Breaking News

अयोग्य लडाकूलाई पैसा बाड्न लागेको भन्दै प्रधानमन्त्री प्रचण्डको पुतला दहन

Banner

काठमाडौं, वैशाख १६-

अयोग्य लडाकुलाई अनावश्यक रकम दिन लागिएको भन्दै नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघका नेता–कार्यकर्ताले प्रधानमन्त्रीको पुतला दहन गरेका छन् ।
काठमाडौंको नयाँ बानेश्वरमा आज बिरोध प्रदर्शन गर्दै उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुतला दहन गरेका हुन् ।

अयोग्य लडाकुलाई दुई लाख रुपैयाँका दरले राहत दिने गरी ल्याइएको कार्यविधि तत्काल खारेज गर्न उनीहरूले दबाब दिए । अयोग्य लडाकुका नाममा राजनीतिक अभिष्ट पूरा गर्ने गरी ल्याइएको कार्यविधि तत्काल खारेज नगरे आन्दोलनको आँधीबेहरी सिर्जना गरी सरकारलाई घुँडा टेकाउन बाध्य हुने युवा संघका अध्यक्ष क्षितिज थेबेले चेतावनी दिए ।

‘आम नेपालीहरूको छातीमा बज्रपात गर्दै, देशको ढुकुटी रित्याउँदै, देशको ढुकुटीलाई नीतिगत भ्रष्टाचार गरेर पार्टीलाई अर्बाैँ रकम खन्याउने, लडाकुको नाममा एउटा व्यक्ति पोस्ने, अर्बौँ घोटला गर्ने र आफ्नो घृणित राजनीतिको अभिष्ट पूरा गर्ने योजनाले यो सरकार अगाडि बढेको छ’, उनले भने, ‘यो अयोग्य लडाकुहरूको नाममा अर्बौँ घोटला हुने गरी ल्याइएको कार्यविधि फिर्ता हुँदैन, खारेज हुँदैन, तबसम्म यो सरकारलाई हामीले आज ध्यानाकर्षण गराएका छौँ । हिजो ज्ञापनपत्र बुझाएका थियौँ । यदि, यो कुचेष्टा अगाडि बढाउन खोज्यो भने देशभर आन्दोलनको आँधीबेहरी ल्याएर यो सरकारलाई घुँडा टेकाउन राष्ट्रिय युवा संघ नेपाल जान्दछ ।’

पूर्वप्रधानमन्त्रीको सुरक्षा गर्न नसक्नेले जनताको सुरक्षा गर्न नसक्ने भन्दै उनीहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए । उनीहरूले वर्तमान सरकारले नीतिगत भ्रष्टाचार सुरु गरेको आरोप पनि लगाए । प्रदर्शनमा सहभागीले ‘शान्ति सुरक्षा कायम गर’, ‘भ्रष्टाचार अन्त्य गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए । बानेश्वरको निषेधित क्षेत्रबाट प्रदर्शनकारी अघि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>