अन्तर्वार्ता

अमेरिका र युरोपको दबदबा अब अन्त्य हुन लागेको हो ?

Banner

काठमाडौं, फागुन १९-

युक्रेनमाथि रुसी आक्रमण सुरु भएको दोस्रो वर्ष सुरु भैसकेको छ । यस्तो लाग्दैछ कि यो युद्धले विकसित र विकासशील देशहरु बीचको खाडललाई अझै गहिरो बनाइदिएको छ । पश्चिमी देशहरुका राजनीतिज्ञहरुका अनुसार यो युद्धबाट विद्यमान विश्व व्यवस्था अर्थात् वर्ल्ड अर्डरमाथि ठूलो खतरा पैदा भएको छ ।

उनीहरुका अनुसार यो विश्व व्यवस्था नियमहरुमा आधारित छ र ती नियमहरुमा परिवर्तनको प्रष्ट संकेत देखिइरहेको छ ।

विकसित देश (अमेरिका तथा युरोपेली मुलुकहरु) हरुले भारत, चीन, दक्षिण अफ्रिका तथा ब्राजिल जस्ता विकासशील देशहरुलाई यो कुरामा सहमत बनाउने भरपूर कोसिस गरिरहेका छन् कि उनीहरु रुसी आक्रमणका विरुद्धको मोर्चाबन्दीमा साथमा आउन् ।

पश्चिमी देशहरुले युक्रेनमाथिको रुसी हमलालाई युरोपमाथिको हमला मात्र भनिरहेका छैनन् बरु यसलाई लोकतान्त्रिक विश्वमाथिको आक्रमण भनिरहेका छन् । त्यसैले विश्वका उदयीमान शक्ति राष्ट्रहरुले युक्रेन विरुद्धको आक्रमणका लागि रुसको भर्त्सना गरुन् भन्ने उनीहरु चाहन्छन् ।

तर भारत र चीनसँगै अन्य विभिन्न विकासशील देशहरु भने रुस र युक्रेनबीचको युद्धलाई सम्पूर्ण विश्वको टाउको दुखाइको विषयको रुपमा मानेका छैनन् र यो युद्धहरुलाई मोटामोटी रुपमा युरोपको समस्या मान्दछन् ।

गत वर्ष स्लोभाकियामा आयोजित एक सम्मेलनमा सम्बोधन गर्दै भारतका विदेशमन्त्री एस जयशंकरले युरोपसँग अनुरोध गर्दै भनेका थिए– कृपया युरोपको समस्या पूरै दुनियाको समस्या हो भन्ने मानसिकताबाट माथि उठ्नुहोस् । किनकी बाँकी दुनियाका समस्याहरुले युरोपलाई कुनै फरक पर्दैन ।

उता युरोप र अमेरिकाका विज्ञहरुको तर्क के छ भने यो युद्धका लागि रुसी राष्ट्रपति पुटिनलाई जवाफदेही बनाउने कुरामा भारत र चीनले इन्कार गर्नुले नियममा आधारित मौजूदा विश्व व्यवस्थाको अस्तित्वलाई नै खतरामा पारिदिएको छ ।

उनीहरुका अनुसार धेरैजसो विकासशील देशहरुले युक्रेनमा जारी युद्धका विषयमा निकै सोचीसम्झी निरपेक्षताको मार्ग चयन गरेका छन् । त्यस्तो छनोटले अन्तराष्ट्रिय कानून तथा स्थीरताको साटो आफ्नो स्वार्थको मात्रै रक्षा भएको तथा गैरपश्चिमा मुलुकहरुको त्यस्तो रबैया अन्ततः रुसका लागि नै फाइदाजनक सावित भैरहेको दाबी पश्चिमा विज्ञहरुको छ ।

सिरियाका लागि फ्रान्सेली राजदूत भैसकेका कूटनीतिज्ञ तथा पेरिसस्थित थिंकट्यांक इन्स्टिच्यूट अफ मोन्टेन्याका विशेष सल्लाहकार मिसेल डुक्लो भन्छन्– आर्थिक मोर्चामा रुसलाई त्यो राजनीतिबाट फाइदा पुगिरहेको छ जसबाट भारत र साउदी अरबजस्ता मुलुकहरु चलिरहेका छन् ।

अमेरिकी विद्वान जी जोन इकेनबेरीका अनुसार अमेरिकी नेतृत्वको विद्यमान विश्व व्यवस्था गहन संकटमा छ । उनी भन्छन्– अमेरिकाले दोस्रो विश्वयुद्धपछिको समयमा विद्यमान विश्व व्यवस्था खडा गरेको थियो । पछिल्लो ७० वर्षदेखि यही विश्व व्यवस्थाले नै पश्चिम केन्द्रित उदारवादी अन्तराष्ट्रिय व्यवस्थाको अगुवाइ गरिरहेको छ जसलाई खुलापन, विश्वव्यापी नियमहरु तथा बहुपक्षीय सहयोगको जगमा खडा गरिएको थियो ।

उनी भन्छन्– आज यो अन्तराष्ट्रिय व्यवस्था भयंकर संकटको सिकार बनेको छ । मध्यपूर्व, पूर्वी एसिया र पश्चिमी युरोपमा समेत लामो समयदेखि चलिआएको क्षेत्रीय व्यवस्थाहरुमा या त परिवर्तन आइरहेको छ या टुक्रिरहेको छ । यस्तो लाग्छ कि व्यापार, हतियार नियन्त्रण तथा पर्यावरणदेखि लिएर मानव अधिकार सम्मका विश्वव्यापी अन्तराष्ट्रिय सम्झौता र संस्थाहरु समेत कमजोर बनिरहेका छन् ।

यद्यपि युक्रेनमा युद्धको सुरुवात हुनुभन्दा निकै अघिदेखि नै मौजुदा विश्व व्यवस्थालाई चीन जस्ता उदयीमान विश्व शक्तिहरुले चुनौति दिइरहेका थिए र भारत जस्ता देशहरुले प्रश्न उठाइरहेका थिए कि संयुक्त राष्ट्रसंघ जस्ता विश्व संगठनहरुमा उदीयमान शक्तिहरुको प्रतिनिधित्व किन हुँदैन ?

रोचक कुरा त के छ भने अमेरिकाको अगुवाई रहेको अन्तराष्ट्रिय व्यवस्थामा उत्पन्न यो संकटले उदयीमान देशहरुका लागि नयाँ अवसर पैदा गर्ने तर्क विकासशील मुलुकका जानकारीहरुको छ । खासगरी चीन, भारत तथा अन्य गैरपश्चिमी विकासशील देशहरुका लागि । त्यही मौकाको मद्दतले यी विकासशील मुलुकहरुले विश्व व्यवस्थालाई नयाँ स्वरुपमा ढाल्न सक्नेछन् ।

यी देशहरुमा नयाँ विश्व व्यवस्थाको माग गर्ने आवाजहरु समेत बुलन्द बन्दैछन् । गत वर्ष भारतीय प्रधानमन्त्री मोदीले संसदमा बोल्दै भनेका थिए– कोरोना महामारी पश्चात् हामी तीव्र गतिमा एक नयाँ विश्व व्यवस्था तथा एक नयाँ समीकरणतर्फ बढिरहेको मैले प्रष्टसँग देख्नसक्छु । यो यस्तो अहम् मोड हो कि भारतीयको रुपमा हामी यो मौकालाई गुमाउन चाहँदैनौं । विश्वमञ्चमा भारतको आवाज बुलन्द तथा स्पष्ट रुपमा सुनिनु पर्दछ ।

तर यहाँनेर सबैभन्दा ठूलो प्रश्न यो छ कि, नयाँ विश्व व्यवस्था निर्माणका लागि उदयीमान मुलुकहरु दोस्रो विश्वयुद्धपछिका नियमहरु तथा संस्थाहरुको सुधार र पुनर्गठन गर्ने प्रयास गरिरहेका छन् कि छैनन् रु या फेरि उनीहरु विद्यमान विश्व व्यवस्थाको सत्तामा साझेदारी हासिल गर्ने चाहना राखिरहेका छन् ?

– बीबीसीबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>