Breaking News
चितवन–२ को उपनिर्वाचनमा त्रिपक्षीय भिडन्त, कसले मार्ला बाजी ?

मधुसूदन दवाडी
चितवन, चैत २९-
आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर–२ मा चुनावी सरगर्मी बढेको छ ।
स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने गत निर्वाचनको बिरासत जोगाउन र अन्य दुई ठूला दल एमाले र कांग्रेस लामिछानेलाई जितबाट रोक्न निकै मेहनत गरेकोले पनि चुनावी सरगर्मी बढेको हो ।
मुख्य प्रतिस्पर्धी तीनवटा दलहरुले घरदैलोलाई तीव्रता दिएका छन् भने सामाजिक सञ्जाल र मिडियाको प्रयोगलाई पनि ब्यापक बनाएका छन् । अघिल्लो पटक एमाले र कांग्रेसको धेरै मत स्वतन्त्र पार्टीलाई गएकोले रोक्नको लागि भरमग्दुर प्रयासमा छन् ।
नेपाल पत्रकार महासंघ चितवनका पूर्वअध्यक्ष राधेश्याम खतिवडाले चितवनको उपनिर्वाचनमा प्रतिस्पर्धा तीन जनाकै बीचमा हुने नारायणी अनलाइनलाई बताए । उनले बिगतको निर्वाचनमा रवि लामिछानेलाई कम आकलन गरेर जसरी पनि जितिन्छ भन्नेमा एमाले र कांग्रेस रहेको भए पनि अहिले त्यस्तो अवस्था नभएको बताए । उनले भने, ‘अहिले एमाले र कांग्रेसले आफ्नो जनमत बढाउन धेरै मेहनत गरेका छन् । अर्काेतिर आफ्नो मत घट्छ भन्नेमा स्वतन्त्र पार्टीलाई पनि विश्वास छ । त्यसकारणले पनि यसपटकको प्रतिस्पर्धा त्रिपक्षीय हुने निश्चित छ ।
चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वयं नै प्रतिस्पर्धामा भएकोले यस क्षेत्रको उपनिर्वाचनलाई चासोका साथ हेरिएको छ । उनले यस अगाडि पाएको फराकिलो मतान्तर यसपटक के हुन्छ ? भन्नेमा धेरैलाई चासो देखिन्छ । यसपटक पहिले भन्दा धेरै कम मत पाउने लामोसमयदेखि चितवनमा रहेर निर्वाचनको बारेमा विश्लेषण गर्दे आएका वीरेन्द्र बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख प्राध्यापक डा केशबभक्त सापकोटाको विश्लेषण छ । उनले अहिले चुनावी वातावरण खल्बलिएकोले अघिल्लो निर्वाचनमा जस्तो रविलाई सहज नहुने बताए । उनले भने, ‘ अहिले एमाले र कांग्रेसका दुवै उम्मेदवार क्रियाशिल युवा छन् । रवि र उनको पार्टीका बारेमा उठेका दुई करोड, दोहोरो रहदानी र नागरिकताको प्रकरणले पनि उनको जनमत घट्दो छ । ’ डा सापकोटाले नागरिकमा अहिलेसम्म पनि पुराना दलहरुप्रति बितृष्णा व्याप्त रहेकोले भने रविको क्रेज एमाले र कांग्रेसले आश गरे अनुसार ह्वात्तै गिरावट नआएको बताए । उनले भने, ‘ अहिले पनि रविका मतदाता उनलाई पुराना दलहरुले फसाउन खोजेको भन्दै छन् । सबै दलहरु कमिसन र भ्रष्ट हुन् भन्ने नागरिकमा परेको छ ।’ उनले पनि अहिलेको निर्वाचन प्रतिस्पर्धात्मकरुपमा जान सक्ने बताए । रविको दलको आफ्नो जनमत नभएकोले अन्य दलका नेता तथा कार्यकर्ताले मत दिएर रविले जितेकोले अहिले ठूला दलले त्यो मत रोक्न सक्ने बताए । उनले एकैदिनले मतदाताको धारणमा बदलाब आउने भएकोले अझै केही दिन बाँकी रहेकाले यही उम्मेदवारले जित्छ भनेर अनुमान गर्न गाहे हुने विचार राखे ।
चितवन–२ का मतदातामा अझै निर्वाचन र राजनीतिक दलप्रति बितृष्णा रहेकोले अझै निराश मतदाताको मत कता जान्छ यसै भन्न नसकिने कतिपय बुद्धिजीवीको विश्लेषण छ । सप्तगण्डकी बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख बालकृष्ण पौडेलले नागरिकमा राजनीतिक दलप्रति व्यापक असन्तुष्टि देखिएकोले कसैप्रति नागरिकमा खासै विश्वास नभएको बताए । उनले भने, ‘ नयाँ पुराना सबै दलमा भ्रष्टचारको गन्ध आएको छ । सबैले नागरिकको हित भन्दा पनि पार्टी केन्द्रित निर्णयहरु गरेकोले जनविश्वास घटेको छ ।’ उनले यदि रवि लामिछाने अनागरिक हुन् भने अघिल्लो निर्वाचनमा निर्वाचन आयोगले नै रोक्नुपर्ने थियो तसर्थ आयोगको पनि गल्ती औल्याए । पौडेलले भने, ‘ अनागरिकलाई अघिल्लो पटक निर्वाचनमा सहभागी गराउनु नै निर्वाचन अयोगको गल्ती हो ।’
अघिल्लो पटक रविको पक्षमा खुलेर नै लागेका क्षेत्रपुरका जग्गा व्यवसायी गणेश गुरुङले अझै नागरिकले रविलाई लाञ्छना लगाएर फसाउन खोजेको हो भन्ने परेको बताए । उनले भने, ‘ रविले केही गर्न खोेजेका थिए तर दिएनन् । ’ क्षेत्रपुरकै एमालेका समर्थक महेन्द्र पराजुली र कांग्रेसका समर्थक शिव श्रेष्ठ भने रविमा रहेको सत्ता मोह, दुई करोड काण्ड, दाहोरो नागरिकता र पत्रकारहरुप्रतिको नकारात्मक सोचका कारणले उनको प्रतिष्ठा गिर्दे गएको बताउँछन् । यसपटक कांग्रेस एमाले मुख्य प्रतिस्पर्धी र रवि लामिछाने भने तेस्रो बन्ने उनीहरुको दाबी छ ।
गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा रविले नेपाली कांग्रेसका उमेश श्रेष्ठ र नेकपा एमालेका कृष्णभक्त पोखरेललाई पराजित गरेका थिए । लामिछानेले ४९ हजार २६१ मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका श्रेष्ठको १५ हजार ९९ र एमालेका पोखरेलको १४ हजार ६४९ मत आएको थियो । तर, नागरिकता विवादमा लामिछानेको विषयमा सर्वाेच्च अलादतमा रिट परेको थियो । गत माघ १३ मा सर्वाेच्च अदालतले त्यसको सुनुवाई गर्दै उनको सांसद पद खारेजको फैसला गरेको थियो ।
सर्वाेच्चको फैसलापछि माघ १५ गते आइतबार उनले जिल्ला प्रशासन कार्यालय काठमाडौबाट अमेरिकी नागरिकता लिनु अघि २०५० सालमा लिएको नेपाली नागरिकताकै नम्बर उल्लेख भएको नागरिकता लिए । उनले नेपाली नागरिकता पुनः प्राप्त गरेपछि फेरि चितवनबाट उपनिर्वाचनमा उम्मेदवारी दिएका हुन् ।
प्रमुख दलहरुबीच प्रतिस्पर्धा
रास्वपाबाट लामिछानेसँग अहिले नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र नेकपा एमालेका तर्फबाट रामप्रसाद न्यौपानेले उम्मेदवारी दिएका छन् । दुवै लामिछानेका दुई नयाँ युवा प्रतिस्पर्धी हुन् । यी तीनजनाबीच मुख्य प्रतिस्पर्धा हुनेमा धेरैको सहमति छ ।
कसले जित्ला चुनाव ?
चितवनका यी तीनैजना बलिया उम्मेदवार हुन् । लामिछाने काठमाडौंबाट आएर चुनाव लडेका हुन् भने एमाले र कांग्रेस दुबै पार्टीका उम्मेदवार स्थानीय हुन् । कांग्रेसका उम्मेदवार श्रेष्ठलाई सत्ता गठबन्धनमा रहेका दलहरुको समर्थन रहेको छ भने एमाले एक्लै चुनावी मैदानमा छ । सत्ता स्वार्थमा रबिको पार्टीले देखाएको भूमिकाले विगतको भन्दा उनको अवस्था केही खस्केको र कांग्रेस र एमालेका उम्मेदवारहरु पनि बलिया भएकाले यसले नै चुनाव जित्छ भन्ने अवस्था अहिले नै आकलन गर्न नसकिने चितवनका स्थानीय मतदाताको भनाइ छ । तर, चितवनबासीले नयाँ अनुहार भने खोजेका उनीहरु बताउँछन् । यो क्षेत्रमा कुल एक लाख २४ हजार ६९५ मतदाता रहेका छन् । अहिले एमाले र कांग्रेसको बीचमा लाग्ने आरोप प्रत्यारोप भने कम भएकोछ । दुवै दलले आफ्नो मुख्य प्रतिद्वन्द्वी रवि लामिछानेलाई नै मानेकोले निर्वाचन कता मोडिएला यसै भन्न सकिने अवस्था छैन । निर्वाचनको निर्णायक भने यसपटक पार्टीका कार्यकर्ता भन्दा तटस्थ मतदाता रहनेछन् ।
























