खेलकुद
शैक्षिक प्रणाली सुधार गर्न दीर्घकालीन योजनासहित ठोस कदम चालिएको छ : मन्त्री पोखरेल

चितवन, ३२ असारः
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मुलुकको शैक्षिक प्रणाली सुधारका लागि सरकारले दीर्घकालीन योजनाका साथ ठोस कदम चालेको बताउनुभएको छ ।
चितवनको भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री पोखरेलले सरकारले व्यवस्थित र वैज्ञानिक तवरले शिक्षा क्षेत्रको रूपान्तरण गर्न लागेको उल्लेख गर्नुभयो ।
सामुदायिक विद्यालयको गुणस्तरबारे सोधिएको प्रश्नमा मन्त्री पोखरेलले भन्नुभयो, “हामीले समग्र रूपमा पाठ्यक्रमलाई पूर्ण रूपमा पुनःसंरचना गर्न कार्यदल गठन गरेर काम अगाडि बढाइसकेका छौँ । शिक्षक तालिमका काम अगाडि बढाइएका छन् । विद्यालयको पूर्वाधार सुधारलाई प्रणालीगत र वैज्ञानिक ढङ्गले अघि बढाउने काम भइरहेको छ ।”
शिक्षा क्षेत्रमा गरिने लगानीको परिणाम आउन समय लाग्ने बताउँदै मन्त्री पोखरेलले आज लगानी गरिसकेपछि १५–२० वर्षपछि प्रतिफल देखिने भएकाले धैर्य भएर नीतिगत काम थाल्नुपर्छ भन्नुभयो ।
मन्त्री पोखरेलले शिक्षासम्बन्धी विधेयक आगामी पुस्ता र प्रविधिलाई समेत ध्यानमा राखेर ल्याइने प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “अहिले टेक्नोलोजी, एआई कहाँ पुगिसकेको छ, त्यो सबै कुरालाई र समेट्ने यथाशीघ्र विधेयक ल्याइने छ ।”
निजी क्षेत्रलाई व्यवसाय गर्ने वातावरणका लागि सरकार सदा सकारात्मक रहेको बताउँदै उहाँले शैक्षिक परामर्शलगायत क्षेत्रमा आउनसक्ने समस्यालाई समयमै नियमन गर्न केही प्रयास गरिएको प्रष्ट पार्नुभयो ।
मन्त्री पोखरेलले विदेश अध्ययन गर्न जाने विद्यार्थी अलपत्र पर्ने समस्या अन्त्य गर्न कन्सल्टेन्सीले उचित परामर्श र मार्गदर्शन गर्न सक्नुपर्ने बताउँदै मन्त्री पोखरेलले शैक्षिक क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

























