चितवन विशेष

माडीको राममन्दिरमा दर्शन गर्न आउने भक्तजन बढे

Banner

माडी,असार ५-

चितवनको माडीस्थित अयोध्यापुरीमा निर्माण गरिएको राम सीताको मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको संख्या बढ्दै गएको छ । मन्दिरमा नेपालका विभिन्न जिल्ला र भारतबाट समेत भक्तजनहरु आउने गरेका छन् । मन्दिरका पुजारी बुद्धी कुइँकेलले मन्दिरमा दर्शन गर्नका लागि दैनिक दैनिक चार/पाँच सय भक्तजान आउने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार शनिवार र शुक्रबार मन्दिर दर्शन र घुम्न आउनेहरुको संख्या अझै धेरै हुन्छ । उहाँले राम मन्दिरको प्रचार प्रसार भएको भन्दै यसलाई धाम निर्माणका लागि आवश्यक संरचनाहरु निर्माण गर्दै लैजानुपर्ने बताउनुभयो ।

तत्कालिन प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रामको जन्म भारतमा नभएर नेपालमा भएको मन्तव्य दिएपछि चितवनको माडीस्थित अयोध्यापुरीको चर्चा चुलिएको थियो । अध्यक्ष ओली प्रधानमन्त्री भएकै समयमा चितवनको माडीमा रामधाम निर्माण गर्ने योजना अघि बढेको थियो । उहाँकै पहलमा काठमाण्डौबाट भगवान राम, सीता तथा लक्ष्मण र हनुमानको मुर्ति ल्याएर यहाँ स्थापना गरिएको हो ।

चितवनको खैरहनी नगरपालिका २ चैनपुरबाट आउनुभएकी चन्द्रमाया श्रेष्ठ राम मन्दिर दर्शनकै लागि पहिलोपटक माडी आएको बताउनुभयो । ‘संचारमाध्याम र सामाजिक संजालबाट राममन्दिरका बारेमा जानकारी पाएका हौं,उहाँले भन्नुभयो,‘नेपालकै राम सीताको मन्दिरको दर्शन गर्न पाउँदा खुसी छौं ।’ खैरहनीका कृष्ण बहादुर श्रेष्ठ राममन्दिर बारे पछिल्लो पटक चर्चामा आएपछि मात्र थाहा भएको बताउनुभयो । ‘यहाँ अझै धेरै पूर्वाधार निर्माण गर्न आवश्यक रहेछ,उहाँले भन्नुभयो,यसलाई देश र विदेशमा समेत प्रचार गरेर धार्मिक पर्यटक नेपाल भित्राउनुपर्छ ।’ उहाँले माडीका एतिहाँसिक संरचनाहरु हेर्दा भगवान राम सीतासंग जोडिएका धेरै प्रमाणहरु फेला पर्ने बताउनुभयो ।

सदरमकाम भरतपुरदेखि झण्डै ४५ किलो मिटर दक्षिण पश्चिम अयोध्यापुरीको कृष्णनगर बगैंचामा रामधाम बनाउन सय विघा जग्गा समेत उपलब्ध भइसकेको छ । नगरपालिकाले मन्दिर संगै जग्गा संरक्षणको काम गरिरहेको माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतोले बताउनुभयो । नगरपालिकाले मन्दिरमा हवन स्थल,तिर्थालु बस्ने स्थानको निर्माण गरेको छ । उहाँले नगरपालिका संग अन्तरिक स्रोत धेरै नभएको भन्दै रामधाम निर्माणका लागि संघ र प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताउनुहुन्छ । उहाँले धाम निर्माणका लागि जग्गा प्रयाप्त भएपनि बजेटको भने अभाव रहेको बताउनुभयो ।

माडी नगरपालिका ९ का वडाध्यक्ष घनश्याम पौडेलले मन्दिरमा एक जना पुजारीले नियमित पुजा गर्दै आइरहेको बताउनुभयो । उहाँले माडीमा राम मन्दिर निर्माण पश्चात आफ्नो वडा र समग्र माडीमा पर्यटकको संख्या बढेको बताउनुभयो । उहाँले धामको डिपिआर निर्माण र आवश्यक संरचना निर्माणका लागि बजेटको अभाव रहेको बताउनुभयो । माडीमा पाँच पाण्डब, परशुराम कुण्ड, सोमेश्वर गढी, बैकुण्ठ ताल, सिताराम गुफा लगायतका धार्मिक स्थलहरु रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>