काठमाडौँ

मेयर बालेनले नभनेसम्म सिंहदरबारको फोहोर उठाउन सक्दैनौंः परिवर्तन नेपालका व्यवस्थापन प्रमुख घिमिरे

Banner

काठमाडौं, वैशाख ८-

परिवर्तन नेपालका व्यवस्थापन प्रमुख मित्र घिमिरेले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नभनेसम्म सिंहदरबारको फोहोर नउठ्ने बताएका छन् । घिमिरेले मेयर बालेनले मौखिक रूपमा निकै कडा निर्देशन दिएका कारण आफूहरूले फोहोर नउठाएको बताएका हुन् ।

महानगरपालिकाले १३ दिन बितिसक्दा पनि राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर उठाएको छैन।

महानगर प्रमुख बालेन शाहको निर्देशनका कारण शुक्रबार पनि सिंहदरबारको फोहोर नउठाएको परिवर्तन नेपालका व्यवस्थापन प्रमुख घिमिरेले जानकारी दिए। ‘मेयर बालेनले नभनेसम्म हामी फोहोर उठाउन सक्दैनौं,’ घिमिरेले भने, ‘फोहोर उठाए लाइसेन्ससमेत खारेज गरिदिन्छु भनेर ठाडो निर्देशन दिनुभएको छ।’

यस्तै सिंहदरबार भित्रका सबै कार्यालयबाट फोहोर उठाएर कम्पाउन्डभित्रै राखिएको छ। महानगरका प्रवक्ता नवीन मानन्धरले सरकारले वार्ता गर्न नबोलाएसम्म सिंहदरबारबाट फोहोर नउठ्ने बताएका छन्।

‘जबसम्म सरकारले वार्ता गर्न बोलाउँदैन हामीले फोहोर उठाउने काम रोक्छौं,’ उनले भने।

बालेनले चैत २५ गते बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै सिंहदरबारको फोहोर नउठ्ने बताएका थिए। बालेनको अभिव्यक्तिको विषय मन्त्रिपरिषद्सम्म पुगेको थियो।

बालेनको अभिव्यक्ति र फाहोर नउठाउने निर्णयबारे सरकारले उनलाई गम्भीर ध्यानाकर्षण गराउने निर्णय समेत गरेको थियो। परिवर्तन नेपाल नामक संस्थाले राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबार क्षेत्रको फोहोर उठाउने र सरसफाइ गर्ने काम गर्छ।

काठमाडौंको भिआइपी एरियाबाट दैनिक नौ टन फोहोर उठ्ने गरेको छ।

संविधानको अनुसूची-८ मा फोहोरमैला व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ। फोहोरमैला व्यवस्थापन ऐन २०६४ ले पनि फोहोरमैला उठाउने र व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>