चितवन विशेष

राजनीतिक दलहरुले भागबन्डा खोजेपछि रत्ननगरको मृगकुञ्ज सहकारी संकटमा, नेतृत्व चयनमा असफल

Banner

चितवन, फागुन ११-

रत्ननगर नगरपालिका–६ बछौंलीमा रहेको मृगकुञ्ज मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था संकटमा परेको छ ।

मुख्य राजनीतिक दलहरु एमाले, कांग्रेस, एकीकृत समाजवादी, माओवादीसहित नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले समेत कार्यसमितिका महत्वपूर्ण पद चाहिने भन्दै अडान लिएपछि सहकारी नेतृत्वविहीन बनेको हो ।

निवर्तमान कार्यसमितिका पदाधिकारीहरुको अनुसार नेपाली कांग्रेसले अध्यक्षसहित लेखा समिति संयोजक पद चाहिने अडान लिएको छ भने एमालेले उपाध्यक्षसहित सचिव, माओवादीले कोषाध्यक्ष, एकीकृत समाजवादीले उपाध्यक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समितिमा आफ्नो नेतृत्व मागेको छ । बित्तीय ज्ञान र सहकारीलाई बुझेको मानिस भन्दा पनि स्थानीय नेता तथा कार्यकर्तालाई पद चाहिने भन्दै दलहरुले बखेडा झिकेपछि अधिवेशन चलेको दुई महिनापछि पनि सहकारीले नेतृत्व चयन गर्न सकेको छैन ।

अर्काेतिर सहकारीको आर्थिक हिसाबकिताब पनि पारदर्शी नबनेको र मनपरी फजुल खर्च गरेको सहकारीका सदस्यहरुले आरोप लगाएका छन् । सहकारीमा चार हजार ७०० जना आबद्ध रहेका छन् भने सहकारीको कूल पूँजि २८ करोड भन्दा बढी रहेको छ ।

रत्ननगर नगरपालिका सहकारी शाखा प्रमुख स्वस्तिका अर्यालले आफूहरुले सहकारीको बारेमा उठेका प्रश्नहरुको बारेमा अध्ययन सुरु गरिरहेको नारायणी अनलाइनलाई जानकारी दिइन् । उनले भनिन्, ‘ सहकारीले नेतृत्व चयन गर्न नसकेको विषय भर्खर जानकारीमा आएको छ । फागुनको पहिलो हप्तामा नेतृत्व चयन गर्ने गरी निर्वाचन गर्ने भनिएको कार्यतालिका हामीले रोकेर अध्ययन गरिरहेका छौं । औपचारिक पत्र लेखेर समस्याको बारेमा जानकारी गराउन भनेका छौं ।’ उनले नेतृत्व चयन गर्न नसकेमा नगरपालिकाले सहजीकरण गर्ने बताइन् ।

सहकारीका निवर्तमान अध्यक्ष तथा निर्वाचन समितिका अध्यक्ष दुर्गा प्रसाद घिमिरेको अनुसार निर्वाचन प्रक्रियामा गएको अवस्थामा रत्ननगर नगरपालिकाले रोक्न भनेपछि रोकिएको बताए । उनले भने, ‘सहमतिमा नेतृत्व चयन गर्न खोजेपछि चयन हुन सकेन । फागुन १ गतेबाट निर्वाचन प्रक्रियामा जान खोज्दा नगरपालिकाले रोक्नु भनेकोले रोकिएको हो ।’ चितवनमा केही सहकारी र लघुबित्तमा समस्या देखिएपछि मृगकुञ्ज सहकारीका साधारण सदस्यहरु भने राजनीतिक हस्तक्षेपले सहकारी डुब्छ भन्ने चिन्तामा रहेका छन् । सहकारीको गत पुस २६ गते ११ औं वार्षिक साधारण सभा तथा नेतृत्व अधिवेशन सुरु भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>