समाचार

काठमाडौंका सिडिओ भन्छन् : सबै प्रक्रिया पुर्‍याएर रविको नागरिकता कायम गरिदिएका हौं

Banner

काठमाडौं, चैत २२–

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले रवि लामिछानेलाई कानुन, नियम र कार्यविधिका सबै प्रक्रिया पुर्‍याएर मात्रै नागरिकता दिएको बताएका छन्।

‘विदेशी नागरिकता त्यागेर नेपाली नागरिकता पुनः प्राप्ति गर्दा जे–जे प्रक्रिया पुर्‍याउनुपर्छ हामीले ती सबै पुर्‍याएर मात्रै नागरिकता प्रदान गरेका हौं। अमेरिकी नागरिकता त्यागेको निस्सा बुझाएमात्र पुनः नेपाली नागरिकता पाइन्छ। त्यो प्रक्रिया पुरा गरेका छौं,’ उनले भने।

चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेविरूद्ध निर्वाचन कार्यालयमा अमेरिकी नागरिकता त्यागेको निस्सा नै नबुझाइ नेपाली नागरिकता पुनः प्राप्ति गरेको आरोप लगाउँदै उजुरी परेको छ।

सिन्धुलीका यूवराज पौडेल सफलले उनीविरूद्ध इमेलमार्फत उक्त उजुरी दिएका थिए। त्यस्तै लामिछाने विरूद्ध चितवन २ मै उम्मेदवारी दिएका अरू तीनजनाले पनि उजुरी दिएका छन्। स्वतन्त्र उम्मेदवार सन्तोष थापा, राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी र स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवबहादुर सुवेदीले कार्यालयमै पुगेर उजुरी दिएका थिए।

लामिछानेले माघ १५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनस् नेपाली नागरिकता प्राप्ति गरेका थिए। त्यतिखेर प्रमुख जिल्ला अधिकारी उपाध्यायले नागरिकता ऐनको दफा ११, नियमावलीको ११ बमोजिमका कागजात लिएर आएपछि लामिछानेको नागरिकता पुनः कायम भएको बताएका थिए। नागरिकता नियमावली २०६३ को दफा ११ मा पुनस् नेपाली नागरिकता कायम गर्नेसम्बन्धी व्यवस्था छ।

ऐनको दफा ११ बमोजिम नेपालको नागरिकता त्यागी विदेश गएको कुनै व्यक्तिले पुनः नेपाली नागरिकता प्राप्त गर्न चाहेमा विदेशको नागरिकता त्यागेको निस्सासहित निजलाई पहिले नागरिकताको प्रमाणपत्र प्रदान गर्ने मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसमक्ष अनुसूची-११ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ। उपनियम (१) बमोजिमको सूचनाको निवेदन प्राप्त भएपछि अनुसूची-१२ बमोजिमको ढाँचामा सूचना दर्ताको जानकारी दिई नियम ८ बमोजिमको अधिकारीले साविककै नागरिकताको विवरण सहितको नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्नेछ,’ उक्त नियमावलीमा भनिएको छ। यही प्रक्रिया पूरा गरी रविले नागरिकता लिएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>