Breaking News
स्वास्थ्य मन्त्री जोशीको निर्देशनमा भरतपुर अस्पतालमा पुग्यो रेविजविरुद्धको सुई

चितवन, असार १३–
गत असार ६ गते भरतपुर अस्पतालको सामाजिक संजाल फेसबुक मार्फत एउटा पोष्ट आयो । त्यसमा लेखिएको थियो ‘एन्टी रेविज भ्याक्सिन (एआरभी) सुई विगत हप्तादेखि सप्लाईमा आएको छैन र अझै एक साता आउने जस्तो देखिदैन, त्यसैले अस्पताल आफैले किनेर उपलब्ध गराइ राखेको छ ।’
यो पोष्टले अति महत्वपूर्ण भ्याक्सिन सकिनै लागेको तर आउने संभावना निकै कम रहेको देखिदा पनि कसैको चासो भएन । अस्पताल प्रशासन सप्लाई गराउन निकै कसरत गरे पनि कुनै जोड चलने । अन्ततः अस्पतालले सोही फेसबुक पेज मार्फत नै मंगलबार पुनः सबै सुई सकिएको र उपचार गर्न असमर्थ रहेको घोषणा गर्यो । यो खबर सुन्नासाथ बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीलाई निकै गम्भिर बनायो । लगत्तै उनले प्रदेश स्तरबाट तत्कालै ३ सय भायल भ्याक्सिन (सुई) उपलब्ध गरायो । प्रदेशबाट भ्याक्सिन उपलब्ध भए पछि रोकिएको सेवा पुनः सुचारु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्णप्रसाद पौडेलका अनुसार गत जेठ १७ गतेदेखि नै रेविजविरुद्धको भ्याक्सिन आएको छैन । अस्पताल आफैले थोक विक्रेतासंग किनेर वितरण गर्दै आएको थियो । पछिल्लो समय थोक विक्रेतामा समेत भ्याक्सिन अभाव भएपछि अस्पताल भ्याक्सिन बिहिनको अवस्थामा पुगेको थियो ।
भरतपुर अस्पतालमा दैनिकजसो एक सय जना एआरभी सुई लगाउन अस्पताल आउने गरेका छन् । अस्पतालले प्रदेशबाट आएको ३०० सय सुई मौज्दात रहेसम्म मात्रै सेवा दिन सकिने जनाएको छ ।
स्वास्थ्यमन्त्री उत्तम जोशीका स्वकीय सचिव मनोज आचार्यले अस्पतालको समस्या थाहा पाउने वित्तिकै मन्त्री जोशीले रेस्पोन्स गरेर समस्या समाधान गर्न तर्फ लागेकाले ३०० सुई उपलब्ध गराइएको बताए । उनका अनुसार मन्त्री जोशी अस्पतालमा देखिने समस्या तत्काल समाधान गर्न लागि पर्ने गरेका छन् ।
























