Breaking News

नारायणी नदी सम्मेलनः संरक्षणका लागि १२ बुँदे घोषणापत्र जारी

Banner

नवलपुर,फागुन ३-

नवलपरासी –बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालन भएको ‘नारायणी नदी सम्मेलन–२०२३’ १२ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । दुई दिनसम्म चलेको सम्मेलनले ‘स्वच्छ पानी ः स्वस्थ जीवन’ का लागि जारी गरेको घोषणापत्रमा नदीको स्वच्छता, संरक्षण र दिगोपनाका विषय समेटिएका छन् ।

जलाधार क्षेत्रको संरक्षणका लागि जैविक एवं पारिस्थितिकीय प्रणालीमा आधारित क्रियाकलापमा जोड दिँदै नदीमा आश्रित जीव, समुदायको उत्थान एवं विकासमा जोड दिइएको छ । सांस्कृतिक क्रियाकलाप गर्दा स्वच्छतामा ध्यान दिने, संरक्षणमुखी कार्यक्रम सञ्चालन गर्ने, औद्योगिक क्षेत्रको प्रदूषण नियन्त्रणसम्मका विषय उल्लेख गरिएका छन् । कार्यक्रमको समापन शत्रका वक्ताहरुले सबैजना हातेमालो गर्दै अघि बढे नदी स्वच्छता कायम राख्न सकिने बताएका थिए ।

नारायणी नदी संरक्षणमा अझै स्थानीय पालिकाहरुले जिम्मेवार बोध गरी अघि बढ्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका थिए । उनीहरुले अधिकारका कुरा उठाउँदै गर्दा कर्तव्य नभुल्न आग्रह गरेका छन् । समापन कार्यक्रममा गैँडाकोटका नगरप्रमुख मदनभक्त अधिकारीले घोषणापत्रमा भएका कुरा लागू गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

नदीको माथिल्लो तटीय क्षेत्रमा गरिएको फोहरले तल्लो तटीय क्षेत्र अझ बढी प्रभावित भएको बताउँदै उहाँले सरसफाइ कायम राख्न राष्ट्रिय तवरबाट नै सचेतना जरुरी रहेको बताउनुभयो । सहमति संस्थाका अध्यक्ष होमनाथ सुवेदीले सचेतना फैलाउने, सिमसार क्षेत्रहरुको संरक्षण, नदीमा आश्रित तटीय क्षेत्रका परिवारको जीविकोपार्जन सुधार, पानीसँग सम्बन्धित जोखिम कम गर्ने लगायत क्रियाकलापसँगै तीनै तहका सरकारलाई घचघचाउने काम गरेको बताउनुभयो । साथै उहाँले सम्पूर्णमा धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो ।

ग्रिन पिक्सेलका परामर्शकता वासुदेव न्यौपानेले घोषणापत्रबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिककृत राजु घिमिरे, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना, संरक्षणकर्मी राजेश साह लगायतले सम्मेलन फलदायी भएको बताउनुभएको थियो । दुई दिनसम्म चलेको सम्मेलनमा करिब २ दर्जन कार्यपत्र प्रस्तुत गरिएका थिए ।

डब्लु डब्लु एफ, जलाधार संरक्षण केन्द्र गण्डकी प्रदेश, गैँडाकोट नगरपालिका, त्रिभुवन विश्वविद्यालयको वातावरण विभाग, लुथरनसँगको सहकार्यमा सहमतिको ‘सिमसार क्षेत्र पुनस्र्थापना र नारायणी तटीय सामूहिक प्रयास तथा कार्ययोजना’ परियोजनाको आयोजनामा सम्मेलन भएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>