Breaking News

चितवनका किसानको समस्या समाधानका लागि एमालेद्वारा कृषि मन्त्रीको ध्यानाकर्षण

Banner

चितवन, माघ २३-

नेकपा एमालेले चितवनका किसानहरुको आन्दोलनबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै नीतिगत सुधार गरेर समस्या समाधान गर्न माग गरेको छ ।

एमालेले आज प्रेषित गरेको विज्ञप्तिमा अध्यक्ष केपी ओलीको अध्यक्षतामा कृषि मन्त्री ज्वालाकुमारी शाहसहित बसेको नेकपा (एमाले) कृषि तथा पशुपन्छी विभागको पाँचौ बैठकले नीतिगत सुधार गर्न ध्यानाकर्षण गराएको जनाइएको हो । विभागले सरकारले तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने कामहरुका बारेमा दृष्टिकोसहितको खाका तयार गरी पार्टीमा बुझाउनुका साथै कृषि तथा पशुपन्छी विकासमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘चितवनका तरकारी उत्पादक किसान, काठमाडौं, रामकोटलगायत देशभरका किसानहरुले गरेकोे आन्दोलनप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेकपा (एमाले)ले अवलम्बन गरेको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न कृषि क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले सोही अनुसार विभागले कार्यक्रमको निर्माण र नीतिगत सुधारका लागि सरकारको ध्यानाकर्षण गराउँछौं ।’

एमालेले मलको सहज आपूर्तिको सुनिश्चितता गर्न, किसानको पहिचान, वर्गीकरण र सूचीकरण गरी परिचयपत्रको व्यवस्था गर्न, उत्पादित कृषि उपजहरुको समर्थन मूल्य निर्धारण र बजारीकरणको सहज व्यवस्था गर्न, कृषि बालीमा खुला पशु तथा वन्यजन्तुको आक्रमणको समस्यालाई दीर्घकालीन व्यवस्थापन गर्न विज्ञप्तिमार्फत माग गरेको छ । त्यसैगरी एमालेले सञ्चालनमा रहेका कृषि उपज बजारहरुको प्रभावकारी नियमन गर्दे कृषि बजारहरुमा स्थानीय उत्पादनहरु ब्रिकी वितरणलाई प्राथमिकता दिन पनि माग गरेको छ ।

एमाले कृषि पशुपन्छी विकास विमागका प्रमुख गिरधारीलाल न्यौपानेको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘भारतलगायत छिमेकी मुलुकबाट अनियन्त्रित रुपमा भइरहेको कृषि उपजहरुको आयातले नेपाली बजार नियन्त्रण गर्दै किसानहरुलाई विस्थापित गर्ने काम भइरहेको छ । यो समस्या किसानको मात्र समस्या नभई देशको गम्भीर राजनीतिक प्रश्न भएकाले यस विषयलाई सरकारले त्यही गहिराइका रुपमा बुझी नेपाली किसान तथा उत्पादनको सार्वभौम अधिकार रक्षा गर्न तथा किसान समस्या समाधान गर्न यथाशीघ्र पहलकदमी लिई दीर्घकालीन समाधान दिनका लागि विभाग सरकारसँग माग गर्दछ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>