क्रिकेट

यू-१९ विश्वकपमा पुगेको नेपाली टिमका खेलाडीलाई जनही १ लाख दिने घोषणा

Banner

काठमाडौं, फागुन १८-

युएईलाई हराउँदै ८ वर्षपछि यू–१९ विश्वकपमा छनोट भएको नेपाली टिमका हरेक सदस्यलाई क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले एक-एक लाख रूपैयाँ पुरस्कार दिने भएको छ।

यस्तै सरकारलाई पनि उचित सम्मान गर्न क्यानले अनुरोध गरेको छ। नेपाल विश्वकपमा पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगातय नेताहरूले बधाइ र शुभकामना दिएका छन्।

बिहीबार युएईमा भएको निर्णायक खेलमा घरेलु टोलीमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाल आगामी वर्ष श्रीलंकामा हुने युवा विश्वकपमा छानिएको हो। युएईको अजमानस्थित इडेन गार्डेन ओभलमा नेपालले दिएको १९२ रनको लक्ष्य पछ्याएको युएई अन्तिम १२ बल अगाडि नै १८४ रनमा अलआउट भएको थियो। दीपेश कँडेलले अन्तिम ३ विकेट लिँदै ह्याट्रिक पूरा गर्दा अविस्मरणीय रूपमा नेपाललाई विश्वकपमा पुर्‍याएका हुन्।

युएईका लागि आर्यन सक्सेना र आर्यन्स शर्माले ६७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरूआत दिलाएका थिए। १७।२ ओभरमा ३२ रन बनाएका आर्यन्सलाई सुवास भन्डारीले आउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए। आर्यन अफजल खान सुवासको बलमा डक आउट भए। १७ रन बनाएर खेलिरहेका अर्का मुख्य ब्याटर ध्रुव परासरको विकेट दीपेशले लिएपछि युएई दबाबमा आएको थियो।

एथहान कार्ल डिसुजाले अर्धशतक बनाउँदै इनिङ्स सम्हाल्ने प्रयास गरे। उनलाई ५० रनमा हेमन्त धामीले क्लिन बोल्ड गरेपछि नेपालको आश जागेको थियो। अन्त्यमा खेल रोमाञ्चक बन्यो। युएईलाई जितका लागि ८ रन र नेपाललाई ३ विकेट आवश्यक थियो। दीपेशले ४८ औं ओभरमा ह्याट्रिक लिएपछि नेपाल सन् २०१६ पछि विश्वकपमा फर्किएको हो। नेपाललाई नाटकीय जित दिलाउन स्पिनर दीपेश कँडेलले ह्याटिकसहित पाँच विकेट लिए।

युएईलाई जितका लागि ८ रन चाहिँदा दीपेशले ४८ औं ओभरको अन्तिम तीन बलमा लगातार विकेट लिएका थिए। हेमन्त धामी र सुवास भण्डारीले पनि दुईरदुई विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभर ५ बलमा अल आउट हुँदै १९१ रन बनाएको थियो। खराब सुरूआत गरेको नेपालले १९ रन बनाउँदा माथिल्लो क्रममा मुख्य तीन ब्याटर सस्तैमा गुमाएको थियो।

ओपनर दीपक बोहरा ओभरको पहिलो वलमै हरित ह्यारिस सेट्टीको बलमा क्लिन बोल्ड भए। अर्का ओपनर अर्जुन कुमाल ३ रन बनाएर आउट हुँदा आकाश त्रिपाठीले ९ रन जोडे। ६ ओभरमा १९-३ को स्थितिमा रहेर दबाबमा आएको नेपालको इनिङ्सलाई कप्तान देव खनाल र उत्तम थापा मगरले अघि बढाए। यी दुईले चौथो विकेटका लागि ८४ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासे।

२५ औं ओभरको चौथो बलमा उत्तम एलबिडब्लूको धरापमा परे। ४८ बल खेलेका उनले ३ चौका र १ छक्कासहित ३६ रनको महत्वपूर्ण इनिङ खेले। यसपछि २८ औं ओभरको पाँचौ बलमा कप्तान खनाल व्यक्तिगत ५१ रनमा आउट भए। उनले ८४ बलमा ३ चौका र १ छक्का प्रहार गरे। यी दुई ब्याटरपछि भने नेपालबाट राम्रो साझेदारी हुन सकेन। नेपालले लगातार विकेट गुमाइरह्यो। ३८ औं ओभरको तेस्रो बलमा मिलन बोहोरा १० रनमा रन आउट भए।

त्यसपछि ४० औं ओभरको तेस्रो बलमा विशाल विक्रम केसी ३८ रनमा आउट भए। १५८-७ को स्थितिमा पुगेको नेपालले थप ३३ रन जोड्दा बाँकी सबै विकेट गुमायो। ४३ औं ओभरको दोस्रो बलमा सुवास भण्डारी २ रनमा आउट हुँदा ४७ औं ओभरको तेस्रो बलमा हेमन्त धामी १३ रन बनाएर आउट भए। ४८.५ ओभरमा १५ रन बनाएर खेलिरहेका दिपेश कँडेल आउट भएसँगै नेपाल १९१ रनमा समेटियो।

यूएईका लागि ध्रुव पारसरले सर्वाधिक ३ विकेट लिए। हरित र आर्यन अफजल खानले समान २–२ विकेट हात पारे। यस्तै हर्सित सेठ र अम्मर बादामीले १-१ विकेट लिए।जगत टमाटाको प्रशिक्षक र देव खनालको कप्तानीमा रहेको नेपालले यो पटक भने पाँच खेलमा शत प्रतिशत नतिजा निकाल्न सफल भयो। नेपाल विश्वकप पुगेको यो आठौं पटक हो।

नेपालले पछिल्लो पटक २०१६ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो। त्यसपछि नेपालले यू-१९ विश्वकप खेल्न सकेको थिएन। यसअघि सन् २०१८ मा नेपाल युएईसँग नै वर्षाले प्रभावित खेलमा डकवर्थ लुइस नियमको आधारमा एक रनले पराजित हुँदै विश्वकपमा पुग्न चुकेको थियो। त्यही एक रनको कारण २०२० मात्रै होइन, २०२२ को पनि विश्वकप खेल्न पाएन।

२०२१ मा कोरोनाको कारण यू-१९ विश्वकप एसिया क्षेत्र छनोट भएन। सन् १९८८ देखि सुरू भएको यू-१९ विश्वकपमा नेपालले सन् २००० मा डेब्यु गरेको थियो। नेपालले सन् २००० देखि २०१६ सम्म ७ पटक यू-१९ विश्वकप खेलेको थियो। सन् २००० देखि लगातार सन् २००८ सम्म, २०१२ र २०१६ मा विश्वकप खेलेको थियो।

सन् २००६ मा न्युजिल्यान्डलाई हराउँदै प्लेट च्याम्पिन नै बनेको थियो। सन् २००८ मा प्लेट च्याम्पियनसिपको फाइनल खेलेको नेपालले २०१६ पछि यू-१९ विश्वकप खेलेको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>