कृषि

मकै बालीमा फौजी किराको प्रकोप

Banner

पर्वत,वैशाख १३-

जिल्लामा कृषकले लगाएको मकै बालीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ। मौसमको प्रतिकूलताका कारण यसको प्रकोप बढेको हो । लामो समयको खडेरीका कारण मकैका बोटमा शत्रु जीव ‘अमेरिकन फौजी किरा’ को प्रकोप देखिन थालिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । विभिन्न स्थानमा उक्त किराको लार्भाले मकैको बोटको पात र गुभा खाएको पाइएको छ। ‘फौजी किरा’को प्रकोप फैलिने देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताइन्। विगत वर्षमा मनसुन बढी सक्रिय रहेका कारण किराको प्रभाव नदेखिएको उनको भनाइ छ।

‘यो वर्ष किराले मकैको बोट खान थालेको छ, गर्मी बढेकाले किराको प्रकोप फैलिन सक्ने जोखिम छ’, उने भनिन्, ‘अघिल्लो वर्ष मनसुन बढी सक्रिय भएका कारण यसको प्रकोप थिएन । लामो समयसम्म वर्षा नहुँदा यसको प्रकोप देखिन्छ । घाम लागेर खडेरी परेको बेला यसको प्रकोप बढ्छ ।’

गोरखामा २०७७ सालमा अमेरिकन फौजी किराले मकैको बोट र गुभा खाएर नष्ट गरेको थियो। उक्त जिल्लामा कृषकले ठूलो क्षति व्यहोर्नुपरेको थापाले बताइन्। पछिल्लो समय पर्वतमा यसको जोखिम बढेको छ। कृषि ज्ञान केन्द्रले कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा यतिबेला आईपीएम कृषक पाठशाला सञ्चालन गरिरहेको छ । सोही क्रममा कृषकले प्रत्यक्षरूपमा मकैखेतीमा नै गएर मकैको विकास क्रमलगायतका बारेमा अध्ययन गरिरहेका छन्।

सोही क्रममा गत शुक्रवार ‘फौजी किरा’ले मकैको बोट खाएको देखिएको हो। लगत्तै कुश्मा नगरपालिका–२ खुर्कोटमा पनि ‘फौजी किरा’ले मकैका बोट खाएको पाइएको थियो। फलेवास, विहादी, महाशिला, मोदी र पैयुँका केही वडामा पनि यो किराको प्रभाव देखिन थालेको कृषकले बताएका छन्।

अधिकृत थापाका अनुसार वयस्क किराले मकै वा अन्य बालीको पात र गुभामा अण्डा पार्छ । करिब दुई हप्तासम्म लार्भा अवस्थामा रहने यो किराले सबैभन्दा बढी क्षति नै लार्भा अवस्थामा पुर्‍याउँछ। करिब एक हप्ताको वयस्क अवस्थामा उडेर टाढा–टाढासम्म पुगेर अण्डा पार्ने भएका कारण छोटो समयमा नै यसको प्रकोप फैलिने उनले बताइन्। एक ठाउँमा देखिनु भनेको धेरै ठाउँमा देखिनु भएकाले यदाकदा देखिँदा बित्तिकै यसको प्रकोपको भय हुने थापाले बताइन्।

पर्वतका विभिन्न स्थानीय तहमा रहेका १० समूहले मकैको बीउ उत्पादन गरिरहेका छन्। ती समूहलाई ‘अमेरिकन फौजी किरा’ को प्रकोपबारे केन्द्रले जानकारी गराएको छ। केन्द्रका कृषि प्राविधिक तथा कार्यालयका सूचना अधिकारी विश्वास काफ्लेले किराले रातिको समयमा बढी क्षति गर्ने गरेको बताए।

यसको व्यवस्थापनका लागि खेतबारीमा नियमित अवलोकन गर्ने, बालीको बीच–बीचमा ‘डेस्मोडियम’ घाँस लगाउने, खेतबारीको छेउछाउमा ‘नेपियर’ घाँस लगाई किरा आकर्षण गरी विषादी प्रयोग गरेर एकैपटक मार्नेलगायत उपाय अपनाउन उनले सुझाव दिए। रासस

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>