कालिका

चितवनको कालिका नगरपालिकाले ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिँदै

Banner

चितवन, माघ २७-

चितवन जिल्लाको कालिका नगरपालिकाले घरघरमै स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिक र रातो कार्ड पाएका अपाङ्गता भएका व्यक्तिका लागि घरघरमा गइ स्वास्थ्य परीक्षण सुरु गरेको हो ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीका अनुसार नगरभित्र रहेका पाँच सय ९८ ज्येष्ठ नागरिक तथा ५० रातो कार्ड प्राप्त नागरिक गरी छ सय ४८ जनाको प्रत्येक दुई महिनामा एक पटक स्वास्थ्य परीक्षण गरिने छ ।

मधुमेह, उच्च रक्तचाप, पिसाबमा प्रोटिनको मात्रालगायत स्वास्थ्य परीक्षण हुने भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षणका क्रममा अन्य समस्या देखिएमा उपचारका लागि समन्वय गर्नुका साथै आवश्यक औषधिहरु निःशुल्क वितरण गरिनेछ ।

नगरप्रमुख विनोद रेग्मीले ज्येष्ठ नागरिकलाई स्वास्थ्य उपचारमा सहज बनाउने उद्देश्यले घरमै गएर सेवा दिनुका साथै थप उपचार आवश्यक परेमा नगर अस्पतालसँग समन्वय गरि उपचारको व्यवस्था गरिने बताउनुभयो । उहाँले नीति तथा कार्यक्रममा नै यस सम्बन्धी व्यवस्था गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आवश्यक परेमा माथिल्लो अस्पतालमा उपचारका लागि समन्वय र सहजीकरण गर्छौं ।”

उहाँले ज्येष्ठ र रातो कार्ड प्राप्त नागरिकको स्वास्थ्य बीमासमेत निःशुल्क हुने बताउँदै स्वास्थ्य परीक्षण टोलीसँगै बीमा दर्ता सहयोगी घरमै जाने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

औषधि उपचारको अभाव कसैलाई नहोस् भनेर यो अभियान सञ्चालन गरिएको नगरप्रमुख रेग्मीले बताउनुभयो । उहाँका अनुसार नगर अस्पताललाई पनि स्तरवृद्धि गरिएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>