिवस तथा रोपाई महोत्सव मनाउने तयारी भएको छ । उक्त कार्यक्रममा नगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीलगायत विभिन्न विद्यालयका विद्यार्थीहरु पनि सहभागी हुँदै छन् ।
आज असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै महोत्सवसको रुपमा धान रोप्ने चलन छ । नेपालमा २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।
धान नेपालको प्रमुख खाद्यान्न बाली र खाद्य सुरक्षाको प्रमुख आधार रहेको बाली विकास तथा कृषिजन्य विविधता संरक्षण केन्द्रले जनाएको छ । आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिकलगायतको महत्त्व रहेको धानबालीलाई एउटा बालीका रूपमा मात्र नभई औसत नेपालीको जीवन पद्धतिका रूपमा हेरिने गरिएको छ । धानको यिनै विविध महत्त्वलाई दृष्टिगत गरी उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायिकीकरण गर्न दिवस बनाउन लागिएको कृषि विभागले जनाएको छ ।
जलवायु परिवर्तनका कारण धानखेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिको प्रचार–प्रसार गरी अवलम्बन गर्न यस्ता दिवस र महोत्सव सहायकसिद्ध हुने मन्त्रालयको विश्वास छ ।
नेपालमा धानखेतीका लागि तराई र भित्री मधेस तथा पहाडका फाँटलाई उर्वरभूमि मानिन्छ । पछिल्लो समय उन्नत जातको धानखेतीका लागि सरकारले कृषकलाई प्रोत्साहन गरेको छ भने रैथाने पुराना बीउ प्रवर्द्धनमा पनि जोड दिँदै आएको छ ।
दहीच्युराको संस्कृति
कृषिसहित सबै पेशा व्यवसायमा लागेका नेपालीहरुले आज दहीच्यूरा खाई असार १५ मनाउँछन् । औपचारिकरूपमा सरकारले निर्णय गरेर राष्ट्रिय धान दिवस घोषणा गर्नु अघिदेखि नै नेपालमा असार १५ गते दहीच्युरा खाने चलन चल्दै आएको थियो ।
कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् । दही च्यूराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ ।
























