चितवन विशेष

अस्ताए चितवनका गायक तथा संगीतकार अधिकारी

Banner

चितवन, वैशाख १७

नारायणगढ लिलाचोकका गीतकार,संगीतकार तथा गायक उमेश अधिकारीको शनिबार साँझ निधन भएको छ ।

नारायणी कला मन्दिरका पूर्वअध्यक्षसमेत रहेका अधिकारीको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ५२ वर्षकै अल्पायुमा निधन भएका अधिकारीको शव आइतबार देवघाटमा अन्त्येष्टि गरिएको छ ।

अधिकारीले विज्ञानलाल श्रेष्ठको एक गजललाई कम्पोज गर्दा गर्दे बिरामीले थला परे । अन्तत गजल नै पूरा गर्न नपाइँ सबैको माझबाट अस्ताए । अधिकारीले ‘हिड्दाहिड्दै’ एल्बममा ‘नक्कली कान्छीको’ भन्ने गीत गाएका छन् भने ‘माटो चितवनको’ भन्ने गीतमा पनि स्वर दिएका छन् ।चर्चित नेपाली चलचित्र ‘साली कसको भेनाको’ का निर्मातासमेत रहेका अधिकारी नयाँ एल्बम निकाल्ने तयारीमा नै रहेका थिए तर उनको सपना पूरा हुन सकेन । नारायणी कला मन्दिरका पूर्वअध्यक्ष गीतकार विज्ञानलाल श्रेष्ठले उमेश र आफू २०४४ सालदेखि साथी रहेको स्मरण गरे । उनले भने, ‘अहिलेको नारायणी कलामन्दिरमा जेनेरेटर राखेर व्यवस्थित गर्नमा उमेशको योगदान छ । बहुप्रतिभाको धनी उमेशलाई गुमाउँनुपर्दा दुःख लागेको छ ।’

कला मन्दिरका पूर्वअध्यक्ष अमरदेव प्रधानले अधिकारी संगीत र साहित्यमा विशेष चासो राख्ने व्यक्तित्व भएको बताए । उनले भने, ‘ सबैसँग मिलनसार र बाल्यकालदेखिनै कलामा रुचि राख्ने उमेशले कला मन्दिरमा रहेर समाजको लागि महत्वपूर्ण योगदान गरेका छन् ।’

२०२७ साल असार १० गते नारायणगढमा जन्मिएका अधिकारी नेपाली गीतसंगीतसँग निकट रहेर नारायणी कला मन्दिरको अध्यक्ष भएर काम गर्नुका साथै  ब्राम्हण–क्षेत्री गुठी समाजका उपाध्यक्ष पनि थिए । भरतपुर महानगरपालिका–१ का वडा सदस्य तथा चितवनकै अग्रज रेडियो पत्रकार मनोज घिमिरेले अधिकारी चितवनकै राम्रो गायक, संगीतकार तथा गीतकार भएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ उहाँकै पहिलो अन्तरवार्ता मैले सिनर्जी एफएममा गरेको हुँ । सिनर्जी एफएमको कार्यक्रममा पटकपटक पाहुना बनाएर बोलाएको छु । सरल खालको र सबैसँग रमाउने जीवनशैलीको व्यक्तित्व हुनुहुन्थ्यो ।’

अधिकारीको निधनले नारायणी कला मन्दिरले अभिभावक गुमाएको कला मन्दिरले जनाएको छ । स्वर्गीय अधिकारीको दुई छोरी र एक श्रीमती छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>