Breaking News
भरतपुरको उमागढी आदर्श शेरचन कलेजमा शंकास्पद बस्तु भेटियो, बम भएको आशंकामा डिस्पोजल टोली पुग्दै

चितवन, फागुन २९–
स्ववियु निर्वाचनको मुखमै भरतपुर महानगरपालिका–२६, दिव्यनगरस्थित उमागढी आदर्श शेरचन कलेजमा शंकास्पद बस्तु भेटिएको छ ।
आज विहान करिव पौने ६ बजेको समयमा प्राध्यापक सर्वहित पण्डित कलेज पुग्दा उक्त शंकास्पद बस्तु भेटिएको हो । प्राध्यापक पण्डितले नारायणी अनलाइनलाई दिएको जानकारी अनुसार रातो झोलाभित्रबाट बाहिर तारहरु निस्किएको छ । बम भएको आशंकामा तत्काल प्रहरीलाई खबर गरिएको प्राध्यापक पण्डितले बताए । अहिले प्रहरी टोली कलेज परिसरमा पुगिसकेको छ भने नेपाली सेनाको डिस्पोजल टोली पुग्न बाँकी छ ।
यस कलेजमा यही चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदैछ । सोही अनुसार आज उम्मेदवारहरुलाई मनोनयनपत्र वितरण र भोलि दर्ताको कार्यतालिका रहेको थियो । हिजो मात्रै नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्वियुले विभिन्न माग राख्दै विहान कलेजमा तालाबन्दी समेत गरेको थियो । हिजो नै लोसपा पार्टी निकट विद्यार्थी संगठनले पनि समावेशितालगायतको माग राखेर दिउँसो तालाबन्दी समेत गरेको थियो ।
विवाद चर्कदै गइरहेको अवस्थामा शंकास्पद बस्तु भेटिदा विद्यालयमा त्रास सिर्जना भएको छ । आज विहानैदेखि पठनपठान कार्य प्रभावित बनेको छ ।


























