राजनीति
भरतपुरमा भ्रष्टाचारको भाइरस फैलिएको छ: उपप्रमुख अधिकारी

भरतपुर, माघ १७–
भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले भरतपुर महानगरमा भ्रष्टाचारको भाइरस फैलिएको भन्दै एन्टिभाइरस चाहिएको बताउनुभएको छ ।
भ्रष्टाचार विरुद्ध अभियान नेपाल चितवनले भरतपुर महानगरपालिकाको समन्वय तथा सहयोगमा भ्रष्टाचार विरुद्ध सहयोगी समूहहरुबीच कार्य प्रगति समीक्षा एवम् भावी कार्यक्रम तर्जुमा गोष्ठीमा सोमबार बोल्दै उपमेयर अधिकारीले भ्रष्टाचार एक अजिवको प्राणघातक भाइरस भएको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘भ्रष्टाचार भन्ने भाइरस तपाईँ हाम्रो अघिपछि चारैतिर फैलिरहेको छ । त्यसको लागि हामी एन्टिभाइरसको रुपमा प्रस्तुत हुन जरुरी छ ।’
अधिकारीले अगाडि थप्नुभयो, ‘तपाईँ हामीबाटै भ्रष्टाचार शुरु भएको हुँदा अब तपाईँ हामीबाटै यसको अन्त्य हुन पनि जरुरी रहेको छ । सबै क्षेत्रमा निगरानी राख्न सके मात्रै भ्रष्टाचार न्यूनीकरण हुन्छ ।’ उहाँले भ्रष्टाचार भन्ने शब्दलाई बोलीमा मात्रै नभएर व्यवहारमा उतार्न सकेको खण्डमा भ्रष्टाचार न्यूनीकरण हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
सरकारी तथा गैरसरकारी निकायहरुमा भएका कामका प्रगतिका बारेमा प्रश्न मात्रै उठाउन सकियो भने पनि भ्रष्टाचार न्यूनीकरण हुनेमा कुनै शंका नरहने उपमेयरको टिप्पणी रहेको छ । आर्थिक चलखेलमा मात्रै नभइ हरेक गतिविधिमा समेत भ्रष्टाचार हुने गरेको उहाँको तर्क थियोे । कुनै एकको प्रयासबाट मात्रै भ्रष्टाचार रोक्न नसकिने वस्तुस्थिति रहेकाले राज्यका सबै अंग लक्ष्योन्मुख हुनु जरुरी छ ।
गोष्ठीमा अधिवक्ता इन्दु कोइरालाले सूचनाको हकका सम्बन्धमा प्रकाश पार्नुभएको थियो । कोइरालाले ससाना सूचनाहरुलाई लुकाउँदा र राज्यलाइ समयमै आफूसँग भएका सूचनाहरु नदिँदा समाजमा भ्रष्टाचार बढ्दै गएको तितो यथार्थता रहेको प्रष्ट पार्नुभयो । गोष्ठीमा भावी कार्यक्रम, जिल्लाबाट अपेक्षा गरिएका कार्यक्रमहरुको बारेमा पनि छलफल भएको छ ।
भरतपुर महानगरमा २९ वटै वडामा भ्रष्टाचार विरुद्ध सहयोगी समूहहरु गठन भइ तीव्ररुपमा काम भइरहेको छ । गोष्ठीमा प्रत्येक वडाबाट संयोजक तथा सदस्य गरी ५८ जना उपस्थित भएका छन् ।
गोष्ठीमा वडा न ७ का अध्यक्ष राजेन्द्रमणि काफ्ले, संस्थाका सहसचिब शर्मिला पण्डित, सहयोगी समूह भरतपुर वडा न १ का सयोजक उद्धवकुमार पिया, वडा नम्बर ३ का निवर्तमान संयोजक तारामित्र पण्डितलगायतले मन्तव्य राख्नुभएको थियो । गोष्ठीमा भरतपुर महानगरपालिकाभित्र रहेका सबै सरकारी तथा गैरसरकारी निकायहरुलाई कसरी भ्रष्टाचारमुक्त बनाउन सकिन्छ भनेर बृहत् छलफल भएको छ ।



























