Breaking News

गैँडाकोटबाट पाँच दिनदेखि हराइरहेका इञ्जिनियरिङका विद्यार्थी तिमिल्सिना अझै फेला परेनन्

Banner

चितवन, वैशाख १८–

गैंडाकोटको अक्सफोर्ड कलेजमा सिभिल इन्जिनियरिङ चौथो समेस्टरमा अध्ययनरत डेभिड तिमिल्सेना पाँच दिनदेखि बेपत्ता भएका छन् ।

गैँडाकोट–४ को शान्ति श्री टोलमा रहेको घरबाट कलेज जान भनेर हिँडेका डेभिड गत बिहीबार बिहान ५ बजेदेखि सम्पर्कविहीन भएका हुन् ।

हरेक दिन बिहान ६ बजे कलेज सुरु हुने भएकाले सधै उनी बिहान ५ बजे घरबाट हिँड्थे । त्यो दिन पनि बिहानै हिँडेर राति नफर्किएपछि उनको खोजी सुरु भएको हो । इलाका प्रहरी कार्यालय गैँडाकोटका हवल्दार भीम कार्कीले तिमिल्सिना अझै फेला नपरेको नारायणी अनलाइनलाई जानकारी दिए ।
उनले प्रयोग गर्दै आएको मोबाइल समेत घरमै छोडेर हिँडेकाले खोजीमा समस्या भएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । घरबाट हिँडेपछि सम्पर्कविहीन भएपछि तिमिल्सिनाको परिवारले गत बिहीबार खोजी गरिदिन प्रहरीमा निवेदन दिएको र कुनै पत्तो नलागेको प्रहरीले जनाएको छ ।

२१ वर्षका डेभिड गैंडाकोटको अक्सफोर्ड कलेजमा सिभिल इन्जिनियरिङ चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन् । उनको खोजीका लागि प्रहरी, अध्ययनरत कलेज परिवार, उनका साथीहरु र परिवारहरु निरन्तर लागिरहेका छन् तर पत्ता लागेको छैन । उनका साथी विकल्प पौडेलले घरबाट कलेज हिडेको तर कलेजको सीसीटीभीमा कतै नदेखिएको जानकारी दिए । उनले भने, ‘ डेभिड निकै असल र जेहेन्दार विद्यार्थी हो, कुनै युवती लिएर कतै गएको भन्ने शंकासमेत गर्न सकिँदैन । कसैले अपहरण गरेर लग्यो कि भन्ने हाम्रो आशंका छ ।’ विकल्पले तीन वर्षको हुदा डेभिडको बुबाको निधन भएकोले आमाले निकै संघर्ष गरेर इञ्जिनियरिङ पढाएको बताए । उसको आमा र बहिनी निकै चिन्तामा परेका छन् । डेभिडको फोटो र हुलियाका आधारमा सबैतिर खोजी कार्य सुरु भएको छ तर पत्ता लाग्न नसकेको प्रहरीको दाबी छ । ती विद्यार्थी एकान्त मनपराउने र थोरै साथीसँग संगत गर्ने स्वभावका रहेको कलेजका साथीहरु र प्राध्यापकहरुले जनाएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>