Breaking News

भरतपुर अस्पतालमा आफन्तको बाटो हेर्दे बिरामी, बेसाहारा गुरुङ आगोले पोलेपछि झनै पीडामा

Banner

प्रतिमा कुमाल

चितवन, फागुन २–

खाना आगोबाट उतार्ने क्रममा आगोमा परेका एक व्यक्ति अहिले भरतपुर अस्पतालमा साहाराको खोजीमा उपचाररत छन् । उनका बेसाहारा ज्वाइ दुई दिन अस्पताल बसे पनि त्यसपछि भेट्न आएका छैनन् । गुरुङ अहिले भरतपुर अस्पतालको शैयामा असहय जलनको पीडा सहँदै लडिरहेका छन् । दायाँ आँखाको डिलदेखि घाँटी, छाती, काखी पाखुरा र पिठ्युमा आगोले उनलाई गहिरो गरी पोलेको छ । आगोले गहिरो गरी जलेका उनलाई घाउको दुखाइले निदाउन दिँदैन । उनले भने, ‘सास फेर्न निक्कै कसरतनै गर्नुपर्छ । खानाको गास पनि बल्लतल्ल कष्टले निल्छु ।’

चितवन शारदानगर घर बताउने ६९ वर्षीय गुरुङलाई देख्ने जोकोही झसङ्ग नझस्कने कोही छैनन् । अचेत अवस्थामा उपचारका लागि अस्पताल पु¥याइएका उनले होस आएपछि मात्र आगोको पोलाई महसुस गरेको सुनाए । उनले भने, ‘साँझको खाना पकाउने बेला भइसकेको थियो ज्वाइ थिएन, भात पकाउन ढिलो भयो भनेर आफै पकाउन थाले । खाना आगोबाट उतारने क्रममा तातो इटाको चुलोमा कसरी परे थाहै भएन । अस्पतालमा आखा खुलेपछि थाहा पाएँ पूरै जलेको रैछु ।’

गुरुङ भरतपुर शारदानगरका भए पनि घटना भरतपुर–१५ रामपुर माध्यमिक विद्यालय नजिक भएको हो । उनी जलिरहेको स्थानीयले देखेपछि प्रहरीको सहयोगमा उद्धार गरिएको थियो । खाना आगोबाट उतार्ने क्रममा गुरुङलाई दौरा परेपछि घटना घटेको प्रहरी चौकी रामपुर चितवनका प्रहरी साहयक निरीक्षक सागर लामाले बताए । उनले भने, ‘गुरुङ र उनका ज्वाई दुबै बेसाहारा हुन् । विद्यालय नजिक बस्दै आएका रहेछन् । खाना उतार्ने क्रममा छारे रोगले आक्रमण गरेपछि एक्कासी आगोमा झोसिन पुगेछन् । स्थानीयले खबर गरेपछि हामी उद्धारको लागि गयौं । केही स्थानीय र र ज्वाईको साथमा उनलाई उपचारको लागि भरतपुर अस्पताल पु¥याउन मद्दत हाम्रो तर्फबाट ग¥यौं ।’

गुरुङ आफ्नो ज्वाइसँग बस्दै आएका थिए । दयामायाले स्थानीयले दिएको खानाबाट दुईजनाले पेट पाल्दै आएका थिए । गुरुङको जीवनको एकमात्र साहारा रहेका ज्वाइले २ दिनका दिन अस्पतालमा अलपत्र छोडेको उनलाई जानकारी भए पनि मान्न तयार छैनन् । ‘ज्वाइ दुई दिन बस्नुभयो त्यसपछि कोही भेट्न आउनु भएको छैन् । केही दिन पछि मलाई लिन आउछन् होला’, उनले आशा राखे ।

कान्छी बहिनीको निधन पछि कान्छा ज्वाईको भरमा बसेका गुरुङको बेदना यहाँ सकिदैन । भएको एउटा छोराले पनि बुढेसकालमा साथ नदिएको उनले सुनाए । उनले भन्छन्,‘छोरा सानो हुँदा श्रीमतीले छोडेर गइन । अर्को बिहे नगरी हुर्काए ठूलो भयो एक वर्ष देखि सम्पर्कमा आएको छैन । छोरा कुबेत गएको छ, बुहारी काठमाडौँ बस्छ भन्ने देखे भेटेकाले सुनाउछन् ।’ कान्छी बहिनीको निधनसँगै छोराले छोडेर गएपछि गुरुङ ज्वाइको साथमा बस्न थालेका हुन् ।

राईको पनि पीडा उस्तै

अस्पतालमा अलपत्र छोडिएका गुरुङ मात्र होइनन् रौतहटका दिनेश राई पनि उपचाररत छन् । आफैलाई छुरा प्रहार गरी आत्महत्या गर्ने प्रयास गरेका उनी अस्पतालमा श्रीमती बच्चा भेट्न आउछन् की भन्ने आशामा छन् । ‘भरतपुरमा घरभाडामा बस्छु । श्रीमती छ, छोरा छ । गतिलो जागिर नभएका कारण उनीहरुको इच्छा, चाहनादेखि अन्य आवश्यक्ताहरु पूरा गर्न सकिन । तनावले आफैलाई छुरा हानेर मर्ने प्रयास गरे तर समयमै अस्पताल ल्याई पु¥याएछन् । तर परिवार भेट्न आएका छैन । आशा छ आउँछन् नआए निको भएपछि आफै भेट्न जान्छु’, उनले सुनाए ।

सानैदेखि आमा बुबाबाट भेदभाव सहेका राईलाई श्रीमती र छोरा भेट्न नआउनु नौलो लाग्दैन । उनले भने, ‘सानै देखि म हेला भएको मान्छे । विदेश जान्छु सहयोग गर्नु भन्दा साथ छोडेका हुन् मेरा बाआमाले । त्यसको केही समयमै मेरो दुई भाईलाई विदेश पठाए । परिवारले नपत्याए पनि आफै ऋण खोजेर विदेश गए । चार वर्ष साउदी बसेर फर्किदा एक महिना अगाडि दुई छोरा छोडी श्रीमतीले अर्कोसँग बिहे गरेर गइछन् । जोडेको सम्पत्ति नि केही थिएन । ६ वर्षदेखि चितवनमा काम गर्दै गर्दा अहिलेको श्रीमतीसँग भेट भयो । दुबै जनाको बेथा र गुनासो मिल्यो उनको छोरासहित मैले स्वीकारे । एकदेखि ३ भैयो खर्च बढ्यो । आर्थिक भार उठाउँन नसकेपछि परिवारले साथ त छोड्नेनै भए ।’

आफू यो स्थितिमा आउनु सरकारी कामकाजको ढिलासुस्तीलाई समेत राई दोष दिन्छन् । उनले भने, ‘श्रीमतीको सल्लाहले फेरी विदेश जाने तयारीमा थिए । राहदानी रिन्यु गर्न गए अहिले राष्ट्रिय परिचयपत्र चाहिदो रहेछ । मेनपावरले १० दिनमा राहदानी लेऊ भन्छ । राष्ट्रिय परिचयपत्र बन्न एक वर्ष समय लाग्दो रहेछ । घरभाडा, दैनिक खर्च, ऋण, विदेश नजादासम्म यही केही गरु भन्दा खोजेजस्तो जागिर छैन । पाए पनि ५ हजार ६ हजारको जागिरले के गर्ने । त्यसमाथि परिवारको कचकचले तनाव भएर चक्कु पेटमा हाने । समयमै राष्ट्रिय परिचयपत्र बनेको भए मर्ने सोच आउदैन थियो ।’

राई आफैसँग पनि रुष्ठ हुँदै भन्छन्, ‘मैले फलामको काम गर्दै आएको थिए । यताउती गर्दा महिनामा ४० हजार जति कमाई हुन्थ्यो । साथीको लैलै र धेरै कमाउने आशले हतारमा काम छोड्दा न विदेशनै पुगे न फेरी त्यही कामनै गर्नसकेँ ।’ विदेश उड्नुपर्ने राई भरतपुर अस्पतालको शैयामा अलपत्र छन् । माघ १२ गते उनले आत्महत्याको प्रयास गरेका हुन् ।

एचआईभी संक्रमित युवकको पीडा

गोर्खाका एक एचआईभी संक्रमित युवक पनि आफ्न्तको पर्खाइमा छन् । अचेत अवस्थामा परिवारबाट छाडिएका उनी आफूलाई एचआईभी छ भन्न हिच्किचाउँदैनन् । आफ्नै गल्तीले संक्रमित भएकाले परिवारसँग कुनै गुनासो नरहेको उनी बताउँछन् । उनले भने, ‘इण्डियामा जागिर गर्दा खराब साथीहरुको संगतमा परियो । उनीहरुको पछि–पछि लाग्दा १० वर्ष पहिला त्यस्तो ठाउँमा पुगे । त्यसको १० वर्ष पछि एचआईभी देखियो । हो म एचआईभी संक्रमित हो किन लाज मान्नु ।’

बर्षौ पहिला गरेको गल्तीको आत्मगलानी भने दैनिक हुने उनी बताउँछन् । ‘पश्चाताप हुन्छ सायद मैले नगरको भए हुदैन थियो जस्तो लाग्छ’, उनले सुनाए । एचआईभी संक्रमित भएपछि उनी भाईबुहारीको साथमा बस्दै आएका थिए । उनीहरु प्रति कुनै गुनासो नरहेको उनले बताए । उनले भने, ‘परिवारका सबैलाई थाहा छ म संक्रमित हो भन्ने । सधै मलाई स्याहारेर बस्न उनीहरुले पनि सक्दैनन् ।’ उनलाई अलपत्र अस्पतालमा छोडिए पनि लुकिछिपी आफन्त भने भेट्न आउने गरेको बेबारिसे बिरामी स्याहार्दैै आएकी आशा न्यौपानेले बताइन् । उनले भनिन्, ‘केही दिन पहिला भेट्नको लागि एक जोडी महिला पुरुष आएका थिए । मैले देख्ना साथ तपाइँको बिरामी किन छोडेर गएको । स्याहार–सुसार गर्ने एक जना बस्नु पर्दैन भने । उनीहरुले हामी त गाउँले हो हेर्न मात्र आको भनेर फर्किए ।’ त्यस दिनदेखि यता उनलाई भेट्न कोही नआएको न्यौपानेले बताइन् ।

बेबारिसे बिरामीको उपचारसँगै उनीहरुको परिवारको खोज-तलासी भरतपुर अस्पतालले गर्ने गरेको सूचना अधिकारी गोपालप्रसाद पौडेलले बताए । उनले भने, ‘उनीहरु निको भएपछि सकेसम्म उनीहरुको परिवारलाई जिम्मा लगाउने काम हामीले गर्छौ । उनीहरुलाई सोधपुछ गरी उनीहरुको भनाई अनुसार आफन्त खोज्ने प्रयासमा जुट्छौं । कोही नभेटिए मानव सेवा आश्रमसँग सहजीकरण गर्छौ ।’ साथै पौडेलले अन्य बिरामी भन्दा एचआईभी संक्रमित बिरामीलाई संरक्षण गृहमा राख्न कठिन हुने गरेको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>