Breaking News

भरतपुर अस्पतालमा आफन्तको बाटो हेर्दे बिरामी, बेसाहारा गुरुङ आगोले पोलेपछि झनै पीडामा

०
Banner

प्रतिमा कुमाल

चितवन, फागुन २–

खाना आगोबाट उतार्ने क्रममा आगोमा परेका एक व्यक्ति अहिले भरतपुर अस्पतालमा साहाराको खोजीमा उपचाररत छन् । उनका बेसाहारा ज्वाइ दुई दिन अस्पताल बसे पनि त्यसपछि भेट्न आएका छैनन् । गुरुङ अहिले भरतपुर अस्पतालको शैयामा असहय जलनको पीडा सहँदै लडिरहेका छन् । दायाँ आँखाको डिलदेखि घाँटी, छाती, काखी पाखुरा र पिठ्युमा आगोले उनलाई गहिरो गरी पोलेको छ । आगोले गहिरो गरी जलेका उनलाई घाउको दुखाइले निदाउन दिँदैन । उनले भने, ‘सास फेर्न निक्कै कसरतनै गर्नुपर्छ । खानाको गास पनि बल्लतल्ल कष्टले निल्छु ।’

चितवन शारदानगर घर बताउने ६९ वर्षीय गुरुङलाई देख्ने जोकोही झसङ्ग नझस्कने कोही छैनन् । अचेत अवस्थामा उपचारका लागि अस्पताल पु¥याइएका उनले होस आएपछि मात्र आगोको पोलाई महसुस गरेको सुनाए । उनले भने, ‘साँझको खाना पकाउने बेला भइसकेको थियो ज्वाइ थिएन, भात पकाउन ढिलो भयो भनेर आफै पकाउन थाले । खाना आगोबाट उतारने क्रममा तातो इटाको चुलोमा कसरी परे थाहै भएन । अस्पतालमा आखा खुलेपछि थाहा पाएँ पूरै जलेको रैछु ।’

गुरुङ भरतपुर शारदानगरका भए पनि घटना भरतपुर–१५ रामपुर माध्यमिक विद्यालय नजिक भएको हो । उनी जलिरहेको स्थानीयले देखेपछि प्रहरीको सहयोगमा उद्धार गरिएको थियो । खाना आगोबाट उतार्ने क्रममा गुरुङलाई दौरा परेपछि घटना घटेको प्रहरी चौकी रामपुर चितवनका प्रहरी साहयक निरीक्षक सागर लामाले बताए । उनले भने, ‘गुरुङ र उनका ज्वाई दुबै बेसाहारा हुन् । विद्यालय नजिक बस्दै आएका रहेछन् । खाना उतार्ने क्रममा छारे रोगले आक्रमण गरेपछि एक्कासी आगोमा झोसिन पुगेछन् । स्थानीयले खबर गरेपछि हामी उद्धारको लागि गयौं । केही स्थानीय र र ज्वाईको साथमा उनलाई उपचारको लागि भरतपुर अस्पताल पु¥याउन मद्दत हाम्रो तर्फबाट ग¥यौं ।’

गुरुङ आफ्नो ज्वाइसँग बस्दै आएका थिए । दयामायाले स्थानीयले दिएको खानाबाट दुईजनाले पेट पाल्दै आएका थिए । गुरुङको जीवनको एकमात्र साहारा रहेका ज्वाइले २ दिनका दिन अस्पतालमा अलपत्र छोडेको उनलाई जानकारी भए पनि मान्न तयार छैनन् । ‘ज्वाइ दुई दिन बस्नुभयो त्यसपछि कोही भेट्न आउनु भएको छैन् । केही दिन पछि मलाई लिन आउछन् होला’, उनले आशा राखे ।

कान्छी बहिनीको निधन पछि कान्छा ज्वाईको भरमा बसेका गुरुङको बेदना यहाँ सकिदैन । भएको एउटा छोराले पनि बुढेसकालमा साथ नदिएको उनले सुनाए । उनले भन्छन्,‘छोरा सानो हुँदा श्रीमतीले छोडेर गइन । अर्को बिहे नगरी हुर्काए ठूलो भयो एक वर्ष देखि सम्पर्कमा आएको छैन । छोरा कुबेत गएको छ, बुहारी काठमाडौँ बस्छ भन्ने देखे भेटेकाले सुनाउछन् ।’ कान्छी बहिनीको निधनसँगै छोराले छोडेर गएपछि गुरुङ ज्वाइको साथमा बस्न थालेका हुन् ।

राईको पनि पीडा उस्तै

अस्पतालमा अलपत्र छोडिएका गुरुङ मात्र होइनन् रौतहटका दिनेश राई पनि उपचाररत छन् । आफैलाई छुरा प्रहार गरी आत्महत्या गर्ने प्रयास गरेका उनी अस्पतालमा श्रीमती बच्चा भेट्न आउछन् की भन्ने आशामा छन् । ‘भरतपुरमा घरभाडामा बस्छु । श्रीमती छ, छोरा छ । गतिलो जागिर नभएका कारण उनीहरुको इच्छा, चाहनादेखि अन्य आवश्यक्ताहरु पूरा गर्न सकिन । तनावले आफैलाई छुरा हानेर मर्ने प्रयास गरे तर समयमै अस्पताल ल्याई पु¥याएछन् । तर परिवार भेट्न आएका छैन । आशा छ आउँछन् नआए निको भएपछि आफै भेट्न जान्छु’, उनले सुनाए ।

सानैदेखि आमा बुबाबाट भेदभाव सहेका राईलाई श्रीमती र छोरा भेट्न नआउनु नौलो लाग्दैन । उनले भने, ‘सानै देखि म हेला भएको मान्छे । विदेश जान्छु सहयोग गर्नु भन्दा साथ छोडेका हुन् मेरा बाआमाले । त्यसको केही समयमै मेरो दुई भाईलाई विदेश पठाए । परिवारले नपत्याए पनि आफै ऋण खोजेर विदेश गए । चार वर्ष साउदी बसेर फर्किदा एक महिना अगाडि दुई छोरा छोडी श्रीमतीले अर्कोसँग बिहे गरेर गइछन् । जोडेको सम्पत्ति नि केही थिएन । ६ वर्षदेखि चितवनमा काम गर्दै गर्दा अहिलेको श्रीमतीसँग भेट भयो । दुबै जनाको बेथा र गुनासो मिल्यो उनको छोरासहित मैले स्वीकारे । एकदेखि ३ भैयो खर्च बढ्यो । आर्थिक भार उठाउँन नसकेपछि परिवारले साथ त छोड्नेनै भए ।’

आफू यो स्थितिमा आउनु सरकारी कामकाजको ढिलासुस्तीलाई समेत राई दोष दिन्छन् । उनले भने, ‘श्रीमतीको सल्लाहले फेरी विदेश जाने तयारीमा थिए । राहदानी रिन्यु गर्न गए अहिले राष्ट्रिय परिचयपत्र चाहिदो रहेछ । मेनपावरले १० दिनमा राहदानी लेऊ भन्छ । राष्ट्रिय परिचयपत्र बन्न एक वर्ष समय लाग्दो रहेछ । घरभाडा, दैनिक खर्च, ऋण, विदेश नजादासम्म यही केही गरु भन्दा खोजेजस्तो जागिर छैन । पाए पनि ५ हजार ६ हजारको जागिरले के गर्ने । त्यसमाथि परिवारको कचकचले तनाव भएर चक्कु पेटमा हाने । समयमै राष्ट्रिय परिचयपत्र बनेको भए मर्ने सोच आउदैन थियो ।’

राई आफैसँग पनि रुष्ठ हुँदै भन्छन्, ‘मैले फलामको काम गर्दै आएको थिए । यताउती गर्दा महिनामा ४० हजार जति कमाई हुन्थ्यो । साथीको लैलै र धेरै कमाउने आशले हतारमा काम छोड्दा न विदेशनै पुगे न फेरी त्यही कामनै गर्नसकेँ ।’ विदेश उड्नुपर्ने राई भरतपुर अस्पतालको शैयामा अलपत्र छन् । माघ १२ गते उनले आत्महत्याको प्रयास गरेका हुन् ।

एचआईभी संक्रमित युवकको पीडा

गोर्खाका एक एचआईभी संक्रमित युवक पनि आफ्न्तको पर्खाइमा छन् । अचेत अवस्थामा परिवारबाट छाडिएका उनी आफूलाई एचआईभी छ भन्न हिच्किचाउँदैनन् । आफ्नै गल्तीले संक्रमित भएकाले परिवारसँग कुनै गुनासो नरहेको उनी बताउँछन् । उनले भने, ‘इण्डियामा जागिर गर्दा खराब साथीहरुको संगतमा परियो । उनीहरुको पछि–पछि लाग्दा १० वर्ष पहिला त्यस्तो ठाउँमा पुगे । त्यसको १० वर्ष पछि एचआईभी देखियो । हो म एचआईभी संक्रमित हो किन लाज मान्नु ।’

बर्षौ पहिला गरेको गल्तीको आत्मगलानी भने दैनिक हुने उनी बताउँछन् । ‘पश्चाताप हुन्छ सायद मैले नगरको भए हुदैन थियो जस्तो लाग्छ’, उनले सुनाए । एचआईभी संक्रमित भएपछि उनी भाईबुहारीको साथमा बस्दै आएका थिए । उनीहरु प्रति कुनै गुनासो नरहेको उनले बताए । उनले भने, ‘परिवारका सबैलाई थाहा छ म संक्रमित हो भन्ने । सधै मलाई स्याहारेर बस्न उनीहरुले पनि सक्दैनन् ।’ उनलाई अलपत्र अस्पतालमा छोडिए पनि लुकिछिपी आफन्त भने भेट्न आउने गरेको बेबारिसे बिरामी स्याहार्दैै आएकी आशा न्यौपानेले बताइन् । उनले भनिन्, ‘केही दिन पहिला भेट्नको लागि एक जोडी महिला पुरुष आएका थिए । मैले देख्ना साथ तपाइँको बिरामी किन छोडेर गएको । स्याहार–सुसार गर्ने एक जना बस्नु पर्दैन भने । उनीहरुले हामी त गाउँले हो हेर्न मात्र आको भनेर फर्किए ।’ त्यस दिनदेखि यता उनलाई भेट्न कोही नआएको न्यौपानेले बताइन् ।

बेबारिसे बिरामीको उपचारसँगै उनीहरुको परिवारको खोज-तलासी भरतपुर अस्पतालले गर्ने गरेको सूचना अधिकारी गोपालप्रसाद पौडेलले बताए । उनले भने, ‘उनीहरु निको भएपछि सकेसम्म उनीहरुको परिवारलाई जिम्मा लगाउने काम हामीले गर्छौ । उनीहरुलाई सोधपुछ गरी उनीहरुको भनाई अनुसार आफन्त खोज्ने प्रयासमा जुट्छौं । कोही नभेटिए मानव सेवा आश्रमसँग सहजीकरण गर्छौ ।’ साथै पौडेलले अन्य बिरामी भन्दा एचआईभी संक्रमित बिरामीलाई संरक्षण गृहमा राख्न कठिन हुने गरेको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>