चितवन विशेष

अमलटारी क्षेत्र गैँडाका लागि असुरक्षित

Banner

वसन्त पराजुली
भरतपुर, माघ १८–

चितवन राष्ट्रिय निकुञ्जभित्रको गैँडाको मुख्य बासस्थान मानिएको अमलटारी र यसको आसपासका क्षेत्र गैँडाका लागि प्राकृतिक र मानवीय रूपमै असुरक्षित देखिएको छ।

पछिल्लो समय यस क्षेत्रमा धमाधम गैँडा मर्ने र मारिने क्रम बढेसँगै यो क्षेत्र गैँडाका लागि असुरक्षित देखिएको विज्ञहरूले औँल्याएका छन्। गैँडामा विद्यावारिधि गर्नुभएका नेपाल प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछानेले यो क्षेत्रमा गैँडा धेरै मरेकाले यसको यकिन पहिचानका लागि अध्ययन हुनुपर्ने बताउँछन्।

“प्राकृतिक कारणले मर्ने मात्रै हैन, अमलटारी क्षेत्रमा अहिले चोरी सिकारीले पनि गैँडा मार्न थाले,” प्रमुख डा लामिछानेले भने, “यो क्षेत्रमा प्राकृतिक र मानवीय रूपमै किन गैँडा मरिरहेका छन् भनेर हामीले पनि अध्ययन गर्नुपर्ने अवस्था आयो।”

निकुञ्जमा चालू आर्थिक वर्षको छ महिनामै ११ वटा गैँडा मरेका छन्। यसरी मरेकामध्ये चोरी सिकारीले विद्युतीय धरापमा पारेर मारेका दुईसहित आठवटा गैँडा अमलटारी र यसवरपरका क्षेत्रका भएको निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । पछिल्लो पटक गत शुक्रबार पूर्वी नवलपरासी जिल्लामा पर्ने अमलटारी क्षेत्रमा चोरी सिकारीले विद्युतीय धरापमा पारी मारेका माउ र बच्चा गैँडाको शव फेला परेको थियो।

अमलटारी क्षेत्रमा चोरी सिकारीले गैँडा मार्नुमा सुरक्षा कमजोरीलाई प्रमुख कारण औँल्याइएको छ। निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रीत यादव गैँडा मर्नु र मारिनुमा सुरक्षा कमजोरी नै प्रमुख कारण ठान्छन्।

“गैँडा मर्ने क्रम बढेकै बेला चोरी सिकारीले पनि निशाना यही क्षेत्रमा बनाएका पाइन्छ। यसले सुरक्षा चुनौती थपियो,” निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रहेका यादवले भने। गैँडा मारिनुमा उहाँको थप भनाइ थियो, “गैँडाकै सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी र निकुञ्जका कर्मचारीको सक्रियता पनि अहिले कम भयो।”

नदीले बनाएको बगर क्षेत्र लामो भएको र खुला क्षेत्रमा टाढा टाढासम्म पनि गैँडा देख्न सकिने भएकाले चोरहरूलाई पनि सहज भएको बताइन्छ। अमलटारी क्षेत्रमै पर्ने लामीचौर सामुदायिक मध्यवर्ती वन उपभोक्ता समितिका सचिव लेखनाथ दवाडी निकुञ्ज प्रशासन र सुरक्षामा खटिएका सेनाको हेलचेक्य्राइँले सिकारी गैँडा मार्न सफल भएको बताउँछन् ।

“गैँडाका लागि नियमित निगरानी र गस्ती पुगेन,” उनले भने, “सिकारीले यति लामो बिजुलीको तार तानेर धराप थाप्दा पनि निकुञ्ज प्रशासनको ध्यान नपुग्नु हेलचेक्य्राइँ हो ।” गोरखापत्रबाट

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>