चितवन विशेष

भरतपुर महानगरपालिका र रूरू गाँउपालिकाबीच भगिनी सम्बन्ध स्थापित

Banner

चितवन, चैत २५-

भरतपुर महानगरपालिका र रूरू गाँउपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ ।

दुई पालिकाले शुक्रबार रुरु क्षेत्रमा एक कार्यक्रमका बीच सम्झौता गरेका हुन् ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र रूरू गाँउपालिका प्रमुख यदु ज्ञवालीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले रमणीय तथा धार्मिक क्षेत्रको पहिचान बनाएको रूरू गाउँपालिकासँग भगिनी सम्बन्ध कायम गर्न पाएकोमा खुसी व्यक्त गर्दै यस्ता सम्बन्धहरूले जनस्तरको सम्बन्धलाई सुदृढ गर्ने विश्वास गरिन् ।
भरतपुर महानगरपालिकाले विदेशका विभिन्न देशका सहरहरूसँग भगिनी सम्बन्ध कायम गरी दुई पक्षीय हितमा काम गरिरहेको बताउँदै अब देशका विभिन्न पालिकाहरूसँग भगिनी सम्बन्ध कायम गर्ने नीति लिए बमोजिम रूरू गाँउपालिकासँग भगिनी सम्बन्ध स्थापित गरेको उल्लेख गरिन् ।

आगामी दिनमा अन्य पालिकाहरूसँंग पनि सम्झौता गर्दै जाने बताउँदै यस्ता सम्बन्धले जनस्तरको सम्बन्ध विकासका साथै समग्र विकासमा सहकार्य गर्न सकिने बताइन् । अनुभव आदान–प्रदानका साथै गराई र भोगाईहरूको आदानप्रदानले कार्यक्षेत्रमा आइपर्ने समस्याहरू समाधान गर्न सहयोग पुग्ने बताइन् ।

मेयर दाहालले रूरू गाउँपालिकाको समग्र विकासमा भरतपुर महानगरपालिकाको सधै साथ र सहयोग हुने बताउँदै रूरू पालिकाबाट समेत सोही अपेक्षा लिएको बताइन् ।
मध्य नेपालको सुन्दर सहर सभ्य र सुसंस्कृत भरतपुर महानगर र धार्मिक एवम् सुसंस्कृत रूरू गाउँपालिका बीच भगिनी सम्बन्ध कायम भएसँगै दुई स्थान बीच धार्मिक सांस्कृतिक आर्थिक एवम् बहुपक्षीय आयामहरूमा दुई पक्षीय सहयोग आदानप्रदान हुने बताइन् ।

भरतपुर महानगरपालिका विकास र समृद्धिको नयाँ आयाम कायम गर्दै गइरहेको छ भने रूरू गाउँपालिका धार्मिक संस्कृतिक विकासका साथै ग्रामीण विकासमा अग्रसर हुँदै आइरहेको छ । यस सम्बन्ध कायम भएसँगै दुई तह बीच एक आपसका असल अभ्यासहरूलाई सिकाइको अवसर समेत हुने छ ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का जनसम्पर्क विज्ञ बुद्धि जिसीले भरतपुर महानगरपालिका र रूरू गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम गरेकोमा दुवै तहलाई धन्यवाद दिँदै विकास र सुशासनको केन्द्र बन्दै गएको भरतपुरबाट रूरू गाउँपालिकाले लाभ हासिल गर्ने विश्वास व्यक्त गरेका थिए । सो अवसरमा रूरू पालिकाका प्रमुख यदु ज्ञवालीले भरतपुर महानगरपालिकासँग भगिनी सम्बन्ध कायम गरी सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै दुई पालिकाको समग्र विकासमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा रूरू गाउँपालिकाकी उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>