चितवन विशेष

महानगरले भरतपुरको हाकिमचोक, शहीदचोक र मालपोत चोकमा आकाशे पुल बनाउने

Banner

चितवन, असार १०-

भरतपुर महानगरपालिकाले शहरको तीन ठाउँमा आकाशे पुल बनाउने भएको छ ।

१३ औं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा महानगरले भरतपुरको हाकिमचोक, शहीदचोक र मालपोत चोकमा आकाशे पुल बनाउने जनाएको हो ।
संघ र प्रदेश सरकारको सहयोग र सहकार्यमा ती व्यस्त चोकहरुमा आकाशे पुल निर्माण गर्ने महानगरपालिकाले योजना बनाएको छ । यसबाट शहरको सुन्दरता बढ्नुका साथै सडक दुर्घटना पनि कम हुने जनाइएको छ ।

महानगरपालिकाकाले मुख्य सहरी क्षेत्रमा कालोपत्रे निर्माणसँगै ढल निर्माण गर्ने नीति महानगरले लिएको हो । एकीकृत सहरी विकास गुरुयोजना तयार गरी व्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधार निर्माणमा प्राथमिकता दिएको छ ।

महानगरकी मेयर रेनु दाहालले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भरतपुर महानगरपालिकालाई समृद्ध, स्वच्छ, सफा, हरियाली युक्त र सुरक्षित महानगरका रुपमा विकास गर्न एकीकृत सहरी विकास गुरु योजना तयार गरी व्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधारहरू निर्माणमा प्राथमिकता दिइनेछ ।

संघीय सरकारको लगानीमा भरतपुर महानगरको मुख्य सहरी क्षेत्रमा प्रशोधनसहितको ढल निकासका लागि खानेपानी तथा ढल व्यवस्थापन सम्बन्धी मेगा आयोजना यसै आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याईने प्रमुख दाहालले बताइन् । खाल्टाखुल्टी मुक्त महानगरको अभियानलाई निरन्तरता दिई महानगरपालिकामा निर्मित पूर्वाधारहरूको साना मर्मत सम्भार कार्यहरू तत्काल कार्यान्वयन गर्न पूर्वाधार एम्बुलेन्ससहितको प्राविधिक टिम बनाई परिचालन गरिनेछ ।

महानगरभित्र आवश्यक स्थानमा स्मार्ट सार्वजनिक शौचालयहरू निर्माण कार्यलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । संघीय सरकारको सहयोगमा नारायणगढ पुलचोकस्थित नारायणी नदीमा सिग्नेचर पुल समयमा निर्माण सम्पन्न गर्न आवश्यक समन्वय गरिनेछ । साथै भरतपुरलाई कावासोतीसँग जोड्न वडा नं. २६ को घोसरघाटस्थित नारायणी नदीमा र माडीसँग जोड्न वडा नं. २४ को ध्रुवघाटस्थित राप्ती नदीमा सडक पुल निर्माणका लागि संघीय सरकारसँग आवश्यक समन्वय गरिनेछ ।

मुख्य सहरी क्षेत्रको पार्किङ व्यवस्थित बनाउन निजीक्षेत्रसँगको सहकार्यमा सशुल्क स्मार्ट पार्किङ व्यवस्थापनलाई अगाडि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ । सडकमा अनुचित ढंगबाट राखिएका निर्माण सामग्रीका कारण आवागमनमा अवरोध गर्ने र दुर्घटना हुने, महानगरपालिकाबाट निर्माण भएका सडक, फुटपाथ बिग्रने भएको हुँदा त्यस्तो गर्ने व्यक्ति तथा निर्माण व्यवसायीलाई कारबाहीको दायरामा ल्याइनेछ । जरिवाना र मर्मत खर्च यकिन गरी सम्बन्धित पक्षबाट असुल उपर गर्ने नीति कडाइका साथ कार्यान्वयनमा ल्याइने ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ । ।

देशकै गौरवको आयोजनाका रूपमा रहेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला संघ र प्रदेश सरकारसँग समन्वय गरी निर्माण कार्य अगाडि बढाइने जनाइएको छ । संघ र प्रदेश सरकारसँगको समन्वय र सहकार्यमा भरतपुर महानगरपालिकाको वडा नं. १५ मा संघीय शिक्षक अस्पताल र वडा नं. १४ मा प्रादेशिक आयुर्वेद अस्पताल आर्थिक वर्ष २०८०\८१ मा निर्माण कार्य प्रारम्भ गरिने भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>