Breaking News

क्रिकेट रंगशालाको निर्माण अगाडि बढ्छ, केही दिनमा खुसीको समाचार सुन्न पाइन्छ: मेयर दाहाल

Banner

चितवन, चैत ११-

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अलपत्र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ऋण तिर्ने र बाँकी निर्माणको काम एक साथ अगाडि बढाउनु पर्ने बताएकी छन् ।

नेपाल कराँते महासंघको सातौ राष्ट्रिय महाधिवेशन कार्यक्रममा उनले रंगशालाको बहुवर्षीय सहमतिसहित टेण्डर प्रकृया अगाडि बढाउने गरी पहल भइरहेको उल्लेख गरिन् ।

चितवनमा रंगशाला बन्छ कि बन्दैन भन्ने विषय सबै जनता र खेलाडीले चिन्ता र चासोको साथ हरिरहेकाले महानगरपालिका प्रमुखको हैसियतले सक्दो पहल भइरहेको उनले जानकारी दिइन् । ‘मैले सामाजिक सञ्जालमा केही दिनमा सुखद समाचार सुन्न पाउछौ भनेको थिए’ उनले भनिन् ‘निरन्तर पहल भएकै छ । केही दिनभित्र सुखद समाचार सुन्न पाउनेमा आशावादी छु । ऋणको निकास हुनेसाथ रंगशाला निर्माण अघि बढाउन समस्या छैन ।’
महानगरपालिका प्रमुख दाहालले ऋणकै कारण संघ र प्रदेशबाट विनियोजन भएको २२ र पाँच करोड रुपैयाँ फ्रिज हुने अवस्था आएको उल्लेख गरिन् । गौतम बुद्ध क्रिकेट रंगशाला क्रिकेट खेल्न मात्र नभई बहुउद्देश्यीय रंगशाला भएकाले त्यहाँ इन डोर र आउट डोर दुवै खेल खेल्न सकिने भएकाले सबै विधाका खेल खेल्न सकिने प्रमुख दाहालले बताइन् ।

भरतपुर महानगरपालिका नेपालका ७५३ पालिका मध्ये खेलकुद गतिविधि गर्ने र पूर्वाधार निर्माण गरेर उत्कृष्ट भई प्रधानमन्त्रीबाट पुरस्कृत भएको उल्लेख गरिन् । भरतपुरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद हुनाका साथै सबै विधाको खेल गतिविधि हुँदै आएकाले खेलकुदको हब बन्नेतर्फ उन्मुख भएको उनको भनाइ थियो । महानगरपालिका प्रमुख दाहालले अब छिट्टै भरतपुरमा साइकलिङ प्रतियोगिता र लगत्तै वागमती प्रदेश र भरतपुर महानगरपालिकाको सहकार्यमा क्रिकेट प्रतियोगिता हुन लागेको जानकारी दिइन् ।

भरतपुर–२२ को पहिटानीमा शनिबारदेखि सुरु भएको अधिवेशनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए । प्रधानमन्त्री प्रचण्डले खेल क्षेत्रको विकासको लागि नेपाल सरकार सधै सकारात्मक रहेको उल्लेख गरे । अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै ७ र्औ अधिवेशन समापन हुने आयोजकले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>