अर्थ

रत्ननगरको मृगकुन्ज सहकारीमा तालाबन्दी, झण्डै पाँच हजार नागरिकको २८ करोड बढी लगानी

Banner

चितवन, फागुन १७–

रत्ननगर नगरपालिका–६ बछौलीमा रहेको मृगकुञ्ज मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थामा तालाबन्दी गरिएको छ ।

निर्वाचन समितिले अयोग्य ठहर गरी ४० जनाको उम्मेदवारी बदर गरेपछि असन्तुष्ट बनेका उम्मेदवारहरुले बुधबार सहकारीको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

संस्थाको कार्यालयमा तालाबन्दी भएपछि आज बिहान ९ बजेबाट सुरु हुने भनिएको उम्मेदवारी दर्ताको काम समेत रोकिएको छ । राजनीतिक दलहरुले कार्यसमितिमा बागबन्डा मागेपछि विवाद चरम उत्कर्षमा पुगेपछि रत्ननगर नगरपाालिकाले फागुन २१ गते भित्र समिति गठन गर्न निर्देशनात्मक पत्र पठाएको थियो । नगरपालिकाको पत्र अनुसार निर्वाचन समितिले फागुन २० गते मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । पटक पटक नेतृत्व चयन गर्न सहकारी असफल भएपछि नागरिकको बचत तथा लगानी डुब्छ कि भनेर बचतकर्ता चिन्तित भएका छन् ।
नियोजित रुपमा निर्वाचन समितिले ४० जनाको उम्मेदवारी बदर गरेको भन्दै नेपाली कांग्रेस र एमालेले त्यसको कडा प्रतिबाद गरेका थिए ।

मुख्य राजनीतिक दलहरु एमाले, कांग्रेस, एकीकृत समाजवादी, माओवादीसहित नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले समेत कार्यसमितिका महत्वपूर्ण पद चाहिने भन्दै अडान लिएपछि सहकारी नेतृत्वविहीन बनेको हो ।

निवर्तमान कार्यसमितिका पदाधिकारीहरुको अनुसार नेपाली कांग्रेसले अध्यक्षसहित लेखा समिति संयोजक पद चाहिने अडान लिएको छ भने एमालेले उपाध्यक्षसहित सचिव, माओवादीले कोषाध्यक्ष, एकीकृत समाजवादीले उपाध्यक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समितिमा आफ्नो नेतृत्व मागेको छ । बित्तीय ज्ञान र सहकारीलाई बुझेको मानिस भन्दा पनि स्थानीय नेता तथा कार्यकर्तालाई पद चाहिने भन्दै दलहरुले बखेडा झिकेपछि अधिवेशन चलेको दुई महिनापछि पनि सहकारीले नेतृत्व चयन गर्न सकेन । अर्काेतिर सहकारीको आर्थिक हिसाबकिताब पनि पारदर्शी नबनेको र मनपरी फजुल खर्च गरेको सहकारीका सदस्यहरुले आरोप लगाएका छन् । सहकारीमा चार हजार ७०० जना आबद्ध रहेका छन् भने सहकारीको कूल पुँजी २८ करोड भन्दा बढी रहेको छ ।

रत्ननगर नगरपालिका सहकारी शाखा प्रमुख स्वस्तिका अर्यालले आफूहरुले सहकारीको बारेमा नेतृत्व चयन गर्न सहजीकरण गरिरहेको बताएकी थिइन् । सहकारीका निवर्तमान अध्यक्ष तथा निर्वाचन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेको अनुसार अनेकौं प्रयास गर्दा पनि सहमतिमा नेतृत्व चयन गर्न सहकारी असफल हुँदै आएको छ । चितवनमा केही सहकारी र लघुबित्तमा समस्या देखिएपछि मृगकुञ्ज सहकारीका साधारण सदस्यहरु भने राजनीतिक हस्तक्षेपले सहकारी डुब्छ भन्ने चिन्तामा रहेका छन् । सहकारीको गत पुस २६ गते ११ औं वार्षिक साधारण सभा तथा नेतृत्व अधिवेशन सुरु भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>