चितवन विशेष

भरतपुरको सहकारी पर्यटनमा ‘बखान सहकारी’ को महत्व दूरगामी छ: मेयर रेनु दाहाल

Banner

चितवन, चैत २०-

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरको सहकारी पर्यटनको मुख्य गन्तव्य ‘बखान सहकारी’ रहेको बताएकी छन् ।

६६ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा भएको कार्यक्रममा मेयर दाहालले भरतपुरको सात मुख्य गन्तव्यमा बखान सहकारी समावेश भएको जानकारी दिइन् ।

भरतपुरमा ३० वटा गन्तव्यमध्ये बखान सहकारीलाई मुख्य सातमा समावेश गरी प्रवद्र्धन गरिएकाले यसको महत्व दूरगामी रहेको उनले बताइन् । बखान सहकारी भरतपुर महानगरपालिकाको लागि गर्वको विषय भएकाले यसको विकासमा महानगरपालिका प्रतिबद्ध रहेको उल्लेख गरिन् । ‘भरतपुर भ्रमण वर्ष–२०२४ मा देश विदेशबाट पर्यटकलाई निम्तो दिइएको छ’ उनले भनिन् ,‘ बखान सहकारीमा हजारौं सहकारी पर्यटकको आगमन हुने छ । सहकारीकर्मीको लागि सिकाइको थलो बन्ने छ ।’

चितवन जिल्लाको शारदानगरमा नेपालकै पहिलो बखान बहुउद्देश्यीय सहकारी संस्था स्थापना भएको थियो । अहिले पनि दैनिकरुपमा सयौको संख्यामा सहकारी अभियन्ताहरु अवलोकन भ्रमणका लागि यहाँ आउने गर्छन् ।

देशभरका सहकारीकर्मीको सिकाइको थलो बनाउने गरी बखान सहकारीलाई संग्रहालयका रुपमा विकास गर्न भैतिक संरचनाहरु निर्माणधीन छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संग्रहालयको शिलान्यास गरेका थिए । संग्रहालय निर्माणका लागि नेपाल सरकारबाट १० करोड रुपैयाँ विनियोजन भएको थियो । नेपालको पहिलो सहकारी बखान सहकारीको स्थापना दिवसको अवसरमा देशभरका सहकारीहरुले यसै दिनलाई दिवसकारुपमा मनाउँदै आइरहेका छन् ।

बखान सहकारीको स्थापनापछि नेपालमा सहकारी खुल्ने क्रम सुरु भएको थियो । अहिले भरतपुरमा मात्र ३०० वटा सहकारी छन् भने नेपालभर ३२ हजार सहकारी रहेको तथ्याङ्क रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>