चितवन विशेष

लोकप्रिय कवि भूपिनको कविता संग्रह ‘भूपिनका कविता’ बजारमा आउँदै

Banner

चितवन, वैशाख २-

बाग्लुङमा जन्मिएर चितवनलाई कर्मथलो बनाउँदै आएका कवि भूपिन खड्काको कविता संग्रह ‘भूपिनका कविता’ बजारमा आउने भएको छ ।

तीन दशक बढी समयदेखि कविता लेखनमा सक्रिय भूपिनको उत्कृष्ट कविताहरुलाई छानेर बुक हिल प्रकाशन गृहले ‘भूपिनका कविता’ जेठबाट बजारमा ल्याउन लागेको हो ।

बुकहिल प्रकाशन गृहका अध्यक्ष भूपेन्द्र खड्काले जेठबाट कविता संग्रह बजारमा ल्याउने तयारी गरिएको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ काठमाडौँ र चितवनमा विमोचन कार्यक्रम राखेर नै पुस्तकलाई बजारमा ल्याउने छौं ।’ २०० पृष्ठको कविता संग्रहमा ७० वटा कविता समावेश गरिने छ ।

एक दर्जन बढी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गरेका कवि भूपिनको २०५३ सालमा ‘क्षतिग्रस्त पृथ्वी र मूल सडक’कविता संग्रह, २०६६ सालमा ‘हजार वर्षको निद्रा’ कविता संग्रह, २०६९ सालमा निवन्ध संग्रह चौबिस रिल, २०७२ सालमा ‘सुप्लाको हवाइजहाज’ कविता संग्रह र २०७५ सालमा मैदारो उपन्यास प्रकाशित भइसकेका छन् । अब बजारमा आउने कविता संग्रह ‘भूपिनका कविता’ उनको छैठौं कृति हुनेछ ।

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको उपप्राध्यापकसमेत रहेका कवि भूपिनले अमेरिकाबाट नेपाली अन्तर्राष्ट्रिय साहित्य समाज पुरस्कार, उत्तम शान्ति पुरस्कार, अनेसास सर्वाेत्कृष्ट पुस्तक पुरस्कारसहित एक दर्जन बढी पुरस्कार र सम्मान प्राप्त गरेका छन् । संरक्षण कविता आन्दोलनका संस्थापकसमेत रहेका भूपिन अक्षर समूह चितवनका निवर्तमान अध्यक्ष हुन् । अहिले उनले अफ द बिट जेनेरेशन संस्थाको नेतृत्व गरिरहेका छन् ।

पोषण पाण्डे सम्मान भूपिनलाई

त्यसैगरी नेपाली साहित्यमा कथा विधाका मुर्धन्य स्रष्टा पोषण पाण्डेको स्मृतिमा स्थापित ‘पोषण पाण्डे–तीर्थ सदन’ले कवि तथा साहित्यकार भूपिनलाई पुरस्कृत गर्ने भएको छ ।

नेपाली साहित्य तथा समाजमा योगदान पुर्याउने उद्देश्यले स्थापित सदनले पाण्डेको ३१ औं स्मृति दिवसको अवसरमासाहित्यकार भूपिनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । यस पुरस्कार यही वैशाख ७ गते काठमाडौको रामहिटीमा अवस्थित साहित्य सदनमा नगद तीस हजार रुपैयाँसहित कदर पत्रद्वारा सम्मान गरिने जनाइएको छ । वरिष्ठ साहित्यकार समालोचक प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईको संयोजकत्वमा गठित तीन सदस्यीय निर्णय समितिले भूपिनलाई गरेको सिफारिश पोषण पाण्डे तीर्थ सदनले अनुमोदन गरेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>